निर्वाचनमा दश अर्ब खर्च लाग्ने आयोगको अनुमान

डिसी नेपाल
२० साउन २०७९ १२:१८

काठमाडौं। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ। निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोग निर्वाचनमा होमिएको छ। आयोगले निर्वाचनको तयारी सुरु भइसकेको जनाएको छ।

बैशाखमा एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरेको आयोगले अब मंसिरमा हुने आम निर्वाचनलाई पनि सफलतापूर्वक सम्पन्न गर्ने जनाएको छ।

आयोगले निर्वाचनमा लाग्ने खर्चका विषयमा आन्तरिक छलफल सुरु गरेको छ। आन्तरिक छलफलपछि आयोगले सरकारसँग निर्वाचन सम्पन्न गर्न लाग्ने खर्च माग गर्ने आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्माले अहिले नै निर्वाचनमा लाग्ने खर्चको अनुमान गर्न नसकिने बताए। केही दिनभित्रै निर्वाचनमा लाग्ने खर्च निस्किने र त्यसका लागि सरकार समक्ष सिफारिस गर्ने बताए। प्रवक्ता पौडेलले डिसी नेपालसँग भने, ‘ निर्वाचन गर्नको लागि लाग्ने खर्च अहिलेसम्म हामीले निकालेका छैनौ, एक-दुई दिनमा लाग्ने खर्च निकालेपछि आउँछ।’

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागि करिव १० अर्वको हाराहारी खर्च लाग्ने अनुमान रहेको उनले बताए। उनले भने, ‘अहिले सबै कुराको भाउ बढेको छ। त्यसैले १० अर्व हाराहारीको खर्च लाग्न सक्छ।’

गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनका लागि आयोगलाई सरकारले ८ अर्ब ११ करोड रुपैयाँ निकासा गरेको थियो।

उक्त निकाशा भएको रकममा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको थियो। त्यसबाट बाँकि भएको रकम आयोगले ३ अर्ब ६ लाख ८६ करोड रुपैयाँ फिर्ता गरिसकेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *