आज घण्टाकर्ण पर्व : किन प्रदर्शन गरिन्छ पुरुष याैनांग ?

डिसी नेपाल
१० साउन २०७९ १३:०६
512
Shares

भक्तपुर। भक्तपुरका प्रायः सबैजसो जात्रापर्व सभ्य, सुसँस्कृत र भव्य हुने गर्छन्। तर, हरेक वर्ष साउन कृष्णपक्ष चतुर्दशी (अर्थात आज) परेकाे घण्टाकर्ण पर्व भने अलि भिन्न छ । यस पर्वमा पुरुष यौनांग (लिंग)लाई विशेष प्राथमिकतामा दिएर मनाइन्छ।

परम्पराअनुसार भक्तपुरका दोबाटो, चौबाटोहरूमा नर्कट, छ्वाली, पराल, हाँंडी, नाङ्लो लगायतले घण्टाकर्ण (स्थानीय नेपाल भाषामा गथामग) बनाइन्छ। यो घण्टाकर्ण बनाउँंदा पुरुषको लिङ्गलाई विशेष प्राथमिकतामा राखेर बनाइन्छ। लामो, मोटो, ठूलो लिंगको आकार बनाइन्छ। लठ्ठीमा पराल बेरेर लिंगकाे आकार दिइन्छ। साथै, यौनसम्पर्क गर्दा विर्य झरेको संकेतको रुपमा सेता कपास झुण्ड्याइन्छ।

साँंझ बनाइएको घण्टाकर्ण अर्थात गथामगलाई साँंझै दाहसंस्कार गरी पर्व समापन गरिन्छ। यसक्रममा टोलटोलमा एक सयभन्दा बढी गथांमुगको दाहसंस्कार गरिन्छ। यिमध्ये भक्तपुरको दतात्रयमा गरिने दाहसंस्कार सबैभन्दा बढी आकर्षक मानिन्छ।

टोलटोलमा स्थानीयस्तरमा नर्कट, छ्वाली, पराल संकलन गरी संकलित नर्कट, छ्वालीबाट तीनखुटे गथामग बनाइन्छ। घरमा फाल्नुपर्ने पुरानो नाङ्लोमा मुख, नाक, कानलगायतका ज्ञानेन्द्रिय अंग लेखी हाँंडीको टाउको दिइएको हुन्छ।

टोलबासी मिलेर साँंझ टोलटोलमा गथामग बनाएपछि त्यसलाई बोकेर दाहसंस्कारका लागि लिएर जान्छन्। सहभागी सयौं छ्वालीको राँको बालेर दाहसंस्कारमा सहभागी हुन्छन्। टोलटोलमा बनाएको गथामगलाई टोलबाट पूर्वतर्फकाे नजिकैको दोवाटो, चौबाटोमा लगेर जलाइन्छ।

दाहसंस्कारबाट फर्किदा बाटोमा पर्ने धारा, ढुंगेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगि चोखिने चलन छ। दाहसंस्कारबाट फर्केर घर घरमा छ्वाली बालेर धुवाले घर सेक्ने चलन छ। साथै, घरको ढोकामा किला ठोकेर सम्हेबजी (भोज) खाने चलन छ। पर्वका दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर गर्ने प्रचलन छ।

ईतिहासविद् डा. वीरेन्द्रप्रसाद कायस्थका अनुसार यो पर्व लिच्छविकालमै सुरु भएको थियो। नेवार समुदायको मौलिक पर्वमध्ये एक हो। वर्षको चार वटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, पिशाच चतुर्दशी र शिवरात्री चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्रै मनाउने भएकोले यसलाई नेवार समुदायको माैलिक पर्वका रुपमा लिने गरिएको छ।

किम्वंदन्ती अनुसार घण्टाकर्ण भगवान विष्णुका भक्त थिए। उनी केवल भगवान विष्णुको मात्रै पूजा गर्थे। एक दिन भगवानले विष्णु, शिव र आफू एउटै भएकाले शिवको पनि पूजा गर्नु भन्दा घण्टाकर्णले मानेनन्। तब विष्णुले हरि र शंकर एउटै हो भनेर देखाउन हरिहरको रुपको दर्शन दिए, जसमा आधा विष्णु थिए भने आधा शिव। तै पनि घण्टाकर्ण सन्तुष्ट हुन सकेन । उनी बाहिर निस्केको बेला शिव शिव… भनेर जिस्क्याउँंथे । यो सुन्नुपर्ला भनेर घण्टाकर्णले आफ्नो कानमा ठूल्ठूला घण्टा झुडाएर हिड्थे।

कसैले शिवको नाम लिने बित्तिकै कानको घण्टा जोड जोडले बजाउँंथे । त्यसैले यसलाई घण्टाकर्ण भनिएको इतिहासविद् डा. कायस्थ सुनाउँंछन्। यो पर्वसँंग वैज्ञानिक कारण पनि जोडिएको छ । राेपाईपछि झारका कारण बढ्ने लामखुटे, भुसुनालाई आगो बालेर भगाउने वैज्ञानिक कारण यो पर्वसँंग जोडिएको तर्क पनि छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *