छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

डिसी नेपाल
१ असार २०७९ १२:४५

काठमाडौं। काठमाडौं, चितवन, सर्लाही, धादिङ र मोरङमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

काठमाडौंको टोखा नगरपालिका–६ धापासी डाँफे कोलोनी नजिक प्रदेश १–०२१ च २९५६ नम्बरको कार र प्रदेश २–०३५ प ०५२० नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार सोही नगरपालिका–६ धापासी बस्ने ५ वर्षीय प्रियन्स उप्रेती रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनको कालिका नगरपालिका–५ सिमाचोकस्थित सडकमा ना.३९ प २९७१ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका–९ बस्ने ५० वर्षीय बल बहादुर तामाङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

सर्लाहीको मलगंवा नगरपालिका–६ लखनदेई खोलास्थित सडकमा ज.१ त ३८२४ नम्बरको ट्रयाक्टर मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टर चालक चन्द्रनगर गाउँपालिका–५ मोहनपुर बस्ने ३२ वर्षीय रविन्द्र साह सोनार रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

धादिङको निलकण्ठ नगरपालिका–३ इजारास्थित भित्री सडकमा धादिङबेसीबाट जुरेथुमतर्फ जाँदै गरेको बा.१८ च २८२० नम्बरको बोलेरो मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीमा सवार निलकण्ठ नगरपालिका–२ जुरेथुम बस्ने ३२ वर्षीय प्रेम गुरुङ रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको बेलवारी नगरपालिका–४ बेतनामा ना.६ ख ५५४४ नम्बरको ट्रकले को.२० प ७६ ४५ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटर चालक बेलवारी नगरपालिका–५ बस्ने २६ वर्षीय बिक्रम राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *