आतंकवादी गतिविधि हुने गरेको भन्दै नेपालका मदरसामा भारतको निगरानी !

डिसी नेपाल
६ असार २०७९ ७:४४

काठमाडौं। नेपालमा रहेका मदरसामा आतंकवादी गतिविधि सञ्चालन हुने गरेको आरोप लगाउँदै भारतले निगरानी बढाएको जनाएको छ। नेपाल-भारत सहसचिवस्तरीय सीमा व्यवस्थापनसम्बन्धी ‘ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लूजी) बैठकमा भारतले तराई क्षेत्रमा रहेका मदरसामा भइरहेका आतंकवादी गतिविधिका कारण भारतमा सुरक्षा चुनौती बढेको आरोप लगाउँदै निगरानी गरेको जनाएको हो।

नयाँ दिल्लीमा गत बुधबार र बिहीबार भएको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १२ औँ बैठकमा भारतीय पक्षले नेपालका मदरसाबाट धार्मिक आवरणमा भारतविरोधी गतिविधि भइरहेको बताएको हो। सीमा जोडिएका नेपाली भू-भागमा सन् २०१८ देखि २०२१ को बीचमा मदरसाको संख्या ६४५ पुगेको बताएका छन् र ती सबैमा पाकिस्तानी खुफिया संस्थाको लगानी रहेको भारतीयहरुको दावी छ।

नेपालको तर्फबाट भने त्यस विषयलाई खण्डन गरेपनि भारतीयहरुले विश्वास गरेका छैनन्। नेपाली पक्षले सीमा वैठकमा भारतसँग धेरै वटा विषयहरु उठान गरेको भएपनि भारतीय पक्षले सीमा क्षेत्रमा खुलेका मदरसालाई नेपाल सरकारले अनुगमन नगरेको आरोप लगाएको थियो। नेपाली पक्षको नेतृत्व गरेर नयाँ दिल्ली गएका एक सहभागीका अनुसार भारतीय पक्षले लगाएको आरोपको पूर्णत खण्डन गरेको थियो।

भारतले नेपालको तराईमा रहेका मदरसालाई आतंकवादी संगठनले दुरुपयोग गरिरहेको जनाएको थियो। ‘भारतले मदरसामा पाकिस्तानी खुफिया संस्था आइएसआई तथा साउदी अरबले लगानी गरिरहेको र ती मदरसामार्फत् भारतबिरोधी गतिबिधी गरिरहेको आरोप लगायो,’ एक अधिकारीले भने।

बैठकमा नेपाली पक्षको नेतृत्व गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोख्रेलले गरेका थिए भने भारतीय पक्षका तर्फबाट गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशिष कुमारले नेतृत्व गरेका थिए।

नेपालबाट १२ औं बैठकमा नेपाली टोलीका रुपमा गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख पोखरेलसहित परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट तीन जना सहसचिव, अध्यागमन विभागका महानिर्देशक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, गृह मन्त्रालयका स्थानीय प्रशासन र सीमा तथा अध्यागमन शाखाका दुई उपसचिव सहभागी भएका थिए।

मन्त्रालयका प्रवक्ता एवं नेपाली प्रतिनिधिमण्डलको संयोजक रहेका पोखरेलले भारतीय पक्षसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए। ‘वैठक राम्रोसँग सकिएको छ, दुवै पक्षको हित, सहयोग र सदभावबारे छलफल भयो, दुवै देशमा हुने अपराध नियन्त्रण लगायतका विषयमा छलफल भए’, सहसचिव पोखरेलले डिसी नेपालसँग भने।

तर एक सहभागीका अनुसार नेपाली पक्षले राखेको सीमा क्षेत्रमा तटबन्धबाट हुने डुवान, नेपाली भूमिको कटान, अपराध नियन्त्रण, सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण, सुन, हतियार तस्करीको विषयमा कुरा उठाए पनि भारतीय पक्षले कुरा सुनेको तर कुनै निर्णय नभई बैठक सकिएको थियो।

नेपाल-भारत सीमा क्षेत्रका स्तम्भ, सीमा सुरक्षाको अवस्था, सीमापार अपराध रोकथाम तथा नियन्त्रण, तेस्रो देशका नागरिक एकअर्का देशमा घुसपैठ गरेर हुनसक्ने आवतजावत, आतंकवाद अपराध रोकथाम तथा नियन्त्रणका लागि सूचना आदानप्रदानलगायत विषय बैठकका एजेन्डा थिए।

दुई देशबीच सीमा मामिला र त्यसबाट निम्तिएका समस्याहरुको बारेमा नेपालाले राखेको प्रस्तावमा भातीय पक्षले सुनुवाई गरेको छैन। ‘अवैध मानव तस्करी, लागुऔषध कारोबार र हतियार ओसारपसार नियन्त्रणका लागि स्थानीय स्तरमा रहेका दुवै देशका सुरक्षा संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्ने सहमति भएको छ’, सहसचिव पोखरेलले भने।

बैठकमा एक सहभागीका अनुसार भारतले नेपालको तराईमा रहेका मदरसालाई आतंकवादी संगठनले दुरुपयोग गरिरहेको जनाएको थियो। ‘भारतले मदरसामा पाकिस्तानी खुफिया संस्था आइएसआई तथा साउदी अरबले लगानी गरिरहेको र ती मदरसामार्फत् भारतबिरोधी गतिबिधी गरिरहेको आरोप लगायो,’ वैठकमा सहभागी एक नेपाली अधिकारीले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *