स्रोतमा नै फोहरको वर्गीकरण
काठमाडौं। फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौं महानगरपालिकाले आजदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्र सङ्कलन गर्न थालेको छ।
यसका लागि महानगरले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो । नगर प्रमुख बालेन्द्र साह फोहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन आग्रह गर्दै नागरिकको घरदैलोमा पुगेका थिए।
आज महानगरका ३२ वटै वडाबाट यस किसिमको अभ्यास सुरु गरिएको हो । कुहिने र नकुहिने फोहरलाई फरकफरक राखे व्यवस्थापनमा ठूलो सहयोग हुने विश्वास महानगरको छ ।
महानगरले सङ्कलित फोहर उठाउनका लागि दिन तय गरेको छ । यसअनुसार पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहर सङ्कलन गरिनेछ भने मङ्गलबार र शुक्रबार नकुहिने फोहर उठाइनेछ ।
यसरी सङ्कलन गरिएको फोहरको प्रकृतिअनुसार ल्याण्डफिल साइटमा पनि छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ । महानगरको आग्रहलाई बेवास्ता गरी एकै स्थानमा राखिएको फोहर व्यवस्थापनका लागि लगेमा रु ५०० जरिवाना गरिने छ ।
जैविक फोहरबाट गड्यौला वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । कुहिने तर पुनःप्रयोगमा आउनसक्ने फोहरलाई पुनःप्रयोग गर्न सकिन्छ । पुनः चक्रिय फोहर सङ्कलकलाई बेचेर आयआर्जन गर्नेतर्फ ध्यान दिन महानगरले नागरिकसमक्ष आग्रह गरेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment