दुबईका राजकुमारको पूर्वी भ्रमणले उब्जाएका पाँच कुरा

विजयप्रसाद मिश्र
४ असार २०७९ २२:३०

बिर्तामोड । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको नेपाल भ्रमणमा पूर्वलाई प्रथमिकता दिनुलाई महत्वपूर्ण रुपमा हेरिएको छ । यो पटक उनको पूर्वी भ्रमण पाँच कुराले गर्दा लामो समयसम्म चर्चामा रहनेछ । हुन त उनी पोखरा भ्रमण पनि जानेछन् । तर पोखराको भ्रमण पर्यटकीय दृष्टिकोणभित्र सिमित रहे पनि पूर्वी भ्रमणले मिडिया र सोसल मिडियामा खुबै चर्चा चलेको छ ।

सर्वप्रथम त बिर्तामोडका बी.एन.सी. अस्पतालका सञ्चालक दुर्गा प्रसाईको व्यक्तिगत निमन्त्रणामा दुबईका राजकुमार काठमाडौंमा अवतरण गरेर एयरपोर्टबाट सिधै भद्रपुर बिमानस्थल उत्रिनुले धेरै राजनीतिक व्यक्तित्वहरुको चिन्ता बढाएको छ ।

दुर्गा प्रसाईसंग अंकमाल गरेको र सुनको लौरो र अन्य बहुमुल्य उपहारहरु दिएको देख्दा लाग्छ दुर्गा प्रसाईसंगको मित्रताको यात्रा राजकुमारले लामो समयसम्म अघी बढाउँदैछन् । प्रसाई एक व्यापारिक र समाजिक सेवामा तल्लिन व्यक्ति हुँदै राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् ।

उनले बिर्तामोडमा संचालन गरेको अस्पतालमा एम.बी.बी.एस. संचालन गर्न सरकारले स्वीकृति नदिंदा अरौबौं खर्च गरेर तयार गरेका भौतिक पूर्वाधार र अन्य सामग्रीहरु खेर गईरहेको स्थलगत भ्रमणबाट देखिएको छ ।

दोस्रोमा, प्रसाईले शनिवार पत्रकारहरुसंग गरेको कुराकानीलाई आधार मान्ने हो भने दुबईका राजकुमारसंग साझेदारीमा पाँच सय विद्यार्थीलाई एम.बी.बी.एस. पढाउने गरी दुबईमै मेडिकल कलेज खोल्दैछन् ।

जसको स्वीकृति राजकुमारले चार घण्टा भित्र दिलाई दिएको प्रसाईको भनाई सुन्दा नेपाली प्रशासनको कमिशनको प्रक्रिया, राजनीतिक लवीको प्रक्रियाले वाक्क दिक्क भएकाहरुको लागि यो एउटा सबक हुन जान्छ ।

अझ प्रसाईले ती पाँचसय विद्यार्थीलाई इन्टर्नसीपको लागि बिर्तामोडको अस्पतालमा ल्याइने बताएर नयाँ सूचना दिनु भएको छ । दुबईको मेडिकल कलेजमै नेपाली छात्राहरुलाई नर्श पढ्ने व्यवस्था मिलाउने र सय प्रतिशत जागिरको प्लेसमेन्ट दिने योजना सुनाई राख्दा नेपालमा लाखौं खर्च गरेर नर्श भएकाहरुले अहिले जागिरका लागि भौतारिरहनु भएको अवस्था र पाएको जागिरको पनि तलबको अवस्था हेर्दा नर्शहरु पनि वैदेशिक रोजगारीमा जानकै लागि प्रसाईले दुबईमा खोल्ने कलेजमै पढ्न ताँती लाग्ने देखिन्छ ।

तेस्रो सन्दर्भ झापा जिल्लामा मुश्लिम विश्वविद्यालय खोल्ने कुरा छ । आइतबार दुबईका राजकुमारले नेपालमा मुश्लिम विश्वविद्यालय संचालनका लागि बनाइने पूर्वाधारको सिलन्यास गराउने कार्यक्रम समेत तय भएको छ ।

जुन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली समेत आउने पक्का भइसकेकोले मधेसमा जसरी एमालेले स्थानीय निर्वाचनमा ह्वात्तै मत बढाएको थियो । अब मुश्लिम विश्व विद्यालय एमालेकै पहलमा आएको सन्देश जानेछ ।

यसले मधेसमा एमालेको पकड थप बढ्ने र स्वयं दुर्गा प्रसाईलाई सांसदको निर्वाचन जीत्न यस परिघटनाले सहयोग गर्ने देखिन्छ । यसको सकारात्मक प्रभाव केपी ओलीका लागि मात्र होइन मधेसका प्रत्येक निर्वाचन क्षेत्रमा मुश्लिमहरु मार्फत सिंगो एमालेमा पर्नेवाला छ ।

चौथोमा नेपालमा तयार गरिने खानेपानी दुबई निर्यात गर्ने एमओयूमा आइतबार नै दुबै पक्षबीच हस्ताक्षर हुँदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एकताका नेपालको पानी र जवानी धेरै महत्वपूर्ण छ, यसलाई खेर नफाल भनेका थिए । दुर्गा प्रसाईको प्रयासले खानेपानी सिधै दुबई जानसक्ने भएको छ ।

यसले नेपाललाई फाइदा त हुन्छ नै धेरैले रोजगारी पाउने र थप पानीका बजारहरु फेला पार्न सकिने देखिन्छ । नेपालको खानेपानी उत्कृष्ट छ । यसको व्यापारलाई थप बढाउनु पर्दछ । जसको लागि दुर्गा प्रसाईको प्रयास स्रहानीय छ ।

पाँचौ, दुर्गा प्रसाई माथी लाग्ने गरेको मेडिकल माफियाको ट्याग हटाउन दुबईका राजकुमारसंगको मित्रताले ठूलो सहयोग पुग्ने छ । मिडियामा उछालिएका कुरा र प्रसाईसंग व्यक्तिगत रुपमा भेट्दा भएका कुराकानीमा आकाशजमिनको फरक छ । अझ बिर्तामोडमा उनले बनाएको अस्पतालको भौतिक पूर्वाधार, सरसफाई र अनुशासनको समीक्षा गर्ने हो भने उनलाई एमवीवीएस पढाउन सरकारले सम्बन्धन नदिएर अन्याय नै गरेको हो की भन्ने देखिन्छ ।

अझ राजकुमारले बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण आइतवार शुभारम्भ गरेपछि विदेशमा चार लाख रुपैयाँ खर्च गरेर गरिने सिटीस्क्यान नेपालमा एकलाख भन्दा कम खर्चमा हुने भनिदैछ । यसले प्रसाई कमाऊ धन्दामा लागेको भन्दा सेवाको भावना बढी भएको देखिन्छ । सेबाकै भावना देखिएकाले नै दुबईका राजकुमारले यसको शुभारम्भ गर्न सहमत भएका हुनभन्दा फरक पर्दैन ।

नत सांसद, नत मन्त्री नत कुनै सरकारी पद्, तर पनि दुबईका राजकुमारलाई व्यक्तिगत निमन्त्रणामा मोफसलमा ल्याउनु, आफ्नो कर्मभूमीमा ल्याउनुले व्यक्तिगत रुपमा जति दुर्गा प्रसाई खुसी देखिन्छन् । त्योभन्दा खुसी राजकुमारको स्वागतका लागि भद्रपुर एयरपोर्ट पुगेका झापा बासीहरु देखिएका थिए । अझ शनिवारको राजकुमार र प्रसाईबीचको सामिप्यताले देशैभरी र प्रदेशमा समेत खुबै चर्चा पाएको छ ।

दुर्गा प्रसाईको यस्तो हिम्मतिलो प्रयासलाई सबैले सकारात्मक रुपमा लिनु पर्दछ । नेपालका राजनीतिक नेताहरुले शनिवारको झापाको परिदृष्यबाट धेरै कुरा सिक्न सक्ने देखिन्छ । र, सिक्नु पनि पर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *