आफ्नो १५ महिनाको बच्चालाई बाघको मुखबाट बचाउने बहादुर आमा

डिसी नेपाल
२१ भदौ २०७९ ११:२८

काठमाडौं । यो एक आमाको कथा हो जसले आफ्नो बच्चालाई बचाउनको लागि आफ्नो ज्यानको बाजी लगाइन् र १५ महिनाको बच्चालाई बाघको मुखबाट बचाउन सफल भइन् । यस क्रममा आमा छोरा दुवै गम्भिर घाइते भएका छन् । दुवैलाई राम्रो उपचारका लागि जबलपुरको मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ ।

घटना आइतबार बिहानको हो । अर्चना छोरासँगै मध्य प्रदेशको बाँधवगढ टाइगर रिजर्व नजिकैको रोहनिया गाउँमा आफ्नो घर नजिकैको खेतमा काम गरिरहेकी थिइन् । यसैबीच, एउटा विशाल बाघले झाडीबाट निस्केर उनको बच्चालाई आफ्नो बङ्गारामा समात्यो।

अर्चना नि:शब्द भइन् तर तुरुन्तै उनले आफूलाई सम्हालिन् र आफ्नो छोरालाई बाघबाट बचाउन संघर्ष गरिन्। उनलाई पनि बाघले आक्रमण गरेको थियो ।

यसैबीच कोलाहल सुनेपछि गाउँका मानिसहरू लाठी र डण्डा लिएर त्यहाँ पुगेका थिए । अर्चनाले आफ्नो छोरालाई बाघको बङ्गाराबाट मुक्त गरिन् । त्यसपछि बाघले मानिसहरूलाई पनि आक्रमण गर्न खोज्यो तर गाउँलेहरूले उसलाई भगाए।

१ हजार ५ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँधवगढ टाइगर रिजर्भ वरपरका गाउँमा बसोबास गर्ने गाउँले घटनापछि त्रासमा छन् ।

उनीहरुको गाउँमा केही समयदेखि जंगलको बाघ कहिले दिउँसो त कहिले राती गाउँमा प्रवेश गर्छ । उमरियाकी सिभिल सर्जन डा मिष्टी रुहेलाले बच्चाको शरीरमा लागेको घाउ त्यति गम्भीर नभएको तर आमालाई गम्भीर चोट लागेको बीबीसीलाई बताइन् ।

डा मिष्टी रुहेला भन्छिन्, ‘सामान्यतया जंगली जनावरले आक्रमण गरेका मानिसलाई ‘एन्टी रेबिज इन्जेक्सन’ दिन्छौं, दुवैलाई त्यही दिएका छौं तर महिलाको ढाडमा गहिरो घाउ छ । बाघको पञ्जाका कारण घाउ गहिरो थियो र फोक्सोमा संक्रमण पुगेको थियो।”

सोही मेडिकल सेन्टरका सर्जन डा सैफले घाउ निकै गहिरो भएकाले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै दुवैलाई यहाँबाट १६५ किलोमिटर टाढा रहेको जबलपुर पठाइएको बताए ।

जबलपुरको मेडिकल कलेज अस्पतालमा मिडियालाई प्रवेश निषेध गरिएको छ। अर्चनालाई अस्पतालको आईसीयूमा राखिएको छ, जहाँ कसैलाई जान दिइँदैन ।

अर्चनाका परिवारका सदस्यहरू आईसीयू बाहिर बसिरहेका छन्। अर्चना निको हुन्छिन् र उनको फोक्सोमा भएको इन्फेक्सन छिट्टै निको हुन्छ भन्नेमा सबै ढुक्क छन् ।

पत्रकारहरुसँग कुरा गर्दै मानपुरका उपडिभिजन अधिकृत आर तिरुकुरालले अहिले वन विभागको सबैभन्दा ठूलो चुनौती टाइगर रिजर्भबाट बाटो बिराएर गाउँमा गएका बाघलाई फर्काएर ल्याउनु रहेको बताए ।

उनी भन्छन्, “यसका लागि हामीले धेरै उपायहरू गरेका छौं। हात्ती परिचालन गरेका छौं। वन विभागको पूरै कर्मचारी छन् जो ड्रम बजाइरहेका छन्। आवश्यक पर्दा फायर गर्न सक्ने प्रहरी पनि छन्। हामीसँगबाघलाई बेहोश बनाउन ‘डार्ट गन’पनि छ । बाघ देखिएमा बेहोश बनाएर त्यसको आवतजावतको क्षेत्रमा छाड्न सकिनेछ। यसका लागि ड्रोनको समेत सहयोग लिइएको छ ।’

उमरियाका कलेक्टर सञ्जीव श्रीवास्तवले पनि वन विभागका कर्मचारीसँग छुट्टै बैठक बसेर बाघ आरक्षबाट बाघ ननिस्कने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । यस विषयमा उनले गाउँलेसँग कुरा पनि गरेका छन् ।

बाँधवगढ टाइगर रिजर्भ वरपरका गाउँहरूमा बसोबास गर्ने मानिसहरूको समस्या बाघ मात्रै होइन। यस क्षेत्रमा ४६ जङ्गली हात्तीको बथान पनि घुम्छ, जुन २०१८ मा यहाँ पुगेको थियो। अहिले बाँधवगढ टाइगर रिजर्भ हात्तीको पनि बासस्थान बनेको छ, जसका कारण वरपरका गाउँलेहरुको समस्या झनै बढेको छ ।

‘वाइल्डलाइफ ट्रस्ट अफ इन्डिया’ को रिपोर्ट अनुसार यस आरक्षमा पहिले हात्तीको उपस्थिति थिएन। अहिले हात्तीको बथान गाउँभित्र पसेर बालीमा क्षति पुर्याएको गाउँलेहरुको गुनासो छ ।

जसका कारण वन्यजन्तु र गाउँलेबीचको द्वन्द्व बढ्दै गएको बेला सामाजिक संघसंस्था र वनविभागका कर्मचारीले पनि जंगलमा बस्ने गाउँलेलाई सचेत गराउन ‘रिपिड एक्सन प्लान’ तयार पारेका छन् । यस कार्यका लागि १० गाउँ छनोट गरिएको छ, जसमध्ये मानपुर पनि एउटा हो ।

तर, यति हुँदाहुँदै पनि यी जंगल वरपरका गाउँमा बस्ने मानिसहरू कुन समयमा के हुने हो थाहा नहुने चिन्तामा छन् ।

बाँधवगढ टाइगर रिजर्भ वरपरका गाउँहरूमा जनावरहरूले आक्रमण गर्दा सबैलाई सचेत गराउन र त्यसको प्रतिकार गर्नका लागि मानिसहरूले हरेक रात पहरा दिने गरेको गाउँलेहरू बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *