प्रकाश चलचित्रले सम्झाएको सेतो भैंसी

झनक कार्की
१८ भदौ २०७९ ९:४८

२०५५ सालको जेष्ठको दोश्रो हप्ता तिरको कुरा हो, म ६ बर्षको थिएँ। साँझ पर्न लागेको बेला आफ्नो मातहतमा भएका बाख्रालाई गोठमा बाधेँ, अनि भोलि पनि तिनै बाख्रासँग जंगल जाने बाचा गरेर घरमा पसेँ।

आँगन पुग्दा नै मिठो बास्ना आयो। घरमा मासु पाक्दैछ भन्ने थाहा पाएँ। सायद आमाले कसौंठीमा मासु भुट्दै हुनुहुन्थ्यो। महिना दुई महिनामा गाउँमा खसी काटिन्थ्यो। खसी काट्ने कुरा हामी जस्ता केटाकेटीलाई पहिल्यै थाहा हुन्थ्यो। हामीलाई एक विसौली मासु चाहिन्थ्यो। तर कहिले काँही मासु पुग्दैन थियो। खाली हात फर्किनु पर्दा मन खिन्न हुन्थ्यो।

घरमा भित्तापट्टि टाँसेर बनाइएको खाटमा २ जना सुकिला लुगा लगाएका मान्छे बसेको रहेछन्। कट्टु र सिंगान सँगै तान्दै नमस्कार गरेँ। उ बेला हाम्रो घरमा आएका हरेक ठूला मान्छेलाई नमस्कार गर्न सकिइएको थियो। म घरभित्र छिर्नासाथ अलि अग्ला जुँगा गज्जबले पालेकाले हत्त न पत्त सोधे,

अनि यी चाहीँ?

यो मेरो साइँलो।

यो प्रश्नपछि बुवाको आँखामा थोरै असहजता अनि अलि धेरै अपेक्षा देखिन्थ्यो। बुवाले अलि अप्ठ्यारो मान्दै जबाफ दिनुभयो। सायद यिनले पहिल्यै केटाकेटी घर परिवारको विषयमा सोधेर हैरान पारिसकेका हुँदा हुन्।

तपाईंले सक्नु भएकै हो सर, यत्रा केटाकेटी हुर्काउनु निकै चुनौतीपूर्ण काम हो। अर्का सुकिला काकाले गहन हुँदै भावपूर्ण शब्दहरु थपे। चुलामा आमा फिस्स मुस्कुराउँदै मासु भुट्दै हुनुहुन्थ्यो। आमालाई पनि ती काकाको शब्दले छोयो होला। दुखलाई काट्ने केही औषधि त कसैका मिठा शब्द पनि त हुन्।

माइलो अघि नै चुलाको छेउमा धुँवासँग लडाईं गर्दै आँखा मिच्दै बसेको रहेछ। केटकेटीपन उसमा पनि देखिन्थ्यो। को हुन यी मान्छे? किन आए होलान्? यिनका परिवार कस्ता होलान्, बाख्रा, गोरु, खेत बारी इत्यादी सबै मेरो मनमा कौतुहलता बनेर खेलिरहेको थियो। मानौं म यिनको सबै कुरा जान्नको लागि अन्तर्वार्ता लिने तयारी गर्दैछु।

खाना खाएपछि आमाले ओछ्यान मिलाइ दिनु भयो। म र माइलोसँगै सुत्यौं। ओछ्यानमा पल्टिएर एक छिन गफ सुनेँ। कस्ता मिठा गफ गर्दै थिए आजका पाहुना! सिराहामा तालिममा जाँदा भएका केही घटनाहरु बुवालाई सुनाए पछि पक्का भयोे यी दुबै शिक्षक नै रहेछन्। मनमा भएका अनेक कौतुहलता मध्ये कुनै एकको उत्तर हात पर्दा मन निकै हलुंगो भयो। अनि मु भुसुक्क निदाएँ छु।

बिहान ७ बजे तिर उठेँ। उठ्ने बित्तिकै आमाले हरेक दिन कुराउनी (दुध तताईसके पछि कुँडेमा बसेको रहलपहल) दिनुहुन्थ्यो। तर आज बिहान उठ्दा आमा पनि देखिनँ। न अरु कोही थिए। न त कचौरामा अरु दिनको जस्तो कुराउनी नै। आज घर कुर्न मलाई राखेर सबै जना काममा हिँडेछन्।

उत्ता चुल्होको छेवैमा मकै र भटमास भुटेर खाजा राखि दिएको रहेछ। केही बेर मकै चपाउँदै हिजोका मान्छे सम्झिँदै बसेँ। पेट टन्नभएपछि बल्ल याद भयो, कोही नभए पनि माइलो त घरै हुन्थ्यो। तर उ पनि आज थिएन। कता गयो चिन्ता थपिँदै गयो। उमेरले उ दाइ भए पनि मैले तँ नै भन्ने गरेको थिएँ। यसमै धेरै मायाँ थियो, अनि सद्भाव पनि।

आज पनि बिहानको काम पूरा गर्न बाख्रालाई हतार हतार खोरबाट निकालेर पाखातिर कुदाइहालेँ। यो मेरो हरेक बिहानको कार्यतालिका नै थियो। वर्षायामको सुरु भएकाले हल्का पानी परेको थियो। चरनमा भएका बाख्राहरु ओसिला देखिन्थे।

म ऐंसेलु खान थालेँ। म ऐंसेलुमा भुल्दा बाख्रा त्यहाँ थिएनन्। बाख्रा मेरा साथी पनि थिए। केही बुट्यानका मुलायम पात, विना स्वार्थ बगिरहको खोलाको आवाज, चराहरुका मिठा आवाज र मालिंगोको सुरिला ढुङग्री मेरा सांगीतिक धुनका लागि सधैं झैँ साधन बन्ने गर्थे। जिन्दगीले हरेक चिजको उपभोग कहीँ न कतै गरेर खुसी तुल्याउने भूमिका खेलेको हुँदो हो, त्यसैले त हरेक चिज प्यारा लाग्ने अनि मिठा लाग्ने।

करिव नौ बजेको हुँदो हो, हिजोको घर आउँदाको घरको माहोल अनि रौनक आज ठिक बिपरित थियो। उदास वातावरण अनि खिन्नताबोध गरेजस्ता घरका सदस्य। केही बेरमा स्कुल जानलाई हतारमा भात खाँदै गर्दा आमालाई सोधेँ।

खोई मेरो आजको कुराउनी?

आमा बोल्नु भएन। उता फर्केर केही बेर टोलाए जस्तो गर्नुभो अनि फेरि हामी पट्टि फर्केर तरकारी चाहिन्छ सोध्नुभो। दिदीले थाल अलि पर धकेली आमा तरकारी थपेर बाहिर पो निस्कनु भो। मेरो हरेक दिन जिब्रोको स्वाद फेर्ने कुराउनी मैले कसरी बिर्सन सकुँ ? कुन मनले चित्त बुझाँउ बिना कारण भाग खोसिएको कुरालाई । सानो होस वा ठुलो खोसिएको वा छुटेका भागको महत्व निकै हुने त्यसैले त उम्केको माछो ठुलो भन्ने भनाई बनेको हुँदो हो ।

माईलोको आँखा रसिला देखेँ, केहि उराठपन पनि । लाग्दै थियो मेरो भागको कुराउनि उसैले दन्कायो अनि रिसाउला भन्ने डरले उ उदास छ । यत्तिकैमा मधुरो स्वरमा बोल्यो अब त सेतो रंगको भैसी देखिँदैन होला है दिदी ?

दिदी बोलिन, मौन बसिरहि सायदै उसलाई पनि त्यहि प्रश्न मनमा खेलिरहेको हुँदो हो । मलाई उत्सुकता जाग्यो कि हाम्रो बाहेक कसैको घरमा सेतो भैंसी नहुने होला । सोधिहालेँ, किन र हाम्रो भैंसिको पाडो सेतो छ, पछि बेचेपछि कसैको घरको सेतो भैंसी भईहाल्छ नि ! उसका गहभरी आँसु थियो उ अझै मौन बन्न खोज्दैथियो तर सकेन । हाम्रो सेतो भैंसी बेचिसके उ बोल्यो ।

हो साँच्चै सेतो भैसी व्यवहारमा पनि सेतै थियो । कसैलाई नहान्ने, फनक्क घुमेको सिङमा हामी पालोपालो बस्दा पिङ खेलेजस्तो लाग्ने, जे पनि घाँस खाईदिने, गमक्क परेको बलियो, जसलाई पनि दुध दिने ओहो बैगुन एकमात्र थियो उसको थाक्ने समयमा थाकिदिन्थ्यो । यति गुनि भैसि अहिलेसम्म मैले देखेको छैन, कताकता सुनेको चाँहि छु ।

मनमा सन्नाटा छायो, जिब्रोमा दुध र कुराउनिका स्वाद लरबरीन थाले मन लामो यात्रामा दौरा सुरुवाल लगाएक हिडेको मान्छेको आदि बाटोमा पुगेपछि सुरुवालको सुता छिने जस्तै गरी चटक्क चुँडियो, खाँदै गरेको भातको स्वाद फेरीयो, अनेक भयो । केटाकेटीलाई यस्तो नहुनुपर्ने हो तर भयो सायद सबैको मन राम्रै चिजमा बढि अडिएको हुँदोहो ।

अब मिठा कुरा गर्दै जुंगा मुठार्ने काका का छोराछोरी हाम्रो सेतो भैंसिको दुध र भरपुर गुणमा रमाउने दिन आईसकेको थियो । रु १३ हजारमा सेतो पाडो सहित बेचिएको भैंसिको दाम्लो छोड्दा माईलोले एक सय रुपैयाँ पाएको रहेछ त्यो सुनेपछि झन मन रोयो, म बिहानै उठेको भए कतै मेरो भाग पर्थ्यो कि ! यहि त होला केटाकेटीपन जे मा पनि लोभ नै हुने, अरु भन्दा आँफै अघि हुनुपर्ने ।

त्यो दिनैभरी मन रोयो, २ कक्षामा पढ्ने सहपाठी सबैले थाहा पाए । सँधै गुणको चर्चा पाएको हाम्रो प्यारो सेतो भैंसी अब हामीसँग थिएन यो कुरामा केहि साथी खुसी भए त केहिले सहानुभूति देखाए। स्कुलबाट फर्केपछि बेलुकि पनि बाख्रा चराउन उहि पाखा गएँ । सँधै हँसिला, खुसिला रुख, बिरुवा, खोला आज निरास नै देखिन्थे लाग्दै थियो यि सबैमाझ पनि सेतो भैसि नभएको हुँदो हो ।

म निकैबेर रोएँ, बरबरी आँसु झरे मेरा । दिनभरी मन थामेको म कोहि कसैको कारणले रहेछ, अनि आन्नद बाँड्ने पो साथीसंगी हुँदारहेछन् तर दुख बाँडने अन्तत प्रकृति हुँदोरहेछ । सबै मान्छे प्रकृति हेरेर एकान्तमा रुँदा हुन् आफ्ना पिडा पोख्दाहुन र सहानुभूति पाएका हुँदा हुन् । हो गुमाएका कुराहरु निकै गतिला अनि प्यारा लाग्दा रहेछन् चाहे त्यो प्रेम होस या मन परेका अन्य चिज ।

केहि दिनमा अझै बढि दुध दिने लाहुरी भैंसी घरमा बुवाले ल्याउनु भयो घ्यू पनि अलि धेरै लाग्छ भनेर आमाले अरुलाई सुनाएको सुन्थेँ र पनि मन खिन्न हुन्थ्यो त्यहि सेतो भैसीको सम्झना आउथ्यो । केवल प्रेम होला बस्तुभाउ सँगको, माया होला उसका राम्रा व्यवहार र गुणको अनि सदैवको नमेटिने सम्झना अझै बाँकि छ त्यो सेतो भैसिको ।

सेतो भैसी बेचेपछि २० वटा भैंसी हाम्रा घरमा आए होलान १५ बर्षदेखि यि हातले काटेका २ मुठ्ठि घाँस कुनै पनि जनावरले खान पाएका पनि छैनन् । त्यो सेतो भैंसी सायदै मनमा नआको पनि निकै बर्ष भएको हो नै ।

सहरीया जिवन बिताउने चक्करमा काठमाडौंको एक कुनामा घोत्रिएको म र म जस्ता धेरैले यस्ता जनावर प्रतिको उ बेलाको माया प्रेम बिर्से पनि होलान् । कुनै कहानीहरु बनाईएका कथाहरु जिन्दगीका धेरै मोड र घुम्तिमा मिल्ने गर्छन्। केहि केहि मात्र आफ्ना कथासँग दाँजिन्छ, तुलना गरिन्छ खुसी भईन्छ अनि दुखी पनि । आज ‘प्रकाश’ चलचित्रमा राखिएको गाईको बाच्छो बेच्दाको भावुकता, खिन्नतापन, नोक्सान अनि आफूले पालेको जनावर प्रतिको माया देख्दा मैले हाम्रो करिब २४ बर्ष अघिको सेतो भैंसी सम्झिएँ, शरीर जिरीगं गर्यो, हातहरु सलबलाए मन गह्रौ भयो सायद धेरैलाई यो चलचित्रमा यस्तै हुँदो हो ।

केहि केहि गुमाईएका कुराहरु राम्रा कथाका पात्र बन्दारहेछन् । गुमाईएका मध्ये प्रेमिल, अविश्मरणिय र सम्झनारुपी सेतो भैंसीलाई जहाँ भएपनि लामो आयुको कामना र प्रकाश चलचित्रका सम्पूर्ण टिमलाई धन्यवाद !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *