व्यंग्य : सफल र भव्य कार्यक्रम

बलदेव महत
१८ भदौ २०७९ ७:२०

‘आदरणीय जनसमुदायहरु, कृपया धैर्यतापूर्वक बसिदिनु होला, अब केही समयपछि नै हाम्रो कार्यक्रम सुरु हुनेछ। हाम्रा प्रमुख अतिथिज्यू यस कार्यक्रमको लागि प्रस्थान गरिसक्नु भएको जानकारी हामीलाई प्राप्त भएको छ। धन्यबाद।’ उद्घोषकले चौथो पटक माइक समातेर बतायो र राष्ट्रिय गीत बजाएर त्यहाँको माहोल ततायो।

झण्डै दुई घण्टा अघिदेखि चउरमा पँलँटी कसेर र टन्टलापूर घाममा बसेर कार्यक्रम सुरु हुने प्रतिक्षा गरिरहेका बालक, बृद्ध, महिला, बिद्यालय पोशाकमै उपस्थित भएका साना बाल बालिकाहरु, कार्यालयमा ताल्चा लगाएर आएका सरकारी कर्मचारी, आफ्नो पसल र कारोबार बन्द गरेर आएका ब्यापारी, आफ्नो खेतिपातीको काम छोडेर र बस्तुभाउलाई गोठको किलो दाम्लोमा जोडेर आएका किसान, आफ्नो मजदुरी छोडेर उपस्थित गराइएका मजदुर।

बिरामीलाई अस्पतालमा छोडेर उपस्थित भएका डाक्टर र नर्स, यो कार्यक्रमको कारणले बाटो जाम भएर अड्किएका यात्रु, घरको काम लथालिँग छोडेर उपस्थित गराइएका गृहिणी र सर्बसाधारण, केही काम नगरी बरालिएर समय कटाउने र यस्तै कार्यक्रममा गएर जुत्ता फटाउने, अन्य सबै स्थानलाई त्यसै छोडेर सुरक्षाको लागि खटेका र मजबुत सुरक्षा दिन डटेका सुरक्षाकर्मी।

यस्ता भेला सभा जुलुस र्याली जात्रा आदि जस्ता कार्यक्रमहरुमा पानी चटपटे बदाम पानीपुरी काँक्रो फलफूल चुरोट खैनी सुपारी पानपराग गुट्खा बरफ चक्लेट आइसक्रिम पत्रपत्रिका किताब सानातिना खेलौना इत्यादि बेच्न आउने, दलका कार्यकर्ता र स्वयम सेवक, रमिता हेरेर दिन कटाउने, पत्रकार जस्ता सबै कार्यक्रममा आउने र यसैबाट आनन्द पाउने जमात भेला भएर कुरेका निकै लामो समय भइसक्यो।

‘आदणीय जनसमुदायहरु, हाम्रा प्रमुख अतिथिज्यू आइपुग्नै लाग्नु भएको छ। उहाँको आगमन संगै अबिलम्ब हाम्रो कार्यक्रम सुरु भइ हाल्ने छ र यहाँहरुको प्रतिक्षाको घडी पनि छिटै नै गइ हाल्ने छ।’ उपस्थित जनसमुदायतिर फर्केर र अलि ठूलो स्वरमा चर्केर उद्घोषकले फेरि भन्यो।

अगाडि सोफामा बसेका, त्यसपछिको मेचमा बसेका, मेचको लहर सकिएर भुइँमा पँलेटी कसेका, साइडमा र अगाडी पछाडि उभिएका, त्यसै लखर लखर यताउता गरिरहेका आदि सबैले प्रमुख अतिथि आउने भनिएको दिशातिर हेरे। त्यतापट्टी कुनै चालचुल र चहलपहल देखिएन।

अर्को दुई घण्टासम्म लगातार माइकबाट चर्को आवाजमा बजेको मिठो राष्ट्रिय गीतहरु पनि झर्को लाग्दो हुन थाल्यो। कार्यक्रममा उपस्थितहरु भोक तिर्खा र पिसाबले बसेकै ठाउँमा चटपटाउन र आपसमा कुरा गरेर भटभटाउन थाले। एक दुई जना उठेर कुना काप्चातिर लागेको देख्नासाथ अधिकांश मानिसहरु उठे।

कोही नजिकका घरका भित्तातिर, कोही घर पछाडि, कोही नजिकै भएका रुख र झाडीका पछाडि, कोही नजिकै रोकिराखेका बस र गाडीका पछाडि जाने आउने क्रम निकै बेरसम्म चलिरह्यो। यही मेसोमा कोही कोही लुसुक्क आफ्नो बाटो पनि लागे।

बिद्यालय पोशाकमै भएका र के को कार्यक्रममा गएका भनेर पत्तो समेत नपाएका बाल बालिकालाई भने गोठाला लागेर उभिएका शिक्षक शिक्षिकाले उठ्नै दिएनन् र उनीहरुको भोक प्यास र पिसाबको समस्यालाई गम्भिरतापूर्बक लिँदै लिएनन।

चर्को घामले उनीहरुको अनुहार रगत चुहिएला जस्तो रातो भएर कुनै कुनैको त सातो गएजस्तो पनि देखियो। बिहान घरमा कुनबेला के खाएर हिँडेका थिए भोक र प्यासले उभिन न त के बस्न पनि निकै गाह्राे परेको देखिन्थ्यो। उद्घोषकले समय थप्न थालेदेखि पिसाब खप्न नसकेर कतिले बसैकै ठाउँमा छोडिदिइ सके।

मानिसहरु चटपटाएका र धेरै लामो समय कुर्न परेर छटपटाएका देखेर होला राष्ट्रिय गीत बन्द गरेर आयोजकले दोहारी गीत घन्काए। एउटी सिँगारिएकी र दुई तीन जना नसिँगारिएका कलाकारहरु अचानक स्टेजमा नाच्न थाले। भर्खरसम्म आयोजकलाई मनमनै गाली गरिरहेका दर्शकहरु अचानक ताली बजाउन थाले।

दर्शक दिर्घातिर पनि कोही कोही आफ्नो ठाउँमै उठेर नाँच्न थाले। कोही सिठ्ठी फुक्ने, कोही ताली ठोक्ने, कोही कोही माइकमा आएको गाना सँगसँगै गाउने गर्न थाले। एकाएक माहौल फेरियो।

यति लामो समयसम्म दर्शक अड्याउने र प्रमुख अतिथिको अगाडी भिड देखाएर नाक ठड्याउने बुद्धि अलि ढिलै भएपनि आएकोमा आयोजक दंग परे र प्रमुख अतिथि जुनसुकै बेला आएपनि केही फरक पर्दैन भनेर आपसमा कुरा गरे। सबैको भोक प्यास पनि मेटिएको र सबैले खोजेकै कुरो भेटिएको महसुस गरे।

संगीतमा लुकेको शक्तिले धेरैजना झुकेको भनेर सुनिएका किस्साहरु साँच्चै नै हो रहेछ जस्तो आयोजकलाई पनि लाग्यो। अरुलाई पनि त्यस्तै भयो। सबैलाई मनपर्ने लोक भाकाको गीत र संगीतले सबैलाई परेका अप्ठ्याराहरु त्यसै टरेका हुन कि जस्तो भयो।

मानिसहरुले दिल खोलेर मजा लिन सुरु मात्रै गरेका थिए माइक अचानक बन्द भयो। सबैजना एकैचाटी चिच्याए। धेरैले सिठ्ठी फुके। हाहा र हुहु गरेर चिच्याए। कुरो बुझ्दा बिजुलीको लाइन गएको भन्ने भयो। देशमा लोड सेडिङको अन्त्य भयो भन्ने समाचारमा छोटो टिका टिप्पणी गर्न पनि कोही कोहीले भ्याए र तुरुन्त जेनेरेटर चालु गर्न पर्ने बिचार अगाडि ल्याए। जेरेटरको बैकल्पिक ब्यवस्था नगरेकोमा आयोजकबीच भनाभन परेर तानातान हुँदा हुँदै हानाहान नै होला जस्तो भयो। धन्न स्वयम सेबक कडा हुनाले त्यसो हुन पाएन र मारपिट हुने अबस्था आएन।

यही मौकामा दर्शक दिर्घातिर बस्नेहरु उठेर हिँड्लान र प्रमुख अतिथिज्यू आउँदा खाली होला भनेर स्वयम सेबकहरुले चारैतिरबाट घेर्नुको साथै सबैलाई आफ्नो ठाउँबाट नउठ्न तर्साउने स्वर भाषा र शैलीमा अनुरोध गर्न थालेको अनि मानिसहरुलाई उठेर जान नदिन घेरा हालेको देखेर प्रमुख अतिथिलाई खुसी बनाउन आयोजकले चालेको कदमलाई सबैले स्वागतयोग्य ठानेको र स्वयम सेवकहरुको इशारालाई सबैले मानेको देखियो।

यत्तिकैमा बत्ति नगएको र लोडसेडिङ नभएको जानकारी आएकोले यतै कतै तार छिनेको हुनपर्छ भन्ने थाहा भयो। आयोजक तार समातेर यता र उता हेर्न थाले। वायरिङ र माइकको जिम्मा लिएकालाई आयोजकले खाउँला जस्तो गरे। उनीहरु पनि यो समस्याबाट पार पाउन र आयोजकको मारबाट बच्न चुँडिएको तार खोज्नमै ब्यस्त भए।

यत्तिकैमा अलि पर साइरन कराएको सुनेर आयोजक डराएको र उनीहरुको होश हराएको प्रष्ट देखियो। साइरनको आवाज नजिक नजिक आउन थाल्यो। दर्शकहरु कोही उठेर कोही साइरनको आवाज आएतिर मुन्टो मात्रै फर्काएर हेर्न थाले। नभन्दै प्रमुख अतिथि नै आएका र आयोजकको अनुरोधको साथै त्यस ठाउँका जनताको हक हितको लागि त्यहाँसम्म धाएका रहेछन्। कार्यक्रमस्थलको नजिकै आएर प्रमुख अतिथिज्यूको लावालस्कर रोकियो।

अगाडि पछाडि सुरक्षाकर्मीको गाडी त्यसपछि झण्डावाला गाडी, त्यसपछि अरु बिभिन्न खाले गाडी, पछाडि पनि सुरक्षाकर्मी को गाडी गरेर बीस पच्चिस वटा जति गाडीको ताँती देखेर कार्यक्रममा उपस्थित भएका र उपस्थित गराइएका दर्शकहरु त हेरेको हेर्‍यै  भए।

दिइएको समय भन्दा झण्डै पाँच घण्टा पछि टाढैबाट भए पनि प्रमुख अतिथिज्यूको साथै उहाँसँगै आएका र आफ्नो लागि यहाँसम्म दुख पाएका महानुभावहरु र उहाँहरुका गाडीहरु देखेर सबैले लामो पर्खाइलाई बिर्से जस्तो गरे अनि कार्यक्रम भब्य हुनेमा पुरै भर परे। निकै महँगा लुगा लगाएका ठूला ठूला भुँडी भएका आयोजक प्रमुख अतिथिज्यू गाडीबाट ओर्लने ठाउँ नजिकै फूलका गुच्छा लिएर अघि देखिनै लामबद्ध भएर उभिएका थिए।

प्रमुख अतिथिज्यू लामबद्ध सबैले चढाएको फूलमाला र गुच्छा लिँदै र खादा लगाएर धन्यबाद दिँदै बिस्तार मन्चतिर बढ्नु भयो अनि मन्चमाथिनै चढ्नु भयो। माला र खादाले उहाँको नाक आँखा र आधा निधार मात्रै अलि अलि अनि घ्याम्पे भुँडी चाहिँ प्रष्टै देखियो।

आयोजकको भाग्यले गर्दा एउटा मिस्त्रीले तार खुस्केको ठाउँ भेट्यो र लाइन जोडिदिएर सबैको चिन्तालाई मेट्यो। अचानक माइकबाट आवाज आएको सुनेर उद्घोषक, आयोजक र दर्शकको खुसीको सीमा रहेन। दर्शकहरु त ताली बजाएर एकैचोटी कराए।

उद्घोषकले आफ्नो काम सुरु गरिहाले। बत्ती नभएकोले ढिलो गरि प्राप्त समाचार अनुसार प्रमुख अतिथिलाई एकसय किलोको माला पहिर्याउने कार्यक्रम रहेछ। आयोजकहरु पनि कार्यक्रम अनुसार आठ दश जनालाई माला बोकाएर अगाडि बढे। आयोजकहरु मिलेर प्रमुख अतिथिलाई सय किलोको माला पहिर्याए। पहिर्याउनु त के थियो र, प्रमुख अतिथिलाई बीचमा पारेर सबैले मालालाई समाते।

त्यति ठूलो माला भित्र उभिएका प्रमुख अतिथिको अलि अलि गाला र भुँडी मात्रै देखियो। यो अपूर्ब दृश्यको फोटो खिच्नेहरुको भिड लाग्यो। फोटोग्राफरले त्यसै पनि खिच्ने भइहाले। मोबाइलबाट खिच्नेहरुको कुनै कमी भएन। स्टेजमा भएका सबैजना प्रमुख अतिथिको नजिकै टाँसिन आइपुगे। प्रमुख अतिथि मख्ख परेर र ठूलो आनन्द माने जस्तो गरेर उभिइ दिइ राखेको देखेर अलि अलि गर्दै सबैले माला भित्र टाउको छिराएर फोटो खिच्न थाले।

आफ्नो मोबाइल दिँदै फोटो खिचाउने पनि थपिँदै गए। प्रमुख अतिथि नै नदेखिने र भुँडीले मात्रै चिनिने अबस्था आयो। उद्घोषक र आयोजक पनि माला, प्रमुख अतिथि, फोटोको लागि टाँसिन आउने र आफ्नो मोबाइल साथीलाई दिएर त्यहीँ गाँसिन आउनेको लर्को हेरेर निकै चर्को आनन्द लिए झैं गरेर अलमलिँदै उभिइ रहे।

झण्डै आधा घण्टा जति यो क्रम चलेपछि प्रमुख अतिथिका अंगरक्षक मन्च माथि चढेर र अगाडि बढेर प्रमुख अतिथिलाई ठूलो मालाको बीचबाट निकालेर सोफामा बसालेपछि बल्ल बल्ल फोटोको कार्यक्रम सकियो।

फेरि उसैगरि आठ दश जनाले बोकेर सय किलोको माला मन्चबाट बाहिर लगे। मन्चमा बस्ने पनि आ आफ्नो ठाउँमा गएर बसे। अंगरक्षकको सहयोगमा प्रमुख अतिथिले कुमदेखि ढाका टोपीको टुप्पोसम्म भएका माला र खादाहरु फुकाले। सँगै बसेको अर्को अतिथिको सुझाव अनुसार एउटा अलि राम्रो र बास्नादार फूलको माला भने लगाए।

उद्घोषकले बताए अनुसार अब कार्यक्रम सुरु भयो। झण्डै पन्ध्र मिनेट भन्दा बढि समय उनले प्रमुख अतिथिको बयानमा खर्च गरे र यसबाट प्रमुख अतिथि पनि दंग परे। त्यसपछि आसन ग्रहणको क्रम सुरु भयो।

कार्यक्रमको सभापति, प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि, आमन्त्रित महानुभाव, कार्यालय प्रमुख, समाजसेवी, बुद्धिजिवी, राजनैतिक दलका पदाधिकारी र प्रतिनिधि, बिभिन्न भ्रातृ सँगठनका प्रमुख र प्रतिनिधि, बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, बिभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधि, बिभिन्न बित्तीय सँस्थाका प्रतिनिधि, बिभिन्न शैक्षिक संस्थाहरुका प्रतिनिधि, बिभिन्न गैह्र सरकारी संस्थाहरुका प्रतिनिधि, बिभिन्न क्लबका प्रतिनिधि आदि आदि गरेर जानेसम्मका महानुभावलाई उद्घोषकले आशन ग्रहण गराए र अझै पनि कोही छुटेको छ कि भनेर मनमनै डराए।

नाम लिएका र उनले महत्व दिएका कतिपय महानुभाव अघि नै हिँडिसकेका वा उपस्थित नै नभएका समेत देखियो। आयोजकको निर्देशन अनुसार उद्घोषकले हतार हतार आशन ग्रहण गराउँदा करिब डेढ घण्टा मात्रै लागेछ। आशन ग्रहण पछि स्वागत मन्तब्य सुरु भयो। आयोजक मध्येका एकजना महानुभावले स्वागत मन्तब्य सुरु गरे।

आशन ग्रहणमा नाम लिन छुटेका मानिसहरु पालै पालो उठेर हिँडेको देखेर मुख्य आयोजक र उद्घोषकले मुखामुख गरे। स्वागत मन्तब्यवालाले आफ्नो र प्रमुख अतिथिको बयानमै लामो समय खर्च गरेर मन्तब्य टुँग्याए। उनको मन्तब्यमा खासै ताली बजेन। उही मन्चमा बस्नेहरुले मन नलागी नलागी हात प्याट प्याट पारेको र झारा मात्रै टारेको हो कि जस्तो देखियो।

कार्यक्रम अनुसार अब नाँच प्रस्तुत गरिने हुनाले दाँया बाँया बरालिएका मानिसहरु मिल्दो ठाउँमा भरिने क्रम सुरु भयो। मन्चमा नाच्नको लागि कलाकार भेला भए। सिँगारिएर चिटिक्क परेका कलाकार देखेर प्रमुख अतिथि लगायत सबैले फिटिक्क अन्ततिर ध्यान नदिइ नाँच हेर्न थाले।

ठूला ठूला सोफा, टेबल, बोल्नेहरुको लागि दुबै कुनामा राखिएका रोष्ट्रम, ठूला ठूला दुई वटा स्पिकर र अतिथिको लागि केही मेचहरु समेत राखेर बाँकी रहेको साँघुरो ठाउँमा नाँच्ने कलाकारहरुको लागि थोरै ठाउँ मात्र उपलब्ध भएपनि सोफा स्पिकर आदिलाई छल्दै आफ्नो कला देखाए। दुईवटा नाच र एउटा एकल गायन मात्रैको लागि तयारी, उद्घोषकको बयान, प्रस्तुती र मन्चबाट फिर्ता हुँदा अर्को आधा घण्टा जति बित्यो।

यसपछि प्रमुख अतिथिबाट सम्मान कार्यक्रमको पालो आयो। एउटा बिशेष अतिथिले टिका लगाइ दिने, अर्को बिशेष अतिथिले माला लगाइ दिने। प्रमुख अतिथिले सम्मान पत्र दिने र सम्मानितहरुले लिने क्रम चल्यो। सम्मानित हुने मध्ये आधा भन्दा बढी आयोजकहरु नै र एक दुई जना बाहिरका परे।

मन्च साँघुरो भएकोले सम्मान थाप्ने ठाउँसम्म पुग्नै गाह्रो पर्ने, कहिले एउटाको सम्मान पत्र पढेर अर्कैको नाम उच्चारण गर्ने र कहिले सम्मान पत्र लिइ सकेपछि तत्काल फोटो खिच्न र खिचाउन अघि सर्ने गरेर अनुमान गरिएको भन्दा ज्यादै बढी समय लागेको र सम्मान पत्र दिन प्रमुख अतिथिको जाँगर भागेको सबैले महसुस गरे। यसमा त एक घण्टा भन्दा बढि नै समय लाग्यो कि क्या हो भनेर सबैले अन्दाज गरे।

उद्घोषकले बताए अनुसार र कार्यक्रमको माहौल तताए अनुसार अब सार गर्भित मन्तब्यहरुको पालो आयो। प्रमुख अतिथिका अंगरक्षकको पटक पटकको करकाप अनुसार छिटो फर्कन पर्ने कारणले आयोजक मध्येबाट दुईजना जना, सम्मानित मध्यबाट सबैलाई कटाएर र बोल्ने समयसमेत घटाएर एकजना, अतिथि मध्येबाट एकजना, बिशेष अतिथिहरु, प्रमुख अतिथिले बोल्ने र अन्त्यमा सभापतिले धन्यबादसहित आफ्नो बिचार खोल्ने कार्यक्रम उद्घोषक र सभापतिले तय गरे र यसलाई सबैले ठिक मान्नेमा भर परे।

पालै पालो बक्ताहरु बोल्न र मनको कुरा खोल्न थाले। बक्ताहरुले कार्यक्रमको बारेमा थोरै र धेरैजसो आफ्नो र आफूले गरेका कामहरु ज्यादै राम्रो, असरदार, सबैको हितमा भएको अनि आफ्ना बिरोधीले गरेका कामहरु जति सबै उल्टो दिशातिर गएको बताएर उद्घोषकले तोकेको भन्दा दोब्बर भन्दा पनि बढि समय लगाए।

बक्ताहरुले बोल्न थाले देखिनै अलि अलि गरेर मानिसहरु उठेर हिँड्न सुरु गरिसकेकामा आयोजक निकै चिन्तित भएर कार्यक्रम लामो नभएकोले धैर्य धारण गरेर बसिदिन अनुरोध गर्नको लागि उद्घोषकलाई सम्झाइ रहेका देखिन्थे। उद्घोषकले पनि निकै मेहनत गरेर अनेक जुक्ति लगाउँदै बिभिन्न उक्ति सहित दर्शकहरुलाई टिकाउन र भबिष्यमा समेत गतिलो उद्घोषकमा आफूलाई बिकाउन निकै मेहनत गर्दा पनि मानिसहरु जाने क्रम रोकिएन।

मन्चमै बसेका मध्ये पनि एकदुइ जना खुसुक्क उठेर लुसुक्क बाटो लागे। मन्चबाट दर्शक दिर्घा र दर्शक दिर्घाबाट मन्चमा भएको खाली ठाउँ देख्दा दाँत फुक्ले जस्तो देखियो। बिद्यालय पोशाकमा भएका बाल बालिकाहरु भने बेला बेलामा उठेर औँला ठड्याउँदै कराउने शिक्षकहरु देखेर उठ्न र यताउता गर्न डराउने गरेको सबैले अनुभव गरे।

बिभिन्न महानुभावहरुका अत्यन्त सारगर्भित भनिएका स्वयम बक्ता बाहेक अरुले नबुझ्ने भाषण पछि उहाँले यसो भन्नु भयो, उसो भन्नु भयो, उहाँले यो कुरा अथ्र्याउनु भयो र उ कुरा औँल्याउनु भयो भनेर फेरि उद्घोषकले ब्याख्या गरि दिएर प्रष्ट पार्न खोज्दा बक्ताको आशय न भ्रष्ट हुन गइ श्रोताहरु झन अलमलमा परे जस्ता देखिए।

यत्तिकैमा घाम अस्ताए। कार्यक्रम सकिँदा रात नै पर्छ कि भनेर अत्तालिँदै हतार हतार प्रमुख अतिथिज्यूलाई सभापतिले मायाको चिनो र मुख्य आयोजकले उपहार चढाउने कार्यक्रम सम्पन्न भयो। मायाको चिनो खुला भएकोले सबैले देखे। उपहार चाहिँ दुई जनाले निकै मुश्किलसँग बोकेर ल्याएको र बाहिरबाट नदेखिने गरि मजाले र्याप गर्न भ्याएको हुनाले नदेखे पनि गतिलो र गहकिलो सामान नै हुन पर्छ भन्ने सबैको अनुमान रह्यो।

मायाको चिनो र उपहार लिएपछि प्रमुख अतिथिको बोल्ने पालो आयो। उनले जानेसम्म सबैलाई सम्बोधन गर्दै आफ्नो क्षमताको कुरा, आफूले अहिलेसम्म गरेका जति काम इतिहासमै कसैले गर्न नसकेको कुरा, आफ्नो कुर्सी कसैले पनि हल्लाउन नसक्ने कुरा, आफ्ना बिरोधीका कमजोररु, देश र जनताको हित र भलाइमा आफू जति समर्पित अरु कोही नभएको कुरा, आफ्नो पालीमा जति बिकास निर्माण कहिल्यै नभएको कुरा, आफू भन्दा राष्ट्रवादी अरु कुनै ब्यक्ति नभएको, बिधि न्याय पद्धती आदिका धेरै कुरा गर्न भ्याए र अन्त्यमा सबै कामको लागि आफ्नो जय जयकार हुन पर्ने कुरा ल्याए। आजको कार्यक्रमको बारेमा एक शब्द पनि बोलेनन्।

साँझ पर्न लागि सकेको हुनाले मानिसहरु उठेर हिँड्न थालेपछि सभापतिले हतार हतार प्रमुख अतिथि लगायत सबैलाई धन्यबाद दिँदै सभा बिसर्जन गरे। सबैलाई कर गरेर, डर देखाएर र अनेक किसिमका भर पारेर कार्यक्रममा ल्याउने आयोजक प्रमुख अतिथि र आफ्नो खानपिन र सुबिधाको ब्यवस्था तिर लागे। अन्तिमसम्म मन्तब्य सुनेर बसेका सबैजना आफ्नो गन्तब्यमा जान हतारिए र बिद्यालय पोशाकमा भएका भोका प्यासा साना बाल बालिकाहरु भने अँध्यारोमा शिक्षकहरुको पछि पछि लतारिए ।

सबैलाई घर पुग्न अबेला नै भयो। अलि टाढा घर भएकाहरु अनेक बाधा छिचोल्दै आधा रातमा लखतरान भएर घर पुगे। कार्यक्रम के कस्तो रह्यो भन्नु भन्दा पनि आयोजकको भाग्य फल्यो भन्दै प्रमुख अतिथिको कुरा निकै दिन सम्म चल्यो। छोटकरीमा भन्नपर्दा र यो कार्यक्रमलाई अन्यको तुलनामा गन्नपर्दा त्यहाँका जनताले अहिलेसम्म देखेको मध्ये सबैभन्दा भब्य कार्यक्रम भएको भनेर पत्र पत्रिकाहरुमा लेखेको पाइएकोले कार्यक्रम चाहिँ अत्यन्त सफल र भब्य नै भएको सबैको ठहर छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *