निर्मला पन्तको हत्या प्रकरणमा हालसम्म १०७ जनाको डिएनए परीक्षण

डिसी नेपाल
१ असार २०७९ २२:२४

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान जारी रहेको र धेरै मानिस अनुसन्धानको दायरामा रहेको जानकारी दिएका छन् ।

सांसदहरूले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्नसमेत गरेका थिए ।

खाणले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान जारी रहेको र धेरै मानिस अनुसन्धानको दायरामा रहेको जानकारी र्दिए।

उनले उक्त घटनाका सम्बन्धमा ६३१ जनासँग सोधपुछ भइसेको र कूल १०७ जनाको डिएनए परीक्षण गरिसकिएको बताए । त्यति गर्दासमेत दोषी पहिचान नभएको गृहमन्त्री खाणले बताए । यस्ता घटनामा डिएनए परीक्षण नै उपयुक्त हुने भए पनि १०७ जनाको परीक्षणमा समेत पत्ता नलागेको तर अनुसन्धान भने जारी रहेको उनले जानकारी दिए ।

निहारिकाको मागप्रति सरकार गम्भीर

गृहमन्त्री बालकृष्ण खाणले निहारिका राजपुतले २७ गतेदेखि बच्चासहित सत्याग्रहमा बसिरहेको जानकारी दिँदै उनको मागका बारेमा गृहमन्त्रालय गम्भीर रहेको बताए।

बलात्कारबाट जन्मिएको बच्चाको डिएनए परीक्षण गर्नुपर्ने, बच्चाको लालनपालनको उचित व्यवस्था गर्नुपर्ने, अदालतमा रहेको मुद्दाको छिटो पेशी तोक्नुपर्ने र आरोपीविरुद्ध सुरुआतबाटै अनुसन्धान गर्नुपर्नेलगायत माग रहेको पनि उनले जानकारी दिए ।

काठमाडौँका प्रहरी प्रमुख सुदीप गिरीलगायत अधिकारी पुगेर घटनाबारे बुझेको र आजमात्रै गृह मन्त्रालयको टोलीलाई पठाएर संवाद अघि बढाएको जानकारी दिँदै उनले राजपुतको मागका विषयमा सरकार गम्भीर रहेको बताए ।

सांसद पुष्पा भुसाल गौतमले सदनमा पूरक प्रश्नमार्फत निहारिकाको विषयमा गम्भीर हुन र उनको माग तत्काल सम्बोधन गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । यस्तै सांसद पार्वता डिसी चौधरी र पार्वतीकुमारी विशुन्केलेसमेत निहारिकाको न्यायका लागि पहल गर्न गृहमन्त्रीसँग आग्रह गरिन् ।

प्रतिनिधिसभामा सांसदहरू खगराज अधिकारी, डा सुर्यप्रसाद पाठक, योगेशकुमार भट्टराई, गिरिराजमणि पोखरेल, प्रेम सुवाल, लक्ष्मी परियार, गोकुलप्रसाद बाँस्कोटा, डिला सङ्ग्रौला पन्त, यशोदा गुरुङ सुवेदी, राजेन्द्रकुमार राई, पूर्णकुमारी सुवेदी, मीना सुब्बा, महेश बस्नेत र गजेन्द्रबहादुर महतले गृहमन्त्रीसमक्ष पुरक प्रश्न राखेका थिए ।

विपद् प्रतिकार्यमा सरकार पूर्ण तयारी

मनसुनजन्य प्रकोप व्यवस्थापनमा आवश्यक प्रबन्ध गरिएको गृहमन्त्री खाणले सदनलाई जानकारी दिएका छन् । उनले बेमौसमी वर्षबाट क्षति पुगेका किसानलाई राहत दिन छ अर्ब बढी माग गरिएकामा रु एक अर्ब मात्रै उपलब्ध भएकाले उपलब्ध रकम प्रदेशगतरुपमा रकम निकासा गरिएको जानकारी दिए ।

उनका अनुसार मनसुन पूर्वतयारी र प्रतिकार्य तथा सम्भावित प्रभावितलाई तत्काल राहत उपलब्ध गराउनका लागि तयारी अवस्थामा राखिएको छ । प्रतिकार्यका लागि जिल्लाका विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको गृहमन्त्री खाणले जानकारी गराए ।

आपत्कालीन बन्दोबस्तीका सामग्री माग भएअनुसार जिल्लामा पुर्‍याउने व्यवस्था मिलाइएको तथा खोजतलास, उद्धार, आधारभूत सामग्री व्यवस्थापन तथा उद्धार हेलिकप्टरसमेत तोकिएका ठाउँमा राखिएको उनले जानकारी दिए ।

चिकित्सकलाई समेत विपद् प्रभावितको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । तालिम प्राप्त जनशक्तिलाई उपत्यकाका दुई स्थान र सातवटै प्रदेशमा तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । सडक विभागबाट सकडको आपत्कालीन अवस्थाका लागि २१८ वटा उपकरण सडक तयारी अवस्थामा राखिएको छ । सरकारले प्रभावकारी प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *