पाकिस्तानलाई झट्का, भारतविरुद्ध सबैभन्दा सफल बलर एसिया कपबाट बाहिरिए
काठमाडौं । एसिया कप सुरु हुनुअघि पाकिस्तानी टोलीलाई ठूलो झट्का लागेको छ । तीव्र गतिका बलर शाहिन अफ्रिदी चोटका कारण एसिया कपबाट बाहिर भएका छन् ।
श्रीलंकाविरुद्ध गालेमा भएको पहिलो टेस्टमा फिल्डिङ गर्ने क्रममा शाहिनको दाहिने घुँडामा चोट लागेको थियो । यसपछि पछिल्लो स्क्यान रिपोर्टपछि पीसीबीको मेडिकल एडभाइजरी कमिटीले शाहीन अफ्रिदीलाई ४–६ हप्ता आराम गर्न सल्लाह दिएको छ ।
एसिया कप बाहेक शाहिन अफ्रिदीले इंग्ल्याण्डविरुद्धको घरेलु शृंखला पनि खेल्न पाउने छैनन् । तर उनी अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–२० विश्वकप अघि मैदानमा फर्कने अपेक्षा गरिएको छ ।
पीसीबीका चीफ मेडिकल अफिसर डा नजिबुल्लाह सौमरोले भने, ‘मैले शाहिनसँग कुरा गरेको छु र उनी यो खबरले गहिरो विचलित भएका छन् । तर उनी यस्तो साहसी युवा हुन्, जसले आफ्नो देश र टोलीको सेवा गर्न दृढतापूर्वक फर्कने वाचा गरेका छन्। यद्यपि, रोटरडममा उनको पुनर्वासको क्रममा उनले प्रगति गरेका छन्। अब यो स्पष्ट छ कि उनलाई थप समय चाहिन्छ र उनी अक्टोबरमा प्रतिस्पर्धी क्रिकेटमा फर्कने सम्भावना छ।’
नजिबुल्लाहले भने, “पीसीबीको खेलकुद र व्यायाम चिकित्सा विभागले आगामी हप्ताहरूमा शाहिनसँग प्रतिस्पर्धात्मक क्रिकेटमा सुरक्षित फिर्ता सुनिश्चित गर्नका लागि नजिकबाट काम गर्नेछ।” शाहिन आफ्नो पुनर्वास पूरा गर्न टोलीसँग हुनेछन्। एसिया कपका लागि शाहिनको स्थानमा छिट्टै घोषणा गरिने छ । पाकिस्तानी टोली सोमबार (अगस्ट २२) रोटरडमबाट दुबई पुग्नेछ।
गत वर्ष टी–२० विश्वकपमा पाकिस्तानी टोलीको भारतविरुद्धको जितमा शाहिन अफ्रिदीको महत्वपूर्ण भूमिका थियो । सुरुमा शाहिनले रोहित शर्मा र केएल राहुललाई आउट गर्दै भारतीय टोलीलाई दोहोरो झटका दिएका थिए । पछि उनले विराट कोहलीलाई पनि आउट गराए । शाहिन अफ्रिदीको उत्कृष्ट प्रदर्शनका कारण पाकिस्तानले उक्त खेल १० विकेटले जितेको थियो ।
युएईमा अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने एसिया कप २०२२ मा ६ टोलीले भाग लिनेछन् । श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान यसअघि नै प्रतियोगिताका लागि छनोट भइसकेका छन् । यससँगै छैटौं र अन्तिम टोली छनोट प्रतियोगितापछि टुंगो लाग्ने छ । भारतीय टोलीले आफ्नो अभियानको सुरुवात अगस्ट २८ मा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको खेलबाट गर्दैछ ।







डिसी नेपाल







Facebook Comment