फोहोर झमेलाः बन्चरेडाँडामा उस्तै तनाव

डिसी नेपाल
१ भदौ २०७९ ६:१९

काठमाडौं। उपत्यकाको फोहोर व्यवस्थापन विषयमा बन्चरेडाँडा ल्यान्डफिल्ड साइट मंगलबार दिनभरि तनावग्रस्त बनेको छ । विभिन्न मागसहित स्थानीयले फोहोर बोकेका गाडी अवरोध गरे भने सरकारले प्रहरी प्रशासनको सहयोगमा बलजफ्ती फोहोर विसर्जन गर्ने कदम चाल्यो ।

स्थानीय र प्रहरीबीच दिनभर नै स्थिति तनावपूर्ण रह्यो । बाटोबाटोमा प्रहरी खटाएर फोहोर विसर्जन प्रयास गरिए पनि डाँडा, खेत, पाखामा बसेका स्थानीयले ढुंगा बोकेर अवरोध गरिरहे । प्रहरीले डाँडामा भेला भएर ढुंगा हान्ने स्थानीयलाई तितरबितर पार्दै फोहोर व्यवस्थापन गरेको छ ।

अश्रुग्यास लागेर एक घाइते

प्रहरीले बलजफ्ती फोहोर फाल्न खोज्दा झडपको स्थिति आएको हो । झडपक्रममा प्रहरीको अश्रुग्यास लागेर एक स्थानीयवासी घाइते भएका छन् । धुनिबेंसी–१ चिलाउनेका करिब २६ वर्षीय कमल तामाङ प्रहरीको अश्रुग्यासको सेल लागेर घाइते भएका हुन् ।

प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल आँखाको माथिल्लो भागमा लागेको छ । स्थानीयले भने अश्रुग्याँस नभएर प्रहरीले गोली चलाएको दाबी गरेका छन् । महानगरपालिकाका अनुसार मंगलबार १ सय ८६ गाडीले बन्चरेडाँडामा फोहोर विसर्जन गरेका छन् ।

नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहेका सिसडोल–बन्चरे डाँडा संघर्ष समिति अध्यक्ष श्रीराम ढुंगाना आफूहरूले विरोध नगरेको बताउ“छन् । सरकारलाई काम गर्न ‘तीन महिना समय दिने’ भनेर आन्दोलन फिर्ता लिइसकेकाले माग सम्बोधन नभए मात्र आन्दोलनमा उत्रने उनको भनाइ छ ।

यसअघि, धादिङ धुनिवेंशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्र अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै ‘बन्चरेडाँडामा फोहोर फाल्न नदिने’ घोषणा गरेका थिए । अहिले उनीहरूकै अगुवाइमा आन्दोलन भइरहेको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार स्थानीयका ‘एउटा समस्या हल गर्नेबित्तिकै अर्को समूह सडकमा उत्रिएर आन्दोलन गर्ने गरेका कारण फोहोर व्यवस्थापनमा समस्या हुने’ गरेको छ ।

यसअघि, ल्यान्डफिल्ड साइटमा रातको समय रोकेर राखेको फोहोर बोक्ने गाडीमाथि आक्रमण भएको थियो । त्यसपछि केही दिन फोहोर उठाउन अवरोध भएकोमा आइतबारदेखि पुनः उठाउन थालिएको थियो ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर बोकेका ट्रक आइतबार काठमाडौं तारकेश्वर नगरपालिका–३ का स्थानीयले नै अवरोध गरेका थिए । ‘खानेपानी मुहानमा फोहोर फालेको’ भन्दै गाडी रोकेपछि बन्चरेडाँडा गएका गाडी रोकिए । फोहोर हटाउने र जनप्रतिनिधि र प्रहरीको सक्रियतामा फोहोर फाल्ने चालक पहिचान गरी कारबाही प्रक्रिया अघि बढेपछि अवरोध हटेको थियो ।

काठमाडौंको अवरोध हटे पनि लगत्तै ककनी गाउँपालिकास्थित कागती गाउँमा गाडीको ठक्करबाट ‘बाख्रा मरेको’ भन्दै आइतबार नै फेरि अवरोध भएको थियो । बाख्रा क्षतिपूर्ति दिने सहमतिपछि सो ठाउँको अवरोध हटे पनि पुनः धुनिवेंशीमा तीन दलको अगुवाइमा फोहोर बोकेका गाडीलाई अवरोध गर्ने काम हुँदै आएको छ ।

एकलौटी हिँड्न खोज्दा समस्या

विभिन्न मागसहित स्थानीयले अवरोध गर्दै आए पनि कतिपय समस्या भने काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘एकलौटी अघि बढ्न खोज्दा’ समस्या उत्पन्न भएको पाइएको छ ।

नगर कार्यपालिका पहिलो बैठकमै फोहोर व्यवस्थापनसम्बन्धी समिति बनाए पनि प्रमुख साहले एकपटक पनि बैठक बसालेर फोहोर व्यवस्थापनमा चासो नदेखाएको पाइएको छ ।

गत २६ साउनमा बसेको नगर कार्यापालिका बैठकमा वडा अध्यक्षहरूले ‘प्रमुखललाई एकलौटी हि“ड्न खोजेको, समन्वय नगरेको तथा समिति बैठक नै नबोलाएको’ भन्दै चर्को विरोध जनाएका थिए ।

वडा १० का अध्यक्ष रामकुमार केसीले ‘प्रमुखले एक्लै हिँड्न खोज्दा समस्या आएको’ भन्दै ‘टिमवर्कमा काम गर्न’ सचेत गराएका थिए । अन्य वडा अध्यक्षले ‘समिति बैठक बसाल्न’ माग गर्दै फोहोर व्यवस्थापन योजना ल्याउनसमेत आग्रह गरेका थिए ।

यसरी बल्झियो समस्या

नयाँ जनप्रतिनिधि निर्वाचित हुँदै गर्दा काठमाडौं उपत्यकाका चोक र सडकमा फोहोर थुप्रो लागेको थियो । महानगरपालिका, सहरी विकास मन्त्रालय, प्रधानमन्त्रीलगायतको चासो र सक्रियतामा स्थानीय जनप्रतिनिधिसँग सम्झौता भएसँगै जेठ अन्तिम सातादेखि फोहोर उठ्न थालेको थियो ।

फोहोर उठाउनेक्रममा ‘सडकमा फोहोर चुहिएको’ भन्दै केही स्थानीयले विरोध जनाए । महानगरपालिकाले फोहोर विसर्जन गर्न लैजानेक्रममा जथाभावी फोहोर चुहाउने तथा खसाउन थालेपछि पुनः समस्या विजारोपण भएको थियो । त्यसपछि विभिन्न स्वार्थ राखेका समूहसमेत सामेल भएको सरकारी अनुमान छ ।

सहरी विकास मन्त्रालयले सम्झौताअनुसार आफ्नो पक्षबाट बाटो निर्माण र मर्मत गर्ने काम भइरहे पनि महानगरपालिकाले ‘दुर्गन्ध हटाउन’ भनेर स्प्रे प्रयोग नगरेको तथा फोहोर खसाउँदै लैजाँदा समस्या आएको जनाउने गरेको छ ।

महानगरपालिका भने स्थानीयका विभिन्न समूह रहेको र आ–आफ्नै किसिमका समस्या राखेर अवरोध गरेकाले समस्या आएको जनाएको छ । प्रमुख साहले त पछिल्ला दिनमा आफूलाई असफल बनाउन फोहोरभित्र फोहोरी राजनीति गरिएको आरोपसमेत लगाउन थालेका छन् । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *