कार्यकर्तालाई योगदानका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्छः प्रवक्ता डा महत

डिसी नेपाल
१९ साउन २०७९ २२:०८

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीका कार्यकर्तालाई योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका छन् ।

प्रवक्ता डा महतले आज आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै कांग्रेसले हरेक नेता कार्यकर्ताको योगदान, क्षमता, लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका हुन् ।

नेता डा महतले नुवाकोटका जनताले आवश्यक ठानेमा आफू नुवाकोटबाट प्रत्यक्ष निर्वाचन लड्नेसमेत बताए । “छहरे–टोखा सुरुङ मार्ग निर्माण, बालाजु–ककनी सडक निर्माणलगायत नुवाकोटको विकासका लागि धेरै काम गर्न बाँकी छ, नुवाकोटबाट प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने मेरो इच्छा छ”, उनले भने ।

पूर्वऊर्जामन्त्री डा महतले आफ्नो कार्यकालमा नुवाकोटका अधिकांश स्थानमा विद्युतीकरण गरेको स्मरण गरे । नुवाकोटमा कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्ने उनको भनाइ थियो । प्रवक्ता डा महतले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म कायम राखेर जाने पक्षमा कांग्रेस रहेको स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *