हुन त उनी अर्बपति हुन् तर…

डिसी नेपाल
४ भदौ २०७९ १३:५६
200
Shares

काठमाडौं । न त महँगो उपहार, न क्रेडिट कार्ड, सामाजिक सञ्जालमा पनि केही देखाउँदैनन्। अमेरिकी अर्बपति मार्क क्युबनले आफ्ना छोराछोरीलाई पैसाको घमण्ड नगर्ने गरी हुर्काएका छन् । उनी एक ठूलो अमेरिकी लगानीकर्ता हुन् र शार्क ट्याङ्क मार्फत धेरै स्टार्टअपहरूमा लगानी गरेका छन्। उनको सम्पत्ति ४.६ बिलियन डलर अर्थात ५ खर्ब ८० अर्ब नेपाली रूपैयाँ भन्दा बढी छ ।

उनकी जेठी छोरी १९ वर्षकी एलेक्सिस आफ्नो विदाको समय संसार घुम्न वा रमाइलो गर्न खर्च गर्दिनन् । १६ वर्षको उमेरमा उनले कलेज बिदामा इन्टर्नशिप गरिन्। काम सिकिन् पैसा कमाइन् र आफ्नो मूल्य बुझिन्। त्यसपछि उनले जागिर सुरु गरिन् । हामीकहाँ अर्बपतिकी छोरीले किन जागिर गरेर पैसा कमाउनुपर्यो भनिन्थ्यो होला तर उनले आफैं पैसा कमाउँछिन् ।

मार्कको घरमा बच्चाहरूको हेरचाह गर्न कोही पनि नोकर छैन। हप्ताको १ दिन पनि कुनै घरेलु कामदार आउँदैनन् । तीन छोराछोरीको साथमा क्युबन दम्पतीले आफैं खाना पकाउँछन्। बालबालिकालाई घरको काम र सरसफाई सिकाउँछन् । उनले आफ्ना तीन छोराछोरीले दिनभरि घरायसी कामहरू गर्ने कुरा पनि सुनिश्चित गर्छन्। उनीहरु महँगो होटलमा नभई परिवारसँग घरमै पार्टी गर्छन् ।

जहाँ मानिसहरूले नयाँ मोबाइल, फर्निचर समेत सामाजिक संजालमा देखाउँछन् र धनी भएको नाटक गर्छन्, त्यहीँ क्यूबनकी छोरीको सामाजिक सञ्जाल प्लेटफर्ममा देखिएसम्म परिवारसँगको रमाइलो पल र साथीहरूसँग रमाइलो पलहरू मात्र शेयर गरिएका छन् । मार्क क्युबानले आफ्ना तीन बच्चाहरूसँग टिक-टक भिडियोहरू बनाउन मन पराउँछन् । तर उनका कुनै पनि बच्चाहरूको सोशल मिडिया ह्यान्डलमा उनको ४० मिलियन डलरको निजी जेट, ७ एकडमा बनेको २३ हजार ६७६ वर्ग फुटको दरबार जस्तो घर, स्विमिंग पूल, स्पा बास्केटबल कोर्ट देखिँदैनन् ।

मार्क भन्छन्, ‘म मेरा बच्चाहरूलाई अरूले रिच इडियट भनुन् भन्ने चाहन्न। म र मेरी श्रीमती टिफनी स्टीवर्टले मजदुर वर्गको परिवार जस्तै बच्चाहरूलाई हुर्काउँदै छौं। हामी उनीहरूलाई सहज रहन र पैसाको मूल्य बुझाउन चाहन्छौं। मार्क क्युबन र टिफनी स्टीवर्टले बिल र मेलिन्डा गेट्सबाट बच्चा हुर्काउने धेरै तरिकाहरू सिकेका छन्। गेट्स दम्पतीका दुई छोरी र एक छोरा पनि छन् । उनीहरू पनि घरको काम गर्छन् । खाना पकाउने, परिवारले राति भाँडा आफैं धुने नियम बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *