मेरो भ्वाइस कपका विजेता प्रविण र डान्स कपकी बिजेता रेनुका घोषित

डिसी नेपाल
२९ साउन २०७९ ११:३०

ओहायो। अमेरिकामा सम्पन्न मेरो भ्वाइस कप सिजन २ को विजेता प्रविण बर्देवा भएका छन् भने मेरो डान्स कप सिजन ४ को विजेता रेनुका राई घोषित भएकी छन्।

अगष्ट १३ तारिक शनिवार साँझ अमेरिकाको ओहायोस्थित सभाहलमा इन्ट्रा फाउण्डेसनद्वारा आयोजित एक भव्य कार्यक्रममा यी दुई रियालिटी शो हरुका विजयी घोषणा गरिएका छन्। दुबै विजेताहरुले टोयोटा र्याभ फोर गाडी र १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।

केही महिनाअघि देखि शुरु भएका यी दुबै रियालिटी शोहरुमा प्रवासमा बसेका नेपाली भाषी समुदायका प्रतिभाहरुले प्रतिष्पर्धा गरेका थिए। भ्वाइस कपका विजेतालाई इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार हस्तान्तरण गरेका थिए भने डान्स कपकी विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले हस्तान्तरण गरेका थिए। एसएमएस भोटिङ्गका माध्यमबाट विजेताहरुको छनौट भएको हो।

यसैगरी भ्वाइस कपको फष्ट रनरअप करण तामाङ्ग विजयी भएका छन्। उनले ६ हजार अमेरिकी डलर तथा सुनको कप पुरस्कार पाएका छन्। सेकेन्ड रनरअप शीतल शर्मा भएकी छन्। शर्माले ३ हजार डलर पुरस्कार पाइन्। त्यसैगरी शोमा चौथो हुने लीला गजमेर र पाचौं हुने बाबा खालिङले १५-१५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।

डान्स कपमा फष्ट रनरअप आयुसा भएकी छन् भने सेकेण्ड रनरअप सुनीता तामाङ्ग घोषत भएकी छन्। फष्ट रनरअप आयुसाले ६ हजार अमेरिकी डलर तथा सुनको कप एवं सेकेण्ड रनरअप सुनीताले ३ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरिन्।

हजारौं दर्शकहरु सहभागी भएको कोलम्बस कन्भेन्सन सेन्टरमा आयोजित फाइनल शोमा बरिष्ठ संगीतकार शम्भुजित बांस्कोटा, चर्चित गायकहरु नरेन्द्र प्यासी, केशब पौडेल, शिव परियार,मनोजराज शिवाकोटी,सुजाता बर्मा,अर्जुन रसाइली, जगदीश समाललगायतले सांगीतिक प्रस्तुति दिएका थिए भने कलाकारहरु सारङ्गा श्रेष्ठ, दिलिप रायमाझी, केकी अधिकारीलायतले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा ओहायो राज्यका स्थानीय नेपाली भाषी कलाकारहरुका प्रस्तुति पनि समावेश गरिएका थिए। कार्यक्रमको डिसी नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *