एमालेभित्र अन्तर्घातीको खोजी

डिसी नेपाल
२० असार २०७९ ७:०७

काठमाडौं। नेपालका कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात गर्नेमाथि छानबिन गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा बसेको सचिवालय बैठकले तीन सदस्यीय ‘छानबिन तथा कारबाही कमिटी’ गठन गर्ने निर्णय गरेको हो । एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे सो कमिटीले उजुरी लिने, छानबिन गर्ने, कारबाहीको सिफारिसलगायतका काम गर्नेछ ।

कमिटीमा निर्वाचन विभाग प्रमुख र केन्द्रीय संगठन विभाग प्रमुख सदस्य रहनेछन् । निर्वाचन विभाग प्रमुख एवं उपमहासचिव विष्णु रिमाल र संगठन विभाग प्रमुख रहेका स्थायी कमिटीका सदस्य खगराज अधिकारी सो कमिटीको सदस्य रहेका छन् ।

पार्टीभित्रैबाट भएका अन्तर्घातका घटनाको छानबिन र कारबाहीका सिफारिस गर्न सो कमिटी गठन भएको प्रवक्ता गुरुङले बताए । एमाले स्थानीय तह निर्वाचनमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ । पार्टीको पराजयमा पार्टीकै नेताबाट भएको अन्तर्घात मुख्य कारण रहेको एमालेको प्रारम्भिक निष्कर्ष रहेको छ ।

यसैगरी, एमालेले प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । सचिवालय बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै पार्टीका उपाध्यक्षलाई प्रदेशमा खटाउने निर्णय गरेको छ ।

बैठकले प्रदेश र जिल्ला कमिटीले स्थानीय तह निर्वाचनबारे समीक्षा रिपोर्ट असार मसान्तभित्र पार्टी केन्द्रीय कमिटीमा पठाइसक्न निर्देशन दिएको छ । यस्तै, चौतर्फी घेराबन्दीबीचमा पनि प्रथम शक्ति बनेको मूल सन्देश लिएर आगामी निर्वाचनमा जाने निर्णय पनि बैठकले गरेको आजको राजधानी दैनिकमा खवर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *