एनआरएनए हङकङको साधारण सभा सम्पन्न

डिसी नेपाल
१७ साउन २०७९ २१:०३

हङकङ। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-एनसीसी) हङकङको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

३१ जुलाईमा सभाको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै हङकङका लागि नेपाली महावाणिज्यदूत उदयबहादुर रानाले वार्षिक साधारणसभाले एनआरएनए हङकङलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे।

विगतमा गरेका कामको समीक्षा गर्दै नयाँ कार्ययोजना तय गर्नुपर्ने उनको सुझाव थियो। यस्तै उनले एनआरएनएले उठाउँदै आएको नागरिकताको विषय नेपाल सरकारले सम्बोधन गरेको बताउँदै बधाई समेत दिए।

‘तपाईँहरूको माग सरकारले पूरा गरिदिएको छ। यसले गैरआवासीय नेपालीलाई नेपालप्रतिको दायित्व अझ बढाएको छ,’ उनले भने, ‘तपाईँहरुले सरकारसँग अपेक्षा गर्ने मात्र होइन देशका लागि पनि केही योगदान गर्नुपर्छ।’

देशमा आर्थिक संकट हुन नदिन गैरआवासीय नेपालीबाट सरकारले लगानीको अपेक्षा गरेको उनको भनाई थियो। नेपाल सरकारले गैरआवासीय नेपालीलाई डलर खाताको सुविधा दिएको बताउँदै उनले जतिसक्दो धेरै डलर नेपाल पठाउन आग्रह गरे।

कार्यक्रममा एनआरएनए हङकङका अध्यक्ष गोकर्णप्रसाद ढकालले सरकारले पारित गरेको नागरिकता विधेयकको स्वागत गर्दै तर, त्यो अपूरो रहेको बताए।

यस्तै उनले एनआरएनएको प्रमुख मुद्धा ‘एक पटकको नेपाली सधैंको नेपाली’ भएकोले नागरिकता निरन्तरताको लागि पहल गर्नुपर्ने बताए।

त्यस्तै आइसीसीलगायत अन्य मुलुकका एनसीसीमा देखिएका विवाद समाधान गर्नुेपर्ने आवश्यकता रहेको उनले औल्याए। एनआरएनए जस्तो पवित्र सामाजिक संस्थाको मह्त्व सबैले बुझ्नुपर्ने तर्क थियो।

संघलाई पुस्तान्तरण गर्न आवश्यक रहेको बताउँदै उनले युवा र महिलाको सहभागिता व्यापाक बनाउनुपर्ने धारणा राखे।

त्यस्तै कार्यक्रममा विशेष अतिथि रहेकी संघकी केन्द्रीय सह–कोषाध्यक्ष अमृता थापा ९कञ्चन० ले गैरआवासीय नेपालीले आ–आफ्नो तर्फबाट देशलाई सकेको योगदान दिन आग्रह गरिन्।

यस्तै नेपाल चेम्बर अफ कर्मश हङकङका अध्यक्ष लवकुमार गुरुङले हङकङवासी गैरआवसीय नेपाली एक भएर अघि बढ्नुपर्ने बताए। ‘गुट बनाउन हुँदैन। यसले नराम्रो सन्देश जान्छ,’ उनले भने, ‘एनआरएनए हङकङलाई थप सशक्त र राम्रो बनाउन सबै मिलेर काम गर्नुपर्छ।’

त्यसैगरी हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङले पछिल्लो समय संघको केन्द्रीय समितिमा उत्तर–चढाव बढेको भएपनि एनआरएनए हङकङले भने ‘सेफ ल्यान्डिङ’ गर्न गरेको बताइन्।

‘यो साधारणसभामा भएको बाक्लो उपस्थितिले त्यसलाई पुष्टि गरेको छ,’ सामाजिक संस्थामा एक जुट भएर काम गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘एकता हुनुपर्छ। हामी एनआरएनए हङकङलाई सधै सहयोग गर्नेछौँ।’

त्यसैगरी एनआरएनए हङकङका पूर्व अध्यक्ष दुर्गाबहादुर गुरुङले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को ‘ब्याकबोन’ भएको बताए।

उनले एनआरएनए हङकङले हरेक तीन–तीन महिनामा छलफल तथा बहसका कार्यक्रम राख्नुपर्ने सुझाव दिए। ‘बहस र छलफल गरियो भने नयाँ आउने कार्यसमितिका साथीहरूलाई एनआरएनएको बारेमा बुझ्न सहज हुन्छ,’ उनले भने।

त्यस्तै संरक्षक प्रितम श्रेष्ठले पछिल्लो समय संघको केन्द्रमा राजनीतिक भित्रिएको बताए। संघभित्र आउँदा राजनीतिक टोपी बाहिरै खोलेर आउनुपर्ने उनको भनाइ थियो। संघमा दोस्रो पुस्तालाई आकर्षण गर्नुपर्ने उनले बताए।

‘अब युवा तथा दोस्रो पुस्तालाई स्थान दिनुपर्ने बेला भएको छ। पुरानो पुस्ताले पछाडीबाट सहयोग गर्नुपर्छ,’ उनले भने।

यस्तै अर्का संरक्षक तेजप्रकाश पुनले एआरएनए हङकङले गरिरहेका कामहरु आइसीसीको लागि पनि उदाहरणीय भएको भन्दै प्रशंसा गरे। उनले युरोप, अमेरिकाबाट भन्दा एसिया क्षेत्रबाट देशमा धेरै सहयोग पठाइएको दाबी गरे।

एनआरएनए हङकङको नेतृत्वमा अहिले युवा आएकोले उनीहरूलाई अघि बढ्न अग्रज तथा पुरानो पंक्तिले सहयोग गर्नुपर्ने उनको भनाइ छ। केन्द्रको जस्तो विवाद हङकङमा हुन नदिन सबै सचेत हुनुपर्नेमा उनले जोड दिए।

संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले मह्त्वपूर्ण माग नागरिकता पास भएकोमा खुसी व्यक्त गर्दै बधाई दिए।

उनले एनआरएनए हङकङको १७ वर्षे इतिहास स्मरण समेत गरे। विगत एक वर्षदेखि एनआरएनएको केन्द्रीय समिति अस्वस्थ रहेको बताउँदै उनले दुस्ख व्यक्त गरे। यसले गैरआवासीय नेपालीको उद्देश्यमा असर परिरहेको भन्दै चिन्ता प्रकट गरे।

उनले बहुपदीय प्रणाली ठिक नभएको बताउँदै आइसीसीको आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष गर्नुपर्नेमा जोड दिए। आगामी महाधिवेशनदेखि संस्था दुई वटा नभइ एउटा हुनुपर्नेमा उनको जोड छ।

‘अबदेखि ४(४ अध्यक्ष बनाउने प्रणालीको अन्त्य गर्नुपर्छ। दुवै पक्षले आ–आफ्ना कमजोरीलाई सुधार गरेर आउँदो अधिवेशबाट एउटै संस्था, एउटै अध्यक्ष बनाउनुपर्छ,’ उनले भने।

कार्यक्रममा नेपाली आदीवासी जनजाती महासंघ हङकङका कार्यवाहक अध्यक्ष कृष्णराज लावती, नेपाल वायुसेवा निगमका हङकङ प्रमुख नवराज उपाध्यय, अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ हङकङका अध्यक्ष आकाश बञ्जरा, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष इन्द्र लम्साललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि सहभागी थिए।

अध्यक्ष गोकर्ण ढकाललको अध्यक्षतामा भएको साधारणसभामा स्वागत मन्तव्य विजयकुमार गुरूङले राखेका थिए भने सञ्चालन महासचिव डिल्लीराम विश्वकर्माले गरेका थिए।

साधारण सभाको बन्द सत्रले आर्थिक, सांगठानिक र कार्यप्रगति प्रतिवेदन पास गर्दै आउँदो वर्षका लागि नयाँ कार्य योजना पारित गरेको छ। कोभिड महामारीका बेला एनआरएनए हङकङले खेलेको भूमिकाको समिक्षा गरिएको थियो।

महासचिव विश्वकर्माले संगठनिक प्रतिवेदन र गीता गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *