बस्ती बसेको बीस वर्षपछि बिजुली

डिसी नेपाल
१२ भदौ २०७९ १२:२५
68
Shares

गोदावरी। कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ। नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो।

दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन्। खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका छन्। बीस वर्षदेखि नै अँध्यारोमा बस्न बाध्य हुँदै आएकामा अहिले बिजुली बत्ती बलेपछि टोलमा खुसीयाली छाएको मातादेवी नेपालीले बताए।

यसअघि बिजुली नहुँदा गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेकामा अहिले सो बाध्यता हटेको उनले बताए। “बत्ती नहुँदा बर्खायाममा रातिको समयमा सर्प, बिच्छीको डर थियो”, उनले भने, “बिजुली आएसँगै त्यो समस्या समाधान भएको छ, ढुक्कसँग बिजुली बाल्न पाएका छौँ र घरभित्र सुत्न पाएका छौँ ।”

यसअघि पटक–पटक बिजली बत्तीका लागि सम्बन्धित निकायमा धाउँदा पनि मागको सुनुवाइ नभएको स्थानीयको भनाइ छ। विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका सो टोलवासीले पहिलोपटक बत्ती बाल्न पाएको उनको भनाइ छ।

नगरप्रमुख वीरेन्द्र भट्टले चुनावी अभियानका क्रममा बोलेका बाचाहरू आफूले पूरा गरेको बताए। लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका टोलवासीले नगरपालिकाको पहलमा बिजुली बत्ती बाल्न पाएको उनले बताए। सो टोलले बिजुली बत्ती पाए पनि बाटोघाटो र खानेपानीको समस्या भने यथावत छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *