ओलीले भने-राम्रो मेहनत गरे बहुमत ल्याउन सक्छौं

डिसी नेपाल
२० साउन २०७९ १४:०४

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ ल्याउन नसक्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा उनले राम्रो मेहनत गरे ठूलो दल वा बहुमतको सरकार बनाउन सक्ने उनको भनाइ छ।

‘एमालेलाई दुई तिहाइ चाहिन्छ। तर, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन। तर, हामीले संगठित र योजनाबद्ध रूपमा काम गर्‍यौं भने बहुमत ल्याउन सक्छौं। केन्द्रमा एकल सरकार, अप्ठेरो नपर्ने गरी सरकार बनाउन सकिन्छ,’ उनले भने।

ओलीले यसअघि मनमोहन अधिकारीको सरकारलाई पनि अदालत प्रयोग गरेर चल्न नदिएको दाबी गरे। ‘२०५१ मा एमालेको अल्पमतको सरकार चल्न दिएनन्। उही अदालत प्रयोग गरियो। त्यसबेला पनि ठूलो दलको हैसियतले हामीले सरकार चलाएका हौं। गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्दा सही, मनमोहन अधिकारीले संसद् विघटन गर्दा हराइयो। व्यक्तिलाई हेरेर अदालतबाट मुद्दाको छिनोफानो गरियो। कांग्रेसले अहिले थप सुविधा पायो । वामपन्थी सरकार देख्न नचाहनेको सहयोग कांग्रेसले पायो । नत्र प्रश्न गर्न सक्ने हैसियतसम्म कांग्रेसको थिएन,’ ओलीले भने।

ओलीले अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र भएको दाबी गरे। ‘अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र हो। बिँड भनेको कम्युनिस्टधारी काठ हुन्। जब कम्युनिस्ट मजबुत हुन्छ अनि ढाल्न थालिन्छ,’ उनले भने।

ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताए। सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरे। उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने आरोप लगाए।

‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान। शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबटे बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भने ।

उनले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गरे। कानुन नभएको शासन जस्तो अहिलेको सरकार रहेको उनले बताए । ‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलवाड ?’ ओलीले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *