बिद्यार्थीबीच ‘सिक, कमाउ र तिर’ प्रभावकारी बन्दै

डिसी नेपाल
१० असार २०७९ ६:२५

पाँचथर। इलाममा रहेको बहुप्राबिधिक शिक्षालयमा बिद्यार्थीबीच सिक्ने, कमाउने र लागेको खर्च तिर्ने (लन अन पे) कार्यक्रम प्रभावकारी बन्दै गएको छ। शिक्षालयमा सिकेका कुरा व्यवहारमा उतार्न त्यहाँ अकबरे खोर्सानी खेतीमा लन अन पे कार्यक्रम सुरु गरेको हो ।

रत्नकुमार बान्तवा बहुप्राबिधिक शिक्षालय इलाम-१, साँखेजुङमा यो कार्यक्रम लागू भएको हो । यसमा बिद्यार्थी, शिक्षक र शिक्षालयले कूल आय रकम दामासाही रुपमा लिने तयारी छ । ‘बिद्यार्थीबीच पनि सिकेको कुरा ब्यवहारमा उतार्दै आयआर्जन पनि गर्न पाइने भएपछि उनीहरु उत्साहित छन् ।’

शिक्षालय प्रमुख दिपक खनालले भने, ‘यो परीक्षणको रुपमा सुरु गरिएको कार्यक्रम पहिलो चरणमै आकर्षणको केन्द्र बन्दै गएको छ ।’

यहाँ ३–३ वर्षे डिप्लोमा कोर्ष बालीबिज्ञान, पशुबिज्ञान, फार्मेसी, सिभिल इन्जिनियरिङ र स्पेसल फार्मेसीका कक्षा सञ्चालनमा छन् । यीमध्ये बालीबिज्ञानतर्फका बिद्यार्थीहरु लन अन पे कार्यक्रममा सहभागी भएको बालीबिज्ञान प्रशिक्षक सुशान्त खड्काले डिसी नेपाललाई बताए ।

उनका अनुसार शिक्षालयमा २ सय ४८ विद्यार्थी अध्ययनरत छन् । सिकाईका कुरा प्रयोगात्मक अभ्यास गर्न पोलीहाउस, हाइटेक टनेल, नर्शरीको व्यवस्था भएको छ । २०७४ मा स्थापना भएको यो शिक्षालयमा ३ वर्षे कोर्ष पूरा गर्न करिव ५० हजार रुपैयाँमात्र बिद्यार्थीले भूक्तानी गर्नुपर्छ । यो नेपालकै सस्तो दरमा पढाइ हुने शिक्षालय हो ।

शिक्षालयले अहिले स्थानीय २० जना किसानलाई बेमौसमी तरकारी उत्पादनको तालिम पनि दिइरहेको छ । आफ्नो भूगोलमा उत्पादन हुने बेमौसमी तरकारी उत्पादनका लागि शिक्षालयले किसानहरु समेटेर तालिम सञ्चालन गरेको शिक्षालय प्रमुख खनालको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *