प्रहरीले भन्यो- ‘बच्चा चोर’को हल्लामा कुनै सत्यता छैन

डिसी नेपाल
२४ भदौ २०७९ १३:२९

बारा। बाराको निजगढ नगरपालिकामा ‘बच्चा चोर’ को हल्लामा कुनै सत्यता नरहेको प्रहरीले जनाएको छ। पछिल्लो समयमा सामाजिक सञ्जालमा रौतहट, पर्सालगायत तराई मधेशमा भारतबाट आएका मानिसहरूको समूहले बच्चा चोर्ने गरेको र प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही गरेको भन्ने खाले भिडियो तथा तस्बिरहरू भाइरल भइरहेको छ।

विशेषगरी सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भारतबाट देशका विभिन्न सहरहरूमा समूह नै बनाएर मानिसहरू आउने, कतिपय पुरुषहरू महिलाको भेषमा आउने र बच्चाहरूलाई खानेकुरा दिएर फकाउने गरेको भन्दै भिडियो र फोटोहरू पोष्ट गरिएका छन् । ती पोष्टहरु धेरै मात्रामा सेयर पनि भइरहेको छ।

तर, निजगढ प्रहरीले भने ‘बच्चा चोर’ को बिगिबिगी केबल हल्ला मात्र भएको बताएकाे छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी प्रमुख प्रहरी निरीक्षक संजिव ओलीले भने, ‘स्थानियले बच्चा चोरको आरोपमा समातेर प्रहरीलाई बुझाएकाहरूको अनुसन्धान गर्दा त्यस्तो केही नपाइएको बताउँछन्।’

उनका अनुसार बिहीबार निजगढ नगरपालिका ८ बाट स्थानीयले बच्चा चोरी गर्न लागेको आरोपमा पक्राउ गरेपश्चात प्रहरीमा बुझाएका उनी सोही क्षेत्र वरपर केही दिनदेखि मागेर हिँडिरहेका व्यक्ति थिए।

प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्दा बच्चा चोरी गर्ने कुनै नियत नदेखिएको बताएको छ।

‘यस्ता विषयमा नागरिक सचेत हुनु एकदमै राम्रो हो,’ निरीक्षक ओलीले भने, ‘तर धेरै सशंकित भएर कसैलाई आक्रमण गर्दा अर्को दुर्घटना हुन सक्छ। त्यसैले शंकाको भरमा कसैलाई कुटपिट नगर्न र आवश्यक परे प्रहरीलाई खबर गर्न आग्रह गरे।’

‘बच्चा चोर’ को आरोपमा प्रहरीमा बुझाइएका र स्थानीयले कुटपिट गरेका अधिका‌ंश व्यक्तिहरू मागेर खाने, मानसिक सन्तुलन ठिक नभएको प्रहरीको भनाइ छ।

‘बच्चा चोर’ को आरोपमा नौलो मानिसहरूलाई समात्ने, कुटपिट तथा दुर्व्यवहार गर्ने प्रवृत्ति छिमेकी जिल्लामा बढेपछि त्यसतर्फ नागरिक सचेत हुनुपर्ने स्थानीयको भनाइ छ। अनायसै शंकाको भरमा कसैलाई कुटपिट या दुर्व्यवहार गर्न नहुने संचारकर्मी प्रल्लाद शर्माको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *