थिम्फूको ‘टाशीछोजड़्ग’ र जलपाइगुडीकी दिदी

तारा दाहाल
२२ भदौ २०७९ ७:२८

७ सेप्टेम्बर १९९०, धेरै दिन अघिदेखि चर्चा भइरहेको रामझोडामा हुने भनिएको पहिलो एक दिने भोक हडतालको दिन।

अघिल्लो दिन नै त्यहाँ रहेका ठूलाबडा भनाउदा पार्टीका नेता कार्यकर्ताहरूले उर्दी गरेबमोजिम हामी सबै सुकुन्ती क्याम्पमा रहेकाहरु बिहान ५ बजे नै उठेर भारतको पश्चिम बंगाल जलपाइगुडी अन्तर्गत पर्ने रामझोडातर्फ लाइन बद्ध भएर पैदल यात्रा शुरू गर्‍याैं।

म लगायत ५/६ सय जति सुकुन्ती क्याम्पमा बस्थ्यौं भने त्यस्को दोब्बर गर्गण्डामा र त्यति नै संख्यामा दुम्सीपाडामा थिए। हामी एक महिनाअघि प्रजातान्त्रिक आन्दोलनका क्रममा धरपकड अति बढेपछि ज्यान जोगाउन भूटानबाट भागेर भारत आइपुगेका थियौं।

सबैतिरबाट रामझोडाको एउटा चउरमा भेला हुने भूटान पिपल्स पार्टीको योजनाबमोजिम नै हामी त्यसतर्फ लाग्यौं। भोक हडताल भनेकाले केही खाने भन्ने कुरै आएन। पानीसमेत पिउनु हुन्न भन्ने निर्देशन थियो। करीब १-२ घण्टको पैदल हिडाइपछि उक्त चउरमा पुग्यौं । बिहानको ९ बजेतिर मन्चबाट नेताहरूको भाषण शुरू भयो।

जान्ने नजान्ने सबैले पालै पालो भाषण ठोके। भारतका केही नाम चलेका नेता पनि त्यहां आएका थिए। भारतीय नेताहरुको नाम त मलाई सम्झना भएन तर भुट्निश नेताहरुमा तत्कालीन बी पी पी का अध्यक्ष आर के बुढाथोकी, जागिरमान लामा, बलराम पौडेललगायत थिए।

नेताको भाषण सुन्दा लाग्थ्यो अर्को हप्ता नै भूटानमा बहुदलीय प्रजातन्त्र बाहाली हुनेछ अनि त्यही मन्चमा भाषण ठोक्ने नेताहरू थिम्फूको टाशीछोजड़्गमा बिराजमान हुनेछन्।  प्राय सबैले भनेको एउटा हरफ चाहीँ अझै मलाई थाहा छ। “शरीरमा एक थोपा रगत र एक मुठी सास रहेसम्म हाम्रो आन्दोलन जारी रहने छ।”

टन्टनापुर घाम लागेको छ पेट पुरै रित्तै छ पानीसमेत खान वन्देज छ केवल मन्चबाट भाषणमात्र जारी छ। यस्तै गरी पुरै दिन बित्यो। म एउटा १५ बर्षको कलिलो ठिटोले के कति बुझें थाहा भएन तर त्यो दिनको भोक खपाइको पीडा चाहीँ मेरो अनन्त जीवनसम्म यादगार रहने छ। तातो घाम बिस्तारै मलिन हुदै साँझ पर्न लाग्यो र सभापतिले कार्यक्रम समाप्त गर्न पाउदा नपाउदै सबै उठेर आ-आफ्ना क्याम्पतिर लागे।

म त बसेको ठाउँबाट उठ्न नसक्ने भइसकेछु। दोरोखाको मेरो एक जना साथी, तोब्गेबहादुर आएर मलाई उठाए अनि केही खाने? मसग ५ रूपया छ भने। मसँग त साथमा फुटेको कौडीसमेत थिएन। साम्ची हाइस्कुलबाट भाग्दा लगाएको बख्खुसमेत फालेर एउटा टि–सर्ट र हाफ पेन्टमा गर्गण्डा पुगेको बिध्यार्थीसंग पैसा हुने त कुरै पनि भएन।

भोकले आखै नदेख्ने अवस्था थियो। हुन्न भन्ने कुरै आएन । उनैले एउटा चिया पसलमा लगे। पसलमा निम्कीबाहेक अरू केही रहेन छ। त्यही दुइटा निम्कि किनेर दिए। त्यो बोकेर बाटो लागेँ।

नेताको भाषण सुन्दा लाग्थ्यो अर्को हप्ता नै भूटानमा बहुदलीय प्रजातन्त्र बाहाली हुनेछ अनि त्यही मन्चमा भाषण ठोक्ने नेताहरू थिम्फूको टाशीछोजड़्गमा बिराजमान हुनेछन्।  प्राय सबैले भनेको एउटा हरफ चाहीँ अझै मलाई थाहा छ। “शरीरमा एक थोपा रगत र एक मुठी सास रहेसम्म हाम्रो आन्दोलन जारी रहने छ।”

तोब्गे राई आफ्नै क्याम्पतिर लागे । एउटा मात्र निम्की के खाएको थिएँ वाक्वाकी सुरू भयो। दुईपटक बान्ता गरिसकेपछि झाडापखाला सुरू भयो। बाटाको छेउको चिया बगानभित्र पस्तै निस्किदै गर्दै बिस्तारै हिँडे। सबै साथीहरूले छोडिसके। झमक्क रात पर्‍याे। पेट दुखेर हिँड्नै नसक्ने भइसकेको थिएँ।

खाली पेटमा खाएको निम्कीले क्याम्प नपुगिएला कि जस्तो भइसकेको थियो। बाटामा बस्दै हिँड्दै गरेर बल्ल साँझको ९ बजेतिर क्याम्प पुगें। त्यहा पुग्दा खाना अघि सकिएछ। त्यै पनि मलाई खान पटकै मन थिएन। कहिले पुगेर भुईमा लड्ने मात्र थियो। खाली सिमेन्टमा भुईको ओछ्यान लगाएर लडेँ।

जिउ सबै दुखेको छ भुँडी पुरै खाली छ, निन्द्रा आएन। यताबाट उता र उता बाट यता पल्टिन्छु। घरको अनि आमा बाबाको याद खुब आउन थाल्यो । मनभित्र भित्रै धेरै रोएँ। कहाँ गएर फसियोेजस्तो लाग्यो। फेरि दिउँसोको भाषण सम्झिएँ, शरीरमा एक थोपा रगत र एक मुठी सास रहेसम्म हाम्रो संघर्ष जारी रहने छ। संघर्ष भनेको यही रहेछ भन्ने ठानेँ। यस्तै सोच्दा सोच्दै कति बेला निदाएँछु। बिहान उठ्ता घाम लागिसकेको रहेछ।

उठेर केही पर अर्को घरमा रहेको एस यु वि (स्टुडेन्ट युनियन अफ भूटान)को अफिसतिर लागें । केही साथीहरू बाहिर सिकुवामा बसिरहेका रहेछन्। नजिकैको एउटा बेन्चमा बसेँ र एकछिन गफ सुनेँ। अनि मैलेपनि मेरो अघिल्लो दिनको कहानी सुनाएँ र दुई दिनदेखि केही नखाअको जानकारी गराएँ। त्यस दिनको खानाको लागि बेलुका ३-४ बजे सम्म कुर्नुको बिकल्प थिएन।

यतिकैमा घर भित्रबाट एक जना दिदी बाहिर निस्कनु भयो र सिधै म भए ठाउँ आउनु भयो। छेउमा आएर “भाई यता आऊ त” भनेर मलाई आफ्नो किचनतिर लानु भयो। उहाँले मैले साथीहरूसँग गरेको कुराकानी पुरै सुन्नु भएछ।

किचनभित्र लगेर एउटा काठको पिड्कामा बस्न लगाउनु भयो र आफ्ना श्रीमानलाई राखेको चार वटा सुख्खा रोटी, एक बटुको सब्जी र एककप मिठो चिया दिनु भयो। अचानक मैरा आँखा रसाए। मैले ती दिदीमा आमाको प्रतिविम्व देखेँ।

दिदीको आँखाभरी आँशु छचल्किरहेको थियो। “बिचरा मेरो सानु भाइजस्तै, यति सानो बालक किन घर छोडेर हिँडेको ? घर कहाँ हो अनि तिम्रो घरमा को को छन नि?” भनेर सोध्नु भयो । त्यो प्रश्नले अनि दिदीको अनुहारले मलाई झन भावुक बनायो। मेरी ठुली दिदी नै सम्झेर सबै बेली बिस्तार लगाएँ। त्यतिन्जेलमा खाई पनि सकें।

दुई दिन पछि खाएको त्यो खानाले पेट त अघायो नै तर मेरो जीवन भर एउटा कहिलै नबिर्सिने उर्जा भएर रह्यो । किचनबाट निस्किदै गर्दा “भाइ, तिमीलाई फेरि पनि कुनै सारो गारो पर्‍याे  भने आफ्नै आमा र दिदी सम्झेर मलाई भन है” भन्दै अरू दिनको लागि पनि ढोका खुला गर्दिनु भयो तथापि फेरि पनि म दुःख बिसाउदै गइनँ।

जलपाइगुड़ीको सुकुन्तीमा बस्नु भएकी ती दिदी अहिले कस्तो हुनुहुन्छ? त्यस दिनदेखि यता कहिलै भेटेको छैन। उहाँ र उहाँको परिवारलाई भगवानले सँधै कल्याण गरून्। धन्यवाद।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *