उदारवादी गोर्वाचेभ जसलाई मृत्युपछि पनि कम्युनिष्टले गाली गरे

कपिल लोहनी
२३ भदौ २०७९ ७:५८

जन्म : २ मार्च १९३१, मृत्यु : ३० अगस्त २०२२, ९१ वर्ष। जोसेफ स्टालिनको कठोर शासनको बेला रुसको एउटा गाउँमा एक किसान परिवारमा जन्मेका मिखाइल गोर्वाचेभको परिवार स्टालिनकै विचार मुताविक बनेको ग्रामीण सामूहिक कृषि अवधारणा अन्तर्गतकै उद्यममा संलग्न थियो।

बाल्यकालमा गोर्भाचोभले भयानक अनिकालका कारण आफ्ना काका-काकी मरेका र राजनीतिक शुद्धिकरणको नाममा धरपकड चलिरहेकोले कम्युनिष्ट पार्टीकै सदस्य रहेका आफ्ना आमा र बाबुपट्टिका बाजेहरू गुलागजस्तो भयानक श्रम शिविरमा चलान भएका र पछि भाग्यले छुटेर फर्केका दृश्य पनि आफ्नै आँखाले देखेका थिए।

दोस्रो विश्वयुद्धताका सन् १९४२ मा जर्मनीले रुसलाई हमला गर्दा उनका पिता पनि लालसेनाको सिपाही भएर आफ्नो मातृभूमिको रक्षामा खटिएका थिए। स्टालिन एक कठोर व्यक्ति भएता पनि दोस्रो विश्वयुद्धताका जर्मनीले हमला गरेर रुसी इतिहास, साहित्य, संस्कृति र कलाका सामग्री ध्वस्त पार्न नपाउन् भनेर युद्धभूमिबाट त्यस्ता सामग्री अन्तै स्थानान्तरण गर्न लगाएका थिए।

दोस्रो विश्वयुद्धको समाप्तिसँगै आफ्नो पढाइ पुनः थालेका गोर्भाचोभले सोभियत युवा राजनैतिक संगठनको स्थानीय तहको सदस्यता लिएर राजनीतिमा प्रवेश गरे। यसको साथसाथै बिदा र सप्ताहान्तको बेला गाउँको सामूहिक कृषिमा पिताका साथमा संलग्न भए र राम्रो फसल उब्जाएको कारण सरकारबाट प्रतिष्ठित पदक समेत पाए।

यही पदक र मजदूर-किसान परिवेशको व्यक्ति भएको कारणले पनि १९ वर्षीय उनले मस्को स्टेट युनिभर्सिटीजस्तो गौरवशाली विश्वविद्यालयमा सजिलै कानुन संकायमा भर्ना पाए। राजधानीमा अध्ययन गर्न थालेपछि गोर्भाचोभले कम्युनिष्ट पार्टीको पूर्ण सदस्यता पनि लिए।

उनलाई अन्य विद्यार्थीहरूको कृयाकलापको निगरानी गर्ने जिम्मा समेत दिइएको भएता पनि उनले कहिल्यै पनि सुराकीको काम गरेनन्। सानैदेखि उदारवादी विचार बोकेका गोर्वाचोभलाई साथी तथा पार्टीका नेताहरूले पनि निक्कै रुचाउँथे।

दोस्रो विश्वयुद्ध पश्चात अमेरिका र पश्चिमी युरोप पुँजीवादी सिद्धान्तलाई बढावा दिने कार्यमा निक्कै सकृय हुन थाले भने रुस र पूर्वी युरोप साम्यवादी सिद्धान्तको पक्षमा खडा भए । यसरी बिस्तारै अमेरिका र रुसको नेतृत्वमा पूँजीवाद र साम्यवादको पक्षमा विश्व शीतयुद्धमा फस्न थाल्यो।

पश्चिमा राष्ट्रले नेटोको स्थापना गरे भने साम्यवादी राष्ट्रहरूको संस्था वार्सा प्याक्ट पनि सकृयताका साथ अघि बढ्न थाल्यो। यी दुवै शक्ति राष्ट्रबीच हर मामलामा प्रतिस्पर्धा हुन थाल्यो। परमाणु बम, मिसाइल, सैन्यबलदेखि अन्तरिक्ष अन्वेषण र उद्योगधन्दा तथा आर्थिक विकासमा तिव्र प्रतिस्पर्धा।

सर्वहारा वर्गको अधिनायकत्वको लागि नेतृत्वदायी भूमिका खेलिरहेको रुसले विश्वभरका गरिव कम्युनिष्ट मुलुकहरूको जिम्मा लिएर तिनको विकास र सुरक्षाको निम्ति आफ्नो आम्दानीको ठूलो हिस्सा खर्च गर्नुपर्ने भयो भने सम्पन्न राष्ट्रहरूको नेतृत्व गर्ने अमेरिका आजसम्म पनि तिनको सुरक्षाको मसिहा बनेर सैन्य सामग्रीको निर्यातबाट नै खर्बौँ डलर वर्षेनी आफ्नो मुलुकमा भित्र्याउँछ।

उनका सुधारवादी कदमहरू यति तिव्र गतिमा अघि बढ्न थाले कि, उनको हातबाट सोभियत गणराज्यहरू तथा कम्युनिष्ट प्रणाली र पूर्वी युरोपको पकड सबै क्रमशः फुस्कँदै गए र आखिर सोभियत संघको पतन नै हुन गयो।

त्यसमाथि लेनिनजस्तो दुरदर्शी नेता रुसले पछि नपाएकै कारण र समयसापेक्ष सुधारका उपाय अवलम्बन नगर्नाले रुसको आर्थिक र राजनैतिक अवस्था जर्जर हुँदै गयो। उदारवादीमा गनिएका ख्रुस्चेभको शासनकालमा उनले विभिन्न औद्योगिक प्रतिष्ठानहरूको भ्रमण गर्दा के पाएछन् भने, संघीय सरकारले दिएको लक्ष्य प्राप्तिका निम्ति सामानको उत्पादन भएर लक्ष्य प्राप्ति चाहिँ हुने तर तिनीहरू मध्ये आधा पनि काम लाग्ने अवस्थाका नहुने।

ख्रुस्चेभले कम्युनिज्म भित्रका यस्ता विकृतिलाई हटाएर अर्थतन्त्रमा सुधारका साथै समाजलाइ अलिक खुला गर्न केही उदारवादी कदम चाल्न खोज्दा उनी नेपालका देवशमशेरजस्तै छिट्टै सत्ताबाट बाहिरिन वाध्य हुन परेको थियो।

तर सन् १९८० को दशकमा विश्वको परिस्थिति निक्कै बदलिइसकेको र त्यही पुरातन र कठोर शासनले जनतालाई समृद्ध बनाउन नसक्ने अवस्था आइसकेको तथा यही समयमा रुसमा तीनजना वृद्ध तथा कट्टरपन्थी राष्ट्राध्यक्षहरूको शासनमा छँदै निधन भएकोले युवा तथा उदारवादी नेता मिखाइल गोर्वाचोभले रुसको शासनको वागडोर सम्हाल्ने अवसर पाए।

पूर्वी युरोपका राष्ट्रहरूमा साम्यवादप्रति वितृष्णा फैलँदै गएको तथा आफ्नै मुलुकभित्रका गणराज्यहरू स्वतन्त्र हुन खोजेको र मुलुकको आर्थिक स्थिति ज्यादै नाजुक मोडबाट गुज्रिरहेको बेलामा गोर्भाचोभको लागि सुशासन ल्याउन त्यति सहज वातावरण थिएन। त्यसमाथि अमेरिका र नेटोसँगको शीतयुद्ध चरम उत्कर्षमा पुगेको समय थियो त्यो।

सन् १९८५ मा सोभियत संघका राष्ट्रपति बनेका मिखाइल गोर्वाचेभको ठाउँमा अरु नै कोही कठोर व्यक्ति राष्ट्रपति भएको भए पनि स्टालिन वा ब्रेजनेभले जस्तो कडाइका साथ शासन गरेर सफलता पाउने समय थिएन त्यो। त्यसैले होला उदारवादी गोर्भाचोभले आफू सत्तामा आउने वित्तिकै ‘ग्लासनोस्त’ र ‘पेरेस्त्रोइका’ यानी सरल भाषामा भन्नु पर्दा सरकारी काम-कार्वाही तथा सूचना प्रवाहमा खुलापन र आर्थिक र राजनीतिक सुधारका नारा लगाउन थालेका।

तर उनका सुधारवादी कदमहरू यति तिव्र गतिमा अघि बढ्न थाले कि, उनको हातबाट सोभियत गणराज्यहरू तथा कम्युनिष्ट प्रणाली र पूर्वी युरोपको पकड सबै क्रमशः फुस्कँदै गए र आखिर सोभियत संघको पतन नै हुन गयो।

वास्तवमा सन् १९७९ मा ब्रेजनेभको शासनकालमा नै पेरेस्त्रोइकालाई संस्थागत गर्न खोजिएको थियो। हातले थिचिरहेको स्प्रिङलाई एकैचोटी छोड्दा जसरी त्यो बेकाबु भएर यत्रतत्र उफ्रिन्छ, त्यसैगरी सोभियत संघको पकडबाट पूर्वी युरोप फुत्कन सफल भयो भने सोभियत संघको विघटन समेत हुन गएर १५ स्वतन्त्र राज्यहरूमा टुक्रिन पुग्यो। बोल्सेभिकहरूको विशाल अक्टोबर क्रान्तिमार्फत ल्याइएको साम्यवादी शासन प्रणालीसमेत क्षणभरमा धरासायी हुन पुग्यो भने विश्वमा नै साम्यवादको पतन र प्रजातन्त्रको लहरको थालनी भयो।

रुसको पतन देखेर नै चीन, भियतनाम तथा अन्य साम्यवादी मुलुकहरूले आर्थिक विकास र समृद्धिमा बढी जोड दिएर राजनीतिलाई नियन्त्रित रूपमा खुला गर्दै गएकाले आज उनीहरू निक्कै सफल भएका छन् र आज पनि साम्यवादलाई जीवन्त राख्न सकेका छन्।

आज यी मुलुकहरू साम्यवादबाट टाढा पुगिसकेको टिप्पणी गर्नेहरूको संख्या धेरै भएपनि पूँजीवादमा जस्तै साम्यवादमा पनि यी मुलुकले समयसापेक्ष सुधार गर्दै गएकाले नै आजसम्म पनि यिनीहरूले साम्यवादलाई टिकाएर राख्न सफल भएका छन्। वास्तवमा प्रजातन्त्र नै मात्र पनि विकासको सेतु होइन।

सीमित प्रजातन्त्र भएका सिंगापुर, मलेशिया, इन्डोनेशिया र पहिलेको दक्षिण कोरिया, टर्की, पाकिस्तान, इजिप्ट जस्ता मुलुकले पनि आर्थिक विकासमा ठूलो फड्को मारेका छन् भने नेपाल लगायत खासगरी कैयन् एशियाली, अफ्रिकी र ल्याटिन अमेरिकी प्रजातान्त्रिक मुलुकहरूको विकासमा चाहिने भन्दा ज्यादा खुलापन हुनाले पनि प्रजातन्त्र नै विकासको वाधक भएर उभिएको अवस्था छ।

त्यसैले होला उनको मृत्युको खवर प्रसार भएपछि अमेरिका, युरोप र विश्वभरका मुलुकका राष्ट्राध्यक्ष तथा नेताहरू र संयुक्त राष्ट्र संघका महासचिवले उनको योगदानको तारिफ गर्दा पनि रुसी कम्युनिष्ट पार्टीका प्रमुख गेन्नाडी ज्युगानोभले भने उनलाई निराशा, दुर्भाग्य र समस्या ल्याउने नेताका रूपमा चित्रण गरे।

करिव ६ वर्षको शासनकालमा मिखाइल गोर्भाचेभले विश्व शान्तिका लागि निक्कै ठूलो प्रयास गरेर अमेरिका तथा पश्चिमा राष्ट्रहरूसँगको सम्बन्धलाई सुधार्न ठूलो योगदान गरे भने पूर्वी युरोपमा भड्कन थालेको व्यवस्था विरोधी जनक्रान्तिलाई दवाउन उनले नचाहेकाले पनि ती मुलुकहरूमा शान्तिप्रिय तवरले परिवर्तन आउन सक्यो।

सोभियत गणराज्यहरू तथा रुसभित्रकै विरोधी आवाजहरूलाई समेत उनले शैन्यबल प्रयोग गरेर दबाउन चाहेनन्। यस्तै शान्तिगामी कार्यको लागि उनलाई सन् १९९० को नोवेल शान्ति पुरस्कार पनि प्रदान गरिएको थियो ।

तर उनको आफ्नै मुलुकमा र साम्यवादले जरो गाडेका नेपालजस्ता अन्य मुलुकहरूमा भने उनी आजसम्म पनि एक खुँखार खलनायकका रूपमा हेरिन्छन्। त्यसैले होला उनको मृत्युको खवर प्रसार भएपछि अमेरिका, युरोप र विश्वभरका मुलुकका राष्ट्राध्यक्ष तथा नेताहरू र संयुक्त राष्ट्र संघका महासचिवले उनको योगदानको तारिफ गर्दा पनि रुसी कम्युनिष्ट पार्टीका प्रमुख गेन्नाडी ज्युगानोभले भने उनलाई निराशा, दुर्भाग्य र समस्या ल्याउने नेताका रूपमा चित्रण गरे।

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने गोर्भाचेभलाई विश्व इतिहासमा निक्कै ठूलो प्रभाव पारेका राजनेता भनेर तारिफ गर्नुका साथै उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली समेत अर्पण गरे र उनलाई राज्यका महत्वपूर्ण व्यक्तिहरूका लागि छुट्याइएको चिहानमा राजकीय सम्मानका साथ समाधिष्ट गरे।

गोर्भाचेभकै प्रयासले विश्वमा शीतयुद्धको समाप्ति भएको र संयुक्त राज्य अमेरिका तथा नेटोले जर्मनीबाट पूर्वमा आफ्नो संगठन विस्तार नगर्ने प्रतिवद्धता जनाएकाले तथा यस विषयमा रुससँग सन्धि समेत गरेका भएर नै वार्स प्याक्टको खारेजी हुनुका साथै रुसले सैन्य होडवाजीबाट पछि हटेको थियो।

तर छिटै आफ्नो प्रतिवद्धता भङ्ग गर्दै आज पनि नेटोले आफ्नो पखेटा फिँजाउँदै पूर्वसाम्यवादी युरोपीय मुलुकहरूका साथै युरोपका अन्य मुलुक र सोभियत संघबाट अलग भएका मुलुकहरूलाई पनि नेटोमा आवद्ध गर्न खोजेको तथा रुस लगायत चीन र अन्य नव सैन्य र आर्थिक शक्ति राष्ट्रहरूलाई काबुमा राख्न अनेकन् हथकण्डा अपनाउन थालेकाले नै हाल पुनः नयाँ शीतयुद्धको प्रारम्भ हुने खतरा बढ्दै गएको छ।

आजको यस परिस्थितिमा शान्तिको सन्देश लिएर अर्का गोर्भाचोभ विश्वको जुनसुकै शक्ति राष्ट्रबाट निस्के पनि विश्वले फेरि शान्तिको सास फेर्न पाउने थियो। यस अर्थमा पनि मिखाइल गोर्भाचोभमा हार्दिक श्रद्धाञ्जली छ।

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *