प्रचण्डले केपी ओलीलाई तीन वर्ष नेता मान्दा ठीक हुने, हामीले मान्दा कसरी बेठिकः रायमाझी

डिसी नेपाल
१९ साउन २०७९ १७:५८

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरुप्रति जनताको वितृष्णा रहेको भन्दै यसबारेमा समिक्षा हुनुपर्ने बताएका छन् ।

शुक्रबाररिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बौल्दै रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई तीन वर्षसम्म नेता मान्दा ठीक हुने र आफूहरुले मान्दा कसरी बेठिक हुने भनेर प्रश्न गरेका छन् । उनले भने,‘प्रचण्डले तीन वर्ष ओलीलाई नेता मान्दा ठिक हुने । अनि हामीले मान्दा बेठिक भयो त ?’ उनले आफूहरुले पदको लागि माओवादी छोडेको भन्ने आरोपमा सत्यता नभएको जिकिर गरे । उनले भने,‘म अहिले सांसद पनि छैन् । मन्त्री पनि छैन् । म त्याग गर्न पनि तयार रहेको मान्छे हुँ ।’

निर्वाचनमा कसले जित्छ भनेर अहिले अड्कलबाजी गर्ने बेला नभएको उनको टिप्पणी थियो । उनले भने,‘राजनीतिक पार्टीप्रति जनतामा वितृष्णा पैदा भैरहेको छ । अहिले कठिन छ । दलहरुसँग जनताको आशा थियो । त्यो पूरा नभएपछि वितृष्णा भएको छ । काठमाडौंको मेयर हुनुभन्दा पहिले बालेन शाहले पनि काठमाडौं उपत्यका सफा गर्छु भन्नुभएको थियो । अहिले फोहोरको थुप्रो देखिएको छ। अहिले बालेनलाई गाहो परिरहेको छ ।’

रायमाझीले विषय उठाउन सजिलो भएपनि त्यसलाई बैठाउन गाह«ो रहेको सुनाए । उनले आफूले भौतिक पूर्वाधारमन्त्री हँुदा काठमाडौं सडक विस्तार गरेको पनि दाबी गरे । यस्तै, स्थानीय विकासमन्त्री हुँदा काठमाडौंको फोहोरको व्यवस्थापन १५ दिनभित्र गरिदिएको उनको दाबी छ । उनले सबै नेतालाई एउटै डालोमा नहाल्नसमेत आग्रह गरेका छन् । उनले अब देश नयाँ कार्यदिशाका साथ अघि बढाउने सुनाए । उनले भने,‘हामी नयाँ कार्यदिशामा छौं । त्यो भनेको समृद्धिको कार्यदिशा हो ।’

नेता रायमाझीले आफूहरुको लक्ष्य र कार्यदिशा भनेको नै समाजवादमा पुग्ने रहेको सुनाए । उनले अब स्वस्थ राजनीतिक प्रतिष्पर्धा र लोकतान्त्रिक माध्यमबाट समाजवादमा जानुपर्नेमा जोड दिए । उनले पाँच दलीय गठबन्धनप्रति उनले आक्रोश पोखे । उनले गठबन्धनले देशलाई विकासको बाटोमा अघि नबढाउने जिकिर गरे । उनले अहिले महँगी आकाशिएको पनि आरोप लगाए । उनले भ्रष्टाचार पनि दिनदाहाडै भैरहेको र मानिसहरुको जीवनमा संकट पैदा भएको पनि आरोप लगाए । उनले अहिले देश श्रीलंकाको दिशातर्फ अघि बढेको गुनासो पोखे । उनले अहिले गठबन्धनले लुटेर खाने काममात्रै गरेको र देश डुबाउने काम गरेको बताए ।

नेता रायमाझीले अब राष्ट्रियतामाथि सबभन्दा ठूलो संकट आएको पनि टिप्पणी गरे । उनले भने,‘राष्ट्र, राष्ट्रियताको विषयमा गम्भीर खतराको कुरा आयो । चाहे एमसिसीको कुरा गर्नुहोस, एसपिपीको कुरा गर्नुहोस वा नागरिकता विद्येयकको कुरा गर्नुहोस । राष्ट्रको राष्ट्रियता के हुने हो भनेर अहिले गम्भीर प्रश्न उठेको छ ।’ उनले केही समयको लागि मात्रै गठबन्धनले एसपिपी स्थगित गरेको आरोप लगाए । उनले भने,‘चुनावको कारण मात्रै यो गठबन्धनले एसपिपी केही समय स्थगित गरेको हो । तर, गठबन्धन कुनै पनि कष्टमा यसलाई निर्णय गरेर जाने दिशातर्फ जाँदैछ । अहिले टालटुल गरेर पत्र पठाएको भनेको छ । त्यो पनि दबाबको बावजुद ।’ उनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु आ–आफ्ना एजेण्डा लिएर जनताको बीचमा जानुपर्नेमा जोड दिए । उनले विपरित ध्रुवको पार्टी मिलेर आफ्नो अस्तित्व बचाउनको लागि गलत काम गर्न नहुने बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *