स्वतन्त्र पत्रकारको राष्ट्रिय भेला सम्पन्न, सङ्गठन सुदृढ तथा विस्तार गर्ने निर्णय

डिसी नेपाल
८ साउन २०७९ १८:५७
28
Shares

पोखरा । स्वतन्त्र पत्रकार सङ्घ नेपालको जिल्ला शाखाका अध्यक्ष तथा सचिवहरूको राष्ट्रिय भेला पोखरामा सम्पन्न भएको छ । भेलाले सङ्गठन सुदृढ तथा विस्तार गर्नेलगायत पत्रकारहरूका हकहितका विषयमा विभिन्न निर्णय गरेको सङ्घका महासचिव महेशविक्रम कुँवरले जानकारी दिए ।

भेलाको उद्घाटनमा सङ्घका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारको परिचयपत्र भिर्दैमा कोही पत्रकार बन्न नसक्ने बताए । “सत्यतथ्य समाचार प्रस्तुत गर्न पत्रकार स्वतन्त्र हुनै पर्छ”, उनले भने, “पत्रकारिता जस्तो विशिष्ट तथा मार्यादित पेसा छाडेर राजनीतिक सङ्गठनमा आबद्ध हुनेले भोलि पश्चाताप गर्नुपर्ने दिन आउन सक्छ ।” कतिपय अवस्थामा छद्मभेषीहरूलाई पनि पत्रकार भन्ने गरिँदा पत्रकारको गरिमामा आँच पुगेको बास्तोलाले बताए ।

सङ्घका उपमहासचिव सुरेश श्रेष्ठले संस्थालाई व्यवस्थित गर्दै अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । सङ्घका २९ जिल्ला शाखा र राष्ट्रिय समितिका सहित ७५ जना पत्रकार आमन्त्रित भेलामा सहभागीले विभिन्न सुझाव दिएका थिए ।

भेलामा सङ्घका कास्की शाखाका अध्यक्ष असफल गौतम, काठमाडौँ शाखाका अध्यक्ष पुष्करराज पाण्डे, तनहुँ शाखाका अध्यक्ष सुरेश सुनार, ललितपुरका अध्यक्ष उपेश नौबाग, मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, पाल्पा शाखाका अध्यक्ष भोजराज भट्टराई, अछामका विष्णुबहादुर खड्कालगायतले आ–आफ्नो जिल्लाको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सङ्घका उपाध्यक्ष लक्ष्मी गुरुङ (तिर्सना), उपमहासचिव कल्याण पन्तलगायतले सङ्गठनका गतिविधिबारे प्रकाश पारे ।

भेलाकै क्रममा सहभागीले पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल, विन्ध्यवासिनी मन्दिर, पुम्दीकोटको विशाल महादेव मूर्ति र छोरेपाटनको गुप्तेश्वर गुफा अवालोकन गरेका थिए । त्यस्तै उनीहरूले पोखराको पृथ्वीनारायण क्याम्पस पुगी नेपाली विभागद्वारा सञ्चालित पुस्तकालयबारे जानकारी लिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *