पान, गुट्खा खाएर जथाभावी थुक्न थालेपछि…

डिसी नेपाल
८ साउन २०७९ ७:०३

बारा। बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवानका तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवानका तस्बिर भित्तामा टाँस्नुपरेको हो ।

मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्‍याङ, पर्खाल र भित्ताका कुनामा तस्बिर टाँसिएका छन् । जथाभावी थुक्नेलाई पाँच सय रुपियाँ जरिवाना लिइने भनी लेखिएका पोस्टर झुन्ड्याइएका छन् तर त्यसको उपेक्षा हुँदै आएको छ ।

कतिपयले भगवानका तस्बिर टाँसिएको स्थानमा समेत थुक्ने गरेको पाइन्छ । नापी कार्यालय कलैयाका प्रमुख चन्दन दासले भने, “सेवाग्राहीलाई जथाभावी नथुक्न अनुरोध गर्‍यौँ तर अनुरोध नमानेपछि भर्‍याङका भित्तालाई सफा राख्न भगवानका तस्बिर टाँस्नुपरेको हो ।”

उनले भगवानका तस्बिरमा थुक्न थालेकाले यसलाई नियन्त्रण गर्न अरू उपाय अपनाउनुपर्ने देखिएको बताए । यस्तो प्रवृत्ति बारामा मात्र नभई अन्य जिल्लामा पनि उत्तिकै रहेको पाइन्छ । पर्खालबाहिर शौच गरिदिने भएकाले र्खालमा भगवानका तस्बिर राखिएको सरकारी कार्यालयका कर्मचारीहरू बताउँछन् । गोरखापत्र दैनिकबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *