राजपक्षको पलायनसँगै सकियो श्रीलङ्कामा एउटा परिवारको

डिसी नेपाल
३२ असार २०७९ ७:२४

बीबीसीर श्रीलङ्काको संसद्ले गोटाबय राजपक्षले राष्ट्रपतिको पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। यससँगै श्रीलङ्कामा झन्डै २० वर्ष सत्तामा बसेको एउटा राजनीतिक परिवारको प्रभावको अन्त्य भएको छ।

श्रीलङ्का अभूतपूर्व आर्थिक सङ्कटमा परेपछि राष्ट्रपतिका कारण देशको अर्थतन्त्र भताभुङ्ग भएको भन्दै त्यहाँ चरम आक्रोश उत्पन्न भएको थियो। महिनौँदेखि जारी विरोधप्रदर्शन उत्कर्षमा पुगेपछि उनी देश छोडेर भागेका थिए। माल्दिभ्स हुँदै सिङ्गापुर पुगेर राजपक्षले बिहीवार राजीनामा दिएका थिए।

देशको ढुकुटीमा विदेशी मुद्राको सञ्चिति रित्तिन थालेपछि त्यहाँ विदेशबाट इन्धन र अन्य सामग्रीको आयात गर्न कठिनाइ उत्पन्न भएको थियो। अहिले त्यहाँ खाद्यान्न, इन्धन र अत्यावश्यक दैनिक उपभोग्य वस्तुको अभाव छ। राजपक्षको राजीनामाले देशमा नयाँ राष्ट्रपति छान्ने प्रक्रिया थाल्न बाटो खुलेको छ।

शुक्रवार संसद्का सभामुख महिन्द यप अबेवर्दनले आफूले राजपक्षको राजीनामा स्वीकृत गरेको बताएका छन्। राजीनामा बिहीवार आएको उनले बताए। सभामुखले नयाँ राष्ट्रपति छान्ने प्रक्रिया थाल्ने उद्देश्यले शनिवार संसद्को बैठक बोलाएका छन्।

श्रीलङ्काबाट भाग्ने क्रममा राजपक्षले प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका थिए। उनलाई शुक्रवार अन्तरिम राष्ट्रपतिका रूपमा शपथ गराइएको छ। संसद्ले ३० दिनभित्र नयाँ नेता छान्नुपर्नेछ। विक्रमसिङ्घ पनि राष्ट्रपतिका सम्भावित उम्मेदवार हुन्।

देशमा आन्दोलन चर्किएपछि राजपक्ष मङ्गलवार राति एउटा सैन्य विमान चढेर दुई अङ्गरक्षक र पत्नीसहित माल्दिभ्स गएका थिए। बिहीवार उनी सिङ्गापुर पुगे। पदत्याग गरेपछि श्रीलङ्कामा बन्ने नयाँ सरकारले पक्राउ गर्न सक्ने डरले उनी विदेश भागेको हुनसक्ने अनुमान गरिएको छ।

सिङ्गापुरको विदेश मन्त्रालयले राजपक्ष निजी भ्रमणमा आएको बताएको छ। उनले शरण नमागेको अनि उनलाई शरण नदिएइको उसले स्पष्ट पारेको छ।
सिङ्गापुरमा सामान्यतया शरण माग्ने अनुरोध स्वीकार नगरिने उसको भनाइ छ।

राजपक्षले राजीनामा दिएको थाहा पाएपछि प्रदर्शनकारीहरूले श्रीलङ्काको राजधानी कोलम्बोमा बिहीवार राति उत्सव मनाएका छन्। “हामी हर्षातीत छौँ…अब हामी विश्राम लिन र आफ्नो दैनिक जीवनमा फर्किन सक्छौँ,” विराग परेराले बीबीसीसँग भने।

प्रदर्शन रोक्न विक्रमसिङ्घले बिहीवार कर्फ्यू लगाएको हुनाले हर्षोल्लास गर्न भेला भएका मानिसहरूको सङ्ख्या अलिक कम थियो। राजपक्ष भागेपछि विक्रमसिङ्घ कार्यवाहक राष्ट्रपति नियुक्त भएकोमा असन्तुष्ट प्रदर्शनकारीहरूको भिडले बुधवार सरकारी भवनहरूमा प्रवेश गरेको थियो।

बिहीवार मानिसहरू केही भवनबाट निस्किन थालेपछि कोलम्बोका सडकहरू केही शान्त देखिन्थे। “राष्ट्रपति भवन, राष्ट्रपतिको सचिवालय र प्रधानमन्त्रीको कार्यालयबाट हामीहरू तत्काल शान्तिपूर्ण रूपमा बाहिर जाँदै छौँ, तर हाम्रो सङ्घर्ष जारी रहन्छ,” प्रदर्शनकारीकी एक प्रवक्ताले भनेकी थिइन्।

बुधवार भएको प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु भएको थियो भने ८४ जना घाइते भएका थिए। गत शनिवार हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति भवनमा प्रवेश गरेका थिए भने केहीले प्रधानमन्त्रीको निजी निवासमा आगो लगाइदिएका थिए।

एप्रिलमा विरोधप्रदर्शनको क्रम सुरु भएको थियो। बुधवार आयोजित प्रदर्शन निकै ठूलो थियो। बिहीवार राष्ट्रपतिको सरकारी निवासमा बीबीसी पुग्दा प्रदर्शनकारीहरूले उक्त भवन सरकारी अधिकारीलाई बुझाएका थिए। बिहीवार अपराह्ण संसद् भवनमा कुनै प्रदर्शनकारी नभएको एक बीबीसी संवाददाताले पुष्टि गरेका छन्।

“हामीले यो भवन जनताको शक्ति देखाउन कब्जा गरेका थियौँ। हामी यो जसरी नियन्त्रणमा लियौँ त्यसरी नै फिर्ता गर्दै छौँ र बाहिर जाँदै छौँ। आवश्यक परे हामी फेर तत्काल आउनेछौँ,” प्रधानमन्त्रीको कार्यालयमा रहेका एक प्रदर्शनकारी दानिश अलीले बीबीसी तमिललाई भने।

श्रीलङ्काली जनताको शक्तिले गोटाबय राजपक्षलाई सत्ताच्युत गरेदेखि प्रतीक्षा गरिएको राजीनामा अन्ततः आएको छ। यो राजीनामाले विभिन्न काम गर्छ। पहिलो, प्रधानमन्त्री रनिल विक्रमसिङ्घको कार्यवाहक राष्ट्रपति पदलाई यसले वैधानिकता दिन्छ। श्रीलङ्काको संविधान अनुसार राष्ट्रपतिले राजीनामा दिएको अवस्थामा प्रधानमन्त्री कामचलाउ राष्ट्र‍ाध्यक्ष बन्छन्।

दोस्रो, यसले संसद्‌मा नयाँ राष्ट्रपति छान्ने बाटो खोलिदिन्छ। सांसदहरु जुलाई १५ (शुक्रवार) मा भेला भएर यो प्रक्रिया आरम्भ गर्ने तय भएको थियो।

आगामी साता यसबारे मतदान हुने वाचा गरिएको थियो। तर राष्ट्रपतिले राजीनामा नदिएकाले यसमा विलम्ब भयो। अब सभामुखले संसद्को बैठक बोलाउन सक्छन्।

राष्ट्रपति पदका लागि अहिलेसम्म देखा परेकामध्ये दुई प्रमुख सम्भावित उम्मेदवार विक्रमसिङ्घ र विपक्षी नेता सजित प्रेमदास हुन्। सत्तारूढ दलसँग बहुमत भएको हुनाले उसका सांसदहरूले विक्रमसिङ्घलाई समर्थन गर्ने देखिन्छ। विक्रमसिङ्घको राजपक्ष परिवारसँग निकट र सौहार्द सम्बन्ध छ। यद्यपि श्रीलङ्काली जनताले त्यो स्वीकार गर्छन् कि गर्दैनन् भन्ने अर्को विषय हो।

राष्ट्रपति राजपक्षबाहेक प्रधानमन्त्री विक्रमसिङ्घले पनि राजीनामा दिनुपर्ने प्रदर्शनकारीहरूको प्रमुख माग थियो। तेस्रो, राजीनामा दिएपछि राजपक्षसँग राष्ट्राध्यक्षलाई प्राप्त कानुनी उन्मुक्ति छैन। कुनै सुरक्षित आश्रयस्थलको खोजीमा रहेका उनी अहिले निकै अप्ठ्यारो अवस्थामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *