तराईमा बन्दको आंशिक प्रभाव

डिसी नेपाल
७ भदौ २०७९ १३:५७

भैरहवा। सरकारसँगको तीन बुँदे राजनीतिक सहमति विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेकाे, एमसीसी, भ्रष्टाचार र महँगीको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिक परेको छ । कार्यकर्ताबाहिर नदेखिए पनि सडकमा बिहानैदेखि सवारीसाधन निकै पाताेलाे चलेका थिए।

बिहानी समूहमा पढाई हुने कलेज विद्यालय बन्द भए भने सार्वजनिक यातायातका सधान पनि न्यून थिए। दिउँसाे सञ्चालन हुने विद्यालय र क्याम्पसमा पनि पठनपाठन भएन। निजी सवारीसाधन जस्तै मोटसाइकल, चारपाङ्ग्रे गाडी फाटफुट चलेका छन् । बन्दको सदुपयोग ईरिक्साले व्यापक रुपमा गरिरहेका छन्।

रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले अहिलेसम्म अप्रिय घटना नभएको र बन्दकर्ता पनि सडकमा नदेखिएको बताए। सैनामैनामा शंकास्पद बस्तु फेला परेको छ। सैनामैना नगरपालिकालिका–११ स्थित कोठी जंगल क्षेत्रअन्तर्गत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो।

रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको एसपी रेग्मीले बताए। उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने एकिन भएको छैन । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई यसबारे जानकारी गराएकाे उनकाे भनाइ छ।

भैरहवाको मिलनचोक, देवकोटा चोक, बुद्धचोक सधैँजसो व्यस्त हुने ठाउँ पनि सुनसान छन्। प्रहरीले समेत सुरक्षा कडा पारेको छ। भित्री सडकहरुमा सवारीसाधन चलेका छन् भने पसलहरू पूर्णरुपमा खुलेका छन्। विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले संयुक्त विज्ञप्ति निकालेर आज नेपाल बन्दको आह्वान गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *