भीभीआइपी फ्लाइटमा कसरी अचानक तेल सकिन्छ ? प्रधानमन्त्री देउवाको शंकास्पद भ्रमण

डिसी नेपाल
९ असार २०७९ ६:२८

काठमाडौं। नेपालमा राजनीतिसँगै विदेशी खुफिया संस्थाहरुको चलखेल पनि अचाक्ली बढिरहेको बेला प्रधानमन्त्री शेरवहादुर देउवाको जहाज आकस्मिक अवतरण गरेर भैरहवा पुग्यो।

केही दिनअघिमात्रको यो विषयलाई त्यति गम्भीरतापूर्वक लिइएन पनि। किनकि, नेपालमा उडानका बेला कहिले काहीँ मौसम खरावीले समस्या ल्याउने हुँदा आकस्मिक अवतरण सामान्य ठानिएको पनि हुनसक्छ। तर, आकस्मिक अवतरणलाई दिइएको कारण भने अपत्यारिलो मात्र होइन अस्वाभाविक पनि छ।

काठमाडौंबाट उडेको नेपाली सेनाको भीभीआईपी उडानमा प्रयोग हुने हेलिकोप्टरमा उडेको ४५ मिनेट नपुग्दै इन्धन सकिएकाले इन्धन भर्न त्यहाँ आकस्मिक अवतरण गरिएको हो भन्ने कारण दिइएको छ।

नेपाली सेनाका प्रबक्ता सहायक रथी नारायण सिलवालले डिसी नेपालसँग कुरा गर्दै रिफ्युल गर्ने सामान्य नियमअनुसार नै त्यहाँ अवतरण गरिएको जानकारी दिएका छन्। तर, यसले अनेकौं प्रश्नहरु जन्माएको छ जसको उत्तर रिफ्युल गर्ने सामान्य चलन भन्ने कुराले मात्र दिन सक्दैन।

के सेनाको भीभीआईपी उडानजस्तो गम्भीर प्रकृतिको कार्य हचुवाका भरमा हुन्छ? काठमाडौंबाट धनगढी उड्नुपर्ने जहाजमा त्यहाँसम्म पनि पुग्ने फ्युल राखिएको हुँदैन? हो धनगढीबाट फर्कँदा फ्युल पुगेन त्यसैले भैरहवा अवतरण गरियो भनेको भए पनि एउटा कुरा हुन सक्थ्यो तर यो त काठमाडौंबाट गन्तव्यसम्म नपुग्दैको कुरा भयो।

प्रधानमन्त्री शेरबहादुर देउवा गत शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट सेनाको हेलिकोप्टरबाट धनगढी प्रस्थान गरे। करिव एक घण्टा उडान हुने धनगढी नपुग्दै भीभीआईपी चढेको सेनाको हेलिकोप्टर इन्धन सकिएको भन्दै भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गराइयो।

भीभीआइपी सवार हेलिकप्टरमा यसरी अचानक इन्धन सकिनु सामान्य कुरा होइन। काठमाडौंबाट धनगढी पुग्न बढीमा १ घण्टा मात्र समय लाग्छ र सेनाले भीभीआइपीलाई बोकेर उड्ने जहाजमा १ घण्टालाई पुग्ने पनि इन्धन भरेको थिएन भन्ने कुरा पत्याउन सकिने कुरै होइन किनकि सेना देशको प्रमुख सुरक्षा निकाय हो।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र आसपासको भैरहवा क्षेत्र हाम्रा दुई ठूला छिमेकी देशहरु चीन र भारतका लागि निकै प्रतिष्पर्धाको क्षेत्रका रुपमा विगत केही समयदेखि चर्चामा रहेकै अवस्थामा एकातिर हिँडेका प्रधानमन्त्रीको हेलिकोप्टर आकस्मिक अवतरण गर्न भैरहवा पुर्‍याइएको घटनाले आशंकाहरु जन्माएको छ।

आफ्नो पेसागत दक्षताको लागि विश्वमै उच्च मूल्यांकन गरिएको र संयुक्त राष्ट्रसंघले समेत अत्यन्तै विश्वास गरेको नेपाली सेनाबाट आफ्नो नियमित काममा यति ठूलो कमजोरी हुन मिल्छ? सामान्य रुपमा हेर्दा इन्धन सकिएको भनिए पनि वास्तवमा इन्धन सकिएको नभइ अरु नै कारण भएको तर इन्धन सकिएको बहाना मात्र बनाइएको पनि केहीले दावी गरेका छन्।

भीभीआइपीको यात्राको छुट्टै प्रोटोकल हुन्छ। सार्वजनिक विमानमै पनि भीभीआइपीले यात्रा गर्दा उनको बस्ने सिटदेखि विमानमा चढ्ने र ओर्लिने समय र नियम समेत पूर्वनिर्धारित हुन्छ। यस्तो विमान वा हेलिकप्टरमा वाहनको अवस्था, उसको इन्जिन ठिक भए नभएको, मौसम, इन्धन लगायतका कुराहरुको जाँच गर्नु आधारभूत नियम नै हो। सामान्य उडानमै यी कुराहरु चेकजाँच गरिन्छ भने भीभीआइपीको उडानमा ती कुराहरु जाँच नहुने कुरै हुँदैन।

सामान्य यात्रुवाहक हेलिकप्टर वा विमानमै पनि नियमित जाँच हुने यस्ता कुराहरु नेपाली सेनाले गर्ने उडान र देशको प्रधानमन्त्रीले यात्रा गर्ने हेलिकप्टरमा किन जाँँच भएन? यो निकै गम्भीर प्रश्न हो। यदि विमानको जाँच पहिले नै गरिएको थियो र सबै कुरा दुरुस्त भएपछि मात्रै उडान भरिएको थियो भने अचानक प्रधानमन्त्री चढेको सेनाको हेलिकोप्टर फ्यूल सकिएको बहानामा किन अचानक भैरहवा विमानस्थलमा अवतरण गरियो? प्रधानमन्त्री देउवाको यो उडानबारे ठूलो प्रश्न उठेको छ।

भैरहवा बिमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्रीले त्यहाँ करिव आधा घण्टा राजनीतिक भेटघाट गरेका थिए। तर सेनाको हेलिकोप्टरमा साँच्चै तेल सकिएको थियो वा कुनै वहानामा हेलिकोप्टर त्यहाँ अवतरण गराइएको थियो? यो भने अन्योलको विषय बनेको छ ।

कसका लागि वा कोसँग भेटका लागि नेपाली सेनाको व्यवसायिकता र योग्यतामाथि प्रश्न उठ्ने गरी यसरी भीभीआईपी उडानलाई आकस्मिक अवतरण गरिएको थियो? यो प्रश्नको जवाफ स्वयं प्रधानमन्त्रीले दिनु जरुरी छ। भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र आसपासको भैरहवा क्षेत्र हाम्रा दुई ठूला छिमेकी देशहरु चीन र भारतका लागि निकै प्रतिष्पर्धाको क्षेत्रका रुपमा विगत केही समयदेखि चर्चामा रहेकै अवस्थामा एकातिर हिँडेका प्रधानमन्त्रीको हेलिकोप्टर आकस्मिक अवतरण गर्न भैरहवा पुर्‍याइएको घटनाले आशंकाहरु जन्माएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले प्रधानमन्त्री चढेको हेलिकोप्टर अकस्मात अवतरण नभइ रिफ्यूलका लागि मात्रै भैरहवामा अवतरण गरिएको जानकारी दिए। ‘सेड्यूल अनुसार नै रिफ्यूलका लागि हेलिकाप्टर अवतरण गरिएको हो,’ सहायक रथी सिलवालले डिसी नेपालसँग भने, ‘पूर्वपश्चिम जाँदा बीचमा रिफ्यूल गर्नुपर्ने सेड्यूल अनुसार नै उक्त दिन पनि रिफ्यूल गरिएको हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *