आस्रित जिन्दगी

डिसी नेपाल
११ भदौ २०७९ ८:४५

“कृष्णजी के हो जागिर खान मन छैन के हो, आफ्नो घडी हेर्नु भएको छ, कति बज्यो?” साहुको धम्कीपूर्ण बोलिले कृष्णप्रसादको होस हवास नै उडायो।
“होइन सर, आज घरमा श्रीमती अलि बिरामी परेकीले खाना पकाएर छोराछोरीलाई स्कुल पुर्‍याएर आउनु पर्दा अलि ढिला भएँ सर, सरी भोलिदेखि म समयमा आउने छु।”

साहुजीलाई स्पष्टिकरण दिएर कृष्णप्रसाद लुरुलुरु आफ्नो कार्य कक्षमा लागे। उनको मन भने दिन भरि नै एक तमासले खिन्न भै रह्यो। हिजो अस्ति जस्तै आज काममा पनि जागर लागाउनै सकेनन्।

आज मात्रै होइन कृष्णले सधै जस‍ो केही न केही कुरामा साहुको गाली खाइरहेका हुन्थे। हरेक जसो दिन केहि न केही काम बिग्रिरहन्थ्यो। सानो सानो काममा पनि साहु र साहुनीको गुनासो नसुनेको दिन नै हुन्थेन। कहिले ढिला भयो भनेर गाली खान्थे, कहिले धेरै बिदा मागेको त कहिले तलब पेश्कीको रुपमा मागेको भनेर झपारिरहन्थे।

कृष्णप्रसादले खासै धेरै पढ्न पनि सकेनन्, जेनतेन आइ. ए. सम्मको पढाइ पूरा गरेका थिए। सानै उमेरमा घर व्यबहारमा परे। ओठ माथि जुँगाको रेखी पनि राम्रोसँग बसेको थिएन, घरमा काम गर्ने मान्छे भएन, रोगी आमाको स्याहारसुसार गर्ने मान्छे चाहियो भनेर भर्खरै फक्रन लागेकी फूल जस्ती सानी कोपिलालाई आँगन पोलेर घर भित्राएका थिए कृष्णप्रसादको परिवारले।

घरको जेठो छोरा, पारिवारिक बोझले नथिच्ने कुरै भएन। कृष्णप्रसादले पनि आफ्नो कर्तव्य निभाउने सक्दो कोशिष गरिरहेका थिए। बिरामी आमाको रेखदेख, भाइबहिनीको हेरचाह, त्यसपछि भर्खरै भित्रिएकी श्रीमतीको जिम्मेवारी पनि थपिएको थियो कृष्णप्रसादको थाप्लोमा । अलि पहुँचवाला आफन्तको सिफारिसमा उनले आफ्नो जागिरे जीवन एउटा प्राइभेट कम्पनिबाट शुरु गरेका थिए।

कच्चै उमेरमा जिम्मेवारीको बोझ र दक्षताको कमिले गर्दा राम्रो जागिर पनि पाउन सकेका थिएनन्। अफिसमा पनि उनी पूर्णरूपले जिम्मेवारी बहन गर्न सकिरहेका थिएनन्। यसैले गर्दा बिगत १० बर्षमा यो उनको पाचौं जागिर थियो। उनी एउटा जागिरमा मुस्किलले एक डेढ बर्ष भन्दा बढी टिक्न सक्दैनथिए। अहिलेको जागिर नै थियो उनको अलि लामो समय टिकेको, झण्डै तीन बर्ष पुग्दै थियो जागिर शुरु गरेको पनि।

अहिलेको जागिर उनको लागि उपयुक्त नै थियो, खासै ठुलो जिम्मेवारी थिएन। चाइनाबाट ल्याएको खेलौना बेच्ने होलसेल पसलमा काम गर्थे अहिले कृष्णप्रसाद। चाइनाबाट सामान आइपुग्दाको समयमा अलि बढि कामको चाप हुन्थ्यो, नभए अरु दिनमा खासै ठूलो काम हुदैनथ्यो। आएको सबै सामानको लगत राख्नु, सामान मिलाएर त्यसै अनुसार ट्याग लगाउनु र रिटेल व्यापारीहरु सँग सम्पर्क गरेर समान पठाउने कामहरु नै उनको मुख्य जिम्मेवारी थियो।

काम अनुसार कमाई राम्रो थियो। पहिले पहिलेको जागिरमा भन्दा आम्दानी पनि राम्रो थियो, कृष्णप्रसाद र उनका परिवार पनि खुसि नै थिए। समयसँगै बढ्दै गएको परिवारको गर्जो धान्नलाई खासै गाह्राे  थिएन अहिलेको कमाईले। तर अपर्झट आउने भैपरि खर्च टार्न भने कहिलेकाहि अलि गाह्रै हुन्थो।

कोपिलाले पनि दस नङ्ग्रा खियाएर सानो करेसाबारीमा तरकारीको गर्जो टारेर कृष्णप्रसादलाई सहयोग गर्दै आएकी थिइन्। कमाई धेरै राम्रो नभए पनि पहिलेको जागिरको भन्दा अहिले उनीहरुको जीवन शैलिमा केही सकारात्मक परिवर्तन आएको भने प्रष्ट नै देखिन्थ्यो।

सानासाना भाइ बहिनीहरु पनि अब त ठूला भैसकेका थिए र आफ्नो आफ्नो खुट्टामा उभिएर खाने कोशिष गर्दै थिए। तैपनि घर ब्यवहारको जिम्मेवारी त उस्तै नै थियो, भाइ बहिनी हुर्के पनि तीन जना छोराछोरी सानै थिए।

बुढा बाआमाको जिम्मेवारी त छँदै थियो। घरमा बिरामी कहिले नटुट्ने भैसकेको थियो, कहिले बा बिरामी, कहिले आमा, कहिले छोराछोरी त कहिले बुढी। कृष्णप्रसादलाई त कहिले काहि लाग्थ्यो घरमा बिरामी नहुने त उनी मात्रै हुन कि!

साना साना छोराछोरीको स्कुल फि, जवान उमेरकी श्रीमती, उनीहरुको बढ्दो चाहना, डाडा माथिको घाम हुन लागेका बृद्ध बिरामी बाबा-आमा, जस्ता अनेकन समस्याले सताइरहन्थो कृष्णप्रसादलाई। सायद यस्तै तनाबले होला उनले घरिघरि काम बिगारिरहन्थे।

आज पनि उनी अफिस ढिला आइपुगे, झन हिजोको अर्को गल्तीले साहुको रिसको पारो चढेको थियो। हिजो कृष्णप्रसादले चार-पाच पार्टीलाई सामान ढुवानी गराएर त पठाए तर हतार हतारमा चलानी दिनै बिर्सेछन्। भण्डारमा सामान छैन, कसैलाई दिएको पनि लगतमा देखिँदैन।

कृष्णप्रसाद सम्झन त सक्थे कसले कति लगेको हो भनेर। कागज पनि तयारी नै थियो तर कता राखे फेला पार्न नै सकेनन्। साहुलाइ के चाहियो र। बिहान देखि रिसाइ रहेका उनले बेसरी झपारे, सार्है नराम्रो सँग गाली गरे। त्यसमाथि साहुनी पनि जाइ लागिन, उनलाई कामबाट निकाल्ने सम्मको निर्णयमा पुगे साहु-साहुनी।

आफू सुहाउँदो जागिरबाट निकाल्ने कुरा सुनेर कृष्णप्रसाद एकछिन अत्तालिए। उनले धेरै विन्ती गरे साहु र साहुनीलाई, तर उनीहरु मानिरहेकै थिएनन्। आम्दानी पनि पहिले पहिले भन्दा राम्रो भएकोले कुनै पनि हालतमा यो जागिर छोड्न चाहदैनन् थिए कृष्णप्रसाद। घरमा बिरामी बुढा आमाबुबा, तीन-तीन जना छोराछोरीको लालनपालन, रोगी श्रीमती सम्झेर उनको मन भक्कानिन्थ्यो, छट्पटी हुन्थ्यो।

बारम्बार साहु-साहुनीसँग हात जोडेर माफी मागी रहनुको विकल्प थिएन उनीसँग। केही सीप नलागेपछि साहुको खुट्टा समातेर डाको छोडेर रुन थाले। रुँदैरुँदै आफ्नो सबै कथाब्यथा साहु-साहुनी अगाडि राखेपछि ढुङ्गाजस्तो साहुजीको मन पनि पग्लियो। रसिलो आँखा बनाएर  “लौ त भैहाल्यो यो अन्तिम पटक, अब पनि फेरि गल्ती भएमा माफि नदिने” सर्तमा उनलाई काममा निरन्तरता दिने वाचा दिए।

“साहुको गुण कहिले भुल्न सक्दिन” भनेर एकपटक हात जोडी कृतज्ञता प्रकट गर्दै घर हिडे कृष्णप्रसाद। बाटो भरी मन अमिलो भैरह्यो। आज जागिरबाट निकालिदिएको भए उनको के हाल हुन्थ्यो होला, नयाँ जागिर कहिले पाउने टुङ्गो पनि थिएन। तबसम्म कसरी चलाउने होला घर व्यबहार, यस्तै यस्तै कुरा मनमा खेलाउदै उनी कतिखेर घर पुगे थाहै पाएनन्।

बिरामी कोपिलाले सकिनसकी भात बसालेकी रहिछन् , कृष्णप्रसादले आलु र सागमा झोल हाले। छोराछोरी पढ्दै रहेछन्। ठुली छोरी राधा दौडिदै आएर उनले लेखेको बुबाको बारेमा निबन्ध सुनाउन थाली “बुबा, मेरो बुबा मेरो लागि मेरो सुपर हिरो हो।

उहाँले गर्न नसक्ने काम केही छैन। मेरो बुबाले अफिसमा काम गरेर पैसा कमाउनु हुन्छ र मेरा हरेक इच्छा, मेरा आबश्यकताहरु पूरा गरिदिनु हुन्छ। मेरो बुबा हाम्रो परिवारको मेरुदण्ड हो।

म मेरो बुबालाई धेरै माया गर्छु”….. यस्तै यस्तै के के भनिरहिन् राधाले तर कृष्णप्रसादले राम्रोसँग मेसो पनि पाएनन्, वास्तविकता के हो भनेर। छोरीले भनेको कुरा कसरी सत्य हो, बुझ्नै सकेनन्।

एकातिर छोरी बुबाको बारेमा आफुले लेखेको निबन्ध सुनाउदै थिइन् भने उता पल्लो कोठामा आमा एकोहोरो खोकिरहेकी थिइन्। ‘भोली फेरि के गल्ति हुने हो, कहिले सम्मको जागिर हो यो? जागिर छुटेमा कसरी घरखर्च चलाउने हो?’ यस्तै सोच्दैमा अनुहारको खुशी उडेर गएको थियो कृष्णप्रसादको।

जिन्दगीमा खुशी खोज्दा खोज्दै कतिखेर जिन्दगी नै छुटेछ मेसै पाएनन् कृष्णप्रसादले। आफ्नो खुशीको बलिदानमा परिवारको खुशी देख्न थालेको पनि जुग भएछ अब त। कोपिला पनि हरेक जसो पल विकल्पविहिन भएर टुलुटुलु लोग्नेको मुखमा हेरिरहन्थिन्, लाग्थ्यो उनको जिन्दगीको पनि तेल सकिएको छ।

भान्साकोठामा कोपिलाले खाना पस्किँदै थिइन्। छोरा गनगन गर्दै थियो “आज पनि सागको झोल, खान्न म त भात-सात”। कृष्णप्रसाद पस्केको भातमा एकोहोरो हेर्दै थिए। उनको मानसपटलमा कहिले दिउसो अफिसको घटना त कहिले छोरी निबन्ध आँउथ्यो। कहिले छोराको घुर्की त कहिले बुढी आमाको लगातारको खोकी, चलचित्र जस्तै नाच्दै थियो।

साहु-साहुनीको दिनभरिको वचनले मन त भरिसकेको थियो तर पेट भने खाली नै थियो। नखाउ भने पापी पेटलाई शान्त नपारे भोलि काम गर्न सकिन्न, खाँउ भने पनि मन अघाईसकेको छ। आस्रित जिन्दगी घिसार्नको लागि पनि पेट भर्नै पर्ने।

पर क्षितिजबाट कुकुर भुकेको एकोहोरो आवाजले भान्साकोठाको सान्नाटालाई चिर्दै थियो तर कृष्णप्रसादको मन भने एकतमासले डोरी छिनेको चङ्गा जस्तै उडीरहेको थियो भोलीको सुन्दर परिकल्पनामा। हरेस खान त उनले कहिल्यै सिकेनन्। तर जीत पनि उनको भागमा थिएन तैपनि जिन्दगी त हिडाउनै पर्ने, आफ्नो लागि भए पनि अरुको लागि भए पनि। आखिर खुशी त खुशी नै हो नि जसको भए पनि।

साभार : स्रष्टा साँझ अमेरिका /नेपाल द्वारा प्रकाशित स्रष्टा साँझ अमेरिका रचना अंक -१ २०७९, मा “आश्रित जिन्दगी “




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *