कोरोना प्रभावः ब्यापारमा ४० प्रतिशत ह्रास, ब्यापारीहरु पलायन

डिसी नेपाल
४ असार २०७९ ७:१९

पाँचथर। फिदिम–१ मा सदीक्षा गेष्टहाउस सञ्चालन गरेर बसेकी रीता लुइँटेल होटल व्यवसायबाट पलायन भएकी छन्।

कोरोनाको कहरबीच उनको होटल बन्द नै भयो। १८ महिनासम्म होटल बन्द गरेर बसेकी लुइँटेलले घरभाडावापत मासिक १८ हजार दरले २ लाख २४ हजार रुपैयाँ तिरेर उनी पुख्र्यौली घर पौवासार्तापको सुर्केनागी गइन् । अहिले उनी उतै किसानी जीवन बिताउन थालेकी छन्।

लुइँटेल प्रतिनिधि पात्रमात्र हुन्। जिल्लाको सदरमुकाम फिदिममा दुई दर्जनबढी व्यवसायी पलायन भए। कोरोनाको समयमा भएको बन्दाबन्दी र त्रासबीच ज्यान बचाउन मानिसहरु बजार नै आउन छोडे। जसले व्यापार व्यवसाय बन्द नै भयो। बिस्तापित भएका व्यपारीहरु फर्केर पुनः व्यवसाय गर्ने अवस्था पनि कोरोनाको त्रास यथावत रहेकोले सम्भव देखिन्न।

फिदिम बजारमै सञ्जीवनी इन्टरप्राइजेज सञ्चालन गरेर बसकी चन्दा ओझा थापा उनको पसल पुग्दा टेलिभिजनमा महामृत्युञ्जय मन्त्र सुनेर बसेकी थिइन् । उनले भनिन्, ‘ब्यापार छैन, यस्तै हेरेर र सामाजिक सञ्जाल चलाएर दिन बिताउने गरेकी छु ।’

उनको थोक पसलमा कोरोनाको समयअघि दैनिक लाखौं रुपैयाँ बिक्री हुने गरेकोमा अहिले त्यो घटेर हजारमा झरेको छ । थापाले भनिन्, ‘मानिससँग पैसा नै नभएर आवश्यकता पनि पूरा नगरी बस्ने वाध्यता देखिन थालेको छ, यो क्रम अब युक्रेन र रुस यध्दका कारण पनि केही लम्बिने देखिन्छ ।’

उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष नवराज घिमिरेर समग्रमा कोरोना कहरपछि जिल्लाको व्यापार ३५ देखि ४० प्रतिशत घटेको बताउँछन् । उनका अनुसार कोरोनापछि व्यापार व्यवसाय तङग्रने अवस्थामा छ तर आर्थिक गतिविधि भने तङग्रन सकेको छैन ।

‘आर्थिक मन्दी, बैंकहरुको बढ्दो ब्याज दर, बैकहरुले ऋण लगानी गर्न नसक्नु, रेमिटेन्स घट्नुजस्ता कारण आर्थिक गतिबिधि बढ्न सकेको छैन ।’ अध्यक्ष घिमिरेले डिसी नेपालसित भने, ‘सामान उत्पादक कम्पनीहरुले उधारोमा सामान दिन नसक्ने, व्यवसायीले नगदअभावमा सामान खरिद गर्न नसक्ने र उपभोक्तासित नगद नहुँदा व्यापार नाममात्रको व्यापारमा सीमित बन्दै गएको छ ।’

यतिसम्मकी मानिसहरु सामान्य रोग लाग्दा पनि अस्पताल आउन छोडेका छन् । अस्पताल आउन पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढेको गाडी भाडा तिर्न, औषधि खरिद गर्न पैसाको अभावकै कारण सामान्य रोगी रोग पालेर घरमै बस्न थालेका छन्।

फिदिम बजारमै नवदुर्गा मेडिकल सञ्चालन गरेर बसेकी देवि ढुंगाना बाँस्कोटाले भनिन्, ‘कोरोनाअघि दैनिक ३०- ३५ हजार रुपैयाँको औषधि बिक्री हुने गरेको थियो, अहिले त दिनमा ५ हजार रुपैयाँको पनि बिक्दैन।’

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुबराज थापा राज्यबाट व्यापार र व्यवसायीहित नीति नभएर व्यापारीहरु सधैं मारमा परिरहेको बताउँछन् । सामान आयात गर्न बिचौलीया र तस्करको भर पर्नु पर्ने, दोहोरो कर तिर्नु पर्नेजस्ता समस्या समाधान नभएसम्म व्यापार दुःखले चल्ने देखिन्छ।

युक्रेन र रुस युद्धका कारण देखाएर पनि सामानहरुको मूल्य अचाक्ली बढ्दो छ । यसले उपभोक्ताहरु आवश्यकता पूरा गर्न नसकेर सामान खरिद गर्न नसकेर प्रयोग नगरी बस्न थालेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *