भोर्लेटारको लालीगुराँस सहकारीबाट पाँच लाख ९३ हजार चोरी

डिसी नेपाल
४ असार २०७९ १९:००

लमजुङ । मध्यनेपाल नगरपालिका वडा ६ भोर्लेटारमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट ५ लाख ९३ हजार रुपैयाँ र चेक चोरी भएको छ ।

इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार सहकारी संस्थाको ५ लाख ९३ हजार नगद र ४ लाख ५३ हजार बराबरको चेक पनि चोरी भएको हो ।

रातको मौका छोपी अज्ञात व्यक्तिको समूहले चोरी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार सहकारीसँगै एक फेन्सी पसल र एक किराना पसलमा पनि चोरी भएको छ । प्रदीप खड्काले सञ्चालन गरेको सुप्रिया फेन्सीबाट ७० हजार र सिताराम रानाभाटले सञ्चालन गरेको किराना पसलबाट ११ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।

असार १ गते बुधबार राति अन्दाजी १२ बजेको समयमा अज्ञात व्यक्तिबाट कार्यालयको ताला फोडी नगद र चेक चोरी भएको प्रहरीले जनाएको छ । चोरीको घटनालाई लिएर प्रहरीमा आएको निवेदनको आधारमा अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ । अन्य केही व्यक्तिको घरमा समेत चोरी भएको भन्ने सुन्नमा आए पनि जिल्ला बाहिर रहेकाले निवेदन भने प्राप्त नभएको प्रहरीले जनाएको छ ।

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमलाल श्रेष्ठले घटनाको यथाशीघ्र छानबिन एवं अनुसन्धान गरी दोषीको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न प्रहरी प्रशासन लगायत सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *