धवलागिरि अस्पतालः बिरामी बढे, चिकित्सक घटे

डिसी नेपाल
८ असार २०७९ १०:०१

गलकोट। बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ। अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ।

चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा बिरामी लामो लाइन बस्नुपर्ने अवस्था छ। पछिल्लो सयम धवलागिरि अस्पतालमा सुधार भएको छ। अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाइमा ध्यान दिइएको छ।तर,  चिकित्सकको समस्या भने उस्तै छ।

दरबन्दीका चिकित्सक नआउँदा करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पताल चलेको छ। चिकित्सक अभावमा बिरामीले गुणस्तरीय सेवा पाउन सकेका छैनन्। अस्पतालमा दैनिक ३०० देखि ४०० बिरामी सेवा लिन आउने गरेका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए। मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढेको उनले बताए।

छाला सम्बन्धी, ज्वरो, झाडापखलालगायतका बिरामी बढेका छन्। “गर्मी बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको छ”, डा पोखरेलले भने, “अस्पतालबाट एकैपटक पाँच मेडिकल अधिकृतले छाडेर जानुभयो, सेवा दिन समस्या भइरहेको छ।” एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र ६ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट बाहेक अन्य दरबन्दी रिक्त छ। करार र छात्रवृत्तिका चिकित्सकले सेवा दिइरहेका छन्।

पाँच करारका मेडिकल अधिकृत, १० करार र छात्रवृत्तिका विशेषज्ञ चिकित्सक कार्यरत छन्। उनीहरुको सेवाअवधि सकिन लागेको अस्पतालले जनाएको छ। छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकले दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियमानुसार आउने गर्छन्  चिकित्सकको माग गर्दै प्रदेश र सङ्घीय मन्त्रालय धाइरहेको पोखरेलले बताए। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *