राजनीतिक जीवनको उत्तरार्द्धमा प्रधानमन्त्री देउवालाई चुनौती र अवसर

सम्भव सिंह ठकुरी
२० साउन २०७९ १३:४०

काठमाडौं। सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै देश अब चुनावमय बनेको छ।
लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष मानिने आवधिक आमनिर्वाचनले नेपालका राजनीतिक दलहरुलाई उत्साहित बनाएको छ।

दलहरुलाई जति उत्साहित बनाएको छ। त्यति नै चुनौती पनि देखिएको छ। पाँच दलीय गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुरलाई सबैभन्दा चुनौती देखिएको छ।

जीवन र राजनीति दुबै चरणको उत्तरार्द्धमा रहेका प्रधानमन्त्री देउवाका लागि सम्भवत यो आमनिर्वाचन अन्तिम चुनाव हो। त्यसैले देउवालाई आफ्नो राजनीतिक नेतृत्वको औचित्य पुष्टि गर्नुपर्ने अन्तिम चुनौती र मौका दुबै हुन सक्छन्।

प्रधानमन्त्री देउवालाई यतिबेला सबैभन्दा ठूलो चुनौती सत्तागठबन्धनमा रहेका दलहरुलाई कसरी सिट बाँडफाँड गर्ने भन्ने रहेको छ।
प्रतिनिधिसभाका १ सय ६५ निवौचन क्षेत्र र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँड गर्ने तयारी भए पनि सहमति जुटाउन भने सहज देखिँदैन ।

एकातिर सत्ता गठबन्धनभित्रै सिटका लागि रणनीतिक प्रतिस्पर्धा चलिरहेको छ भने अर्कोतर्फ पार्टीमा आन्तरिक व्यवस्थापन मिलाउन पनि त्यति नै चुनौती छ।

कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका डा.शेखर कोइराला समूहले ४१ प्रतिशत मत आफूहरुले ल्याएपनि देउवाले उपेक्षा गरेको र पार्टीको हरेक निर्णयमा देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ। पार्टीलाई भन्दा गठबन्धनलाई धेरै महत्व दिएको आरोप पनि देउवा माथि लागरिहेको छ।

गठबन्धनभित्रै रहेको नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीभित्रको एउटा समूहले अझै पनि वाम गठबन्धनको कसरत जारी राखेको छ। गठबन्धनका शीर्ष नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुुन अझै पनि बामपन्थी गठबन्धन हुनुपर्ने मत राख्दै आएका छन्।

यसरी प्रशस्त चुनौतीका बावजुत निर्वाचनमा होमिएको देउवाको यो राजनीतिक परीक्षा कस्तो हन्छ? यसै भन्न सक्ने अवस्था छैन। कांग्रेस निकट विश्लेषक पुरञ्जन आचार्य पनि देउवाका लागि यो निर्वाचन चुनौती र मौका दुबै रहेको छ। आचार्यका अनुसार देउवाले पार्टीको आन्तरिक व्यवस्थापन मिलाउन सके सबैभन्दा स्वर्णिम अवसर हुनेछ।

देउवाको लागि अघिल्लो निर्वाचनमा कांग्रेसको गुमेको साख बचाउने सबैभन्दा उत्तम अवसर रहेको उनको भनाइ छ। ‘यो निर्वाचनमा देउवाजीका लागि चुनौती र मौका दुबै रहेको छ। सबैभन्दा पहिलो चुनौती पार्टीभित्र इतर समूहको नेतृत्व गरेको डा.शेखर कोइराला, गगन थापा समूहका नेताहरुलाई व्यवस्थापन गर्ने र उनीहरुको पनि कुरा सुन्नुपर्‍याे।’

अचार्यले भने, ‘देउवाजी महाधिवेशन सकिएको ७ महिना बितिसक्दा पनि सझा सभापति बन्न सक्नु भएको छैन। महाधिवेशनमा ४१ प्रतिशत मत प्राप्त गरेका शेखर कोइराला समूहको नेताहरुलाई पूरै उपेक्षित गरिरहनु भएको छ। त्यसकारण पहिलो काम उनले (देउवा) ले पार्टी मिलाउनु पर्‍याे, दोस्रो कुरा पार्टीभित्र देखिएको मनोवैज्ञानिक दूरी कम गर्न एउटा कार्यदल बनाउनु पर्‍याे। टिकट बितरणमा समूहिक निर्णयबाट चल्नुपर्‍याे।’

‘त्यसकारण कांग्रेसको सबै विचार समूह समेट्न सक्नु पर्यो नत्र भने पार्टीभित्र अन्तरविरोध र अन्तर्घातको श्रृंखला दोहोरिन सक्छ, जुन पार्टीलाई पहिलो शक्ति बनाउने देउवाको चाहनाको अवरोधक हो,’ आचार्यले भने।

तर देउवाको वर्तमान कार्यशैली त्यस्तो नदेखिएको पनि उनको आरोप रहेको छ। देउवाले गुट र आफ्नो समूहलाईमात्र काखी च्यापेको र बाँकीलाई पाखा लगाउन खोजिएको उनको भनाइ छ। यो चुनौतीलाई अवसरमा परिणत गरे पार्टी र देउवाका लागि सुन्दर मौका हुने छ। नत्र यसरी नै अगाडि बढे पार्टीमा ठूलो ‘बिष्फोट’ हुने उनको अनुमान रहेको छ।

देउवाका लागि अवसर र चुनौती दुबै

५ कार्यकालसम्म मुलुकको प्रधानमन्त्री अर्थात् कार्यकारी शक्तिको प्रमुख भइसकेका र रहिरहेका प्रधानमन्त्री देउवाका लागि यो निर्वाचन सम्भवत अन्तिम अवसर पनि हो। उनी देश संघीय व्यवस्थामा गएपछि पहिलो र दोस्रो दुबै निर्वाचन आफ्नो नेतृत्वमा गराउने एकमात्र प्रधानमन्त्री पनि हुुन्।

तर ५ पटक प्रधानमन्त्री र २ कार्यकालका लागि कांग्रेस सभापतिको नेतृत्व गरिरहेका देउवाका विगतका कार्यकाल खासै सुखद रहेन।
त्यसैले पनि उनी यो निर्वाचनमा आफ्नो नेतृत्वको परीक्षणलाई औचित्य पुष्टि गर्न चाहन्छन्। कांग्रेस सचेतक मीन विश्वकर्मा पनि प्रधानमन्त्री देउवा चुनौतीसँग नडराउने र चुनौतीलाई अवसरको रुपमा परिणत गर्न सक्ने नेताको रुपमा व्याख्या गर्छन्।

‘चुनौती मै अवसर हुन्छ। र अवसरमा पनि चुनैती हुन्छ। दुबै कुरालाई सन्तुलित ढंगबाट व्यवस्थापन गर्दै प्रधानमन्त्री अगाडि बढ्नु हुन्छ,’ नेता विश्वकर्माले भने, ‘सबैभन्दा ठूलो चुनौती त गठबन्धनलाई निरन्तरता दिनु थियो। त्यो कुरामा उहाँ सफल हुनुभयो। अब बाँकी चुनौती भनेको गठबन्धनबाट पार्टीको टिकट हैसियत सम्मानजनक रुपमा ल्याउने र ल्याएको टिकट लाई उचित व्यवस्थापन गर्ने र आफ्नो उम्मेदवारलाई सम्मानजनक रुपमा निर्वाचन जिताउने हो। मलाई लाग्छ प्रधानमन्त्रीमा यो सबै खुवी रहेको छ। उहाँले पुुुुुष्टि गर्नु हुनेछ।’

विगतदेखि अहिलेसम्म देउवाले जतिपटक सरकारको नेतृत्व गरे त्यो सबै देशसंक्रमण कालिन र कठिन अवस्थामा रहेको बेला नेतृत्व गरेका कारण पनि देउवाले चुनौतीलाई अवसरको रुपमा परिणत गर्ने उनको विश्वास रहेको छ।

सिट भागबण्डा कसरी होला ?

सिट भागबण्डामा प्रधानमन्त्री देउवालाई मात्र नभएर सत्तागठबन्धनका सबै नेताहरुलाई चुनौती रहेको छ। सबै दलले सम्मानजनक रुपमा भागबण्डा हुनुपर्ने मत राख्दै आएका छन्। तर तालमेल सम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्नेगरी कार्यदल बनाउने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्यदल गठनमा सहमति गरे पनि त्यसका रहने व्यक्तिहरू आपसी छलफलपछि टुंगो लगाउने निर्णय गरेपनि यो विषय अझै सकस देखिएको छ।

बैठकमा सहभागी कांग्रेसका एक नेताका अनुसार कुन दलले कति सिट पाउने विषयमा कुरा भएको छैन। तर कांग्रेसको जोड भने पार्टीले स्थानीय तहमा पाएको मतको आधारमा सम्मानजनक रुपमा बाँडफाँड गर्ने प्रस्ताव गरेको छ। ती नेताका अनुसार यसरी जाँदा गठबन्धन र पार्टी दुबैलाई व्यवस्थापन गर्न सजिलो हुनेछ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *