ओखलढुंगामा गठबन्धनबाट कांग्रेस नेता रामहरि खतिवडा उम्मेदवार हुने निश्चित

कांग्रेसकै सहजताका लागि राम कार्की माओवादीबाट सिफारिस

डिसी नेपाल
२९ भदौ २०७९ १०:३२

काठमाडौं। आसन्न मंसीर ४ को निर्वाचनमा ओखलढुंगामा गठबन्धनकै दलबाट रामहरि खतिवडा र राम कार्की दुबै जना सिफारिस भएका छन्। कार्की माओवादीबाट र खतिवडा कांग्रेसबाट सिफारिस भएका हुन्।

निर्वाचनको मिति नजिकिएसँगै एकमात्र निर्वाचन क्षेत्र भएको ओखलढुंगामा सत्ता गठबन्धनका दुबै नेताको दाबेदारीको चर्चा हुँदा टिकट वितरण सकसपूर्ण हुने अनुमान गरिएको छ। दुबै नेताहरुका आ-आफ्ना पार्टीले गरेको सिफारिसका कारण ओखलढुंगामा यसपालीको निर्वाचनमा सिट बाँडफाँट निकै पेचिलो बन्ने देखिएको हो।

माओवादीका सचिव राम कार्की यस अघि झापा-१बाट निर्वाचित भएका हुन्। तर हालको निर्वाचनमा झापा-१ मा गठबन्धनकै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दाबी गरेका छन्।

गत २०७४ को निर्वाचनमा कांग्रेस महामन्त्री शर्मालाई कार्कीले पराजित गरेका थिए। शर्मा कार्कीसँग ३६ सय मतान्तरले पराजित भएका हुन्। कार्कीले ३६ हजार १ सय ७३ मत ल्याएर विजयी भएका थिए।

शर्माको मत ३३ हजार ३ सय १० रहेको थियो। यसपटकको निर्वाचनमा झापा-१ शर्माले नछाड्ने अडान जाहेर गरेसँगै कार्कीलाई निर्वाचन क्षेत्र परिवर्तन गर्ने बाध्यता आइलागेको हो।

गत २०७४को निर्वाचनमा ओखलढुंगामा एमालेका नेता यज्ञराज सुनुवारसँग खतिवडा पराजित भएका हुन्। गत निर्वाचनमा पाँच हजार मतान्तरले पराजित भएका थिए। एमालेका सुनुवारले ३२ हजार ५सय ८० मतसहित विजयी हुँदा खतिवडाले २७ हजार ३ सय २७ मत ल्याएका थिए।

गएको निर्वाचनमा एमाले माओवादी गठबन्धनका कारण आफू पराजित भएको बताउँदै आएका खतिवडा यसपाली कुनै हालतमा उक्त क्षेत्र नछाड्ने दाबी गरेका छन्।

माओवादी नेता कार्की र खतिवडा दुबै गठबन्धनका शिर्ष नेता निकट रहेकाले गठबन्धनले कसलाई दिने हो अझै टुंगो लागेको छैन। दुबैका दाबी यथावत रहेको चर्चा छ। नेता कार्की माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटस्थ मानिन्छन्। अर्का खतिवडा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।

कांग्रेसको १४ औं महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा उल्लेख्य मतले पाँचौ स्थानमा ंनिर्वाचित भएका खतिवडा देउवाका विश्वासपात्र मानिन्छन्। उनले देउवाकै जोडबलले ओखलढुंगामा टिकट हात पार्ने आँकलन कांग्रेस वृत्तमा गरिन्छ।

माओवादी नेता कार्कीलाई पनि उनको पार्टी अध्यक्ष प्रचण्डको साथ रहेको बताइन्छ। पार्टीभित्र अध्ययनशील र वैचारिक नेताको छवी बनाएका कार्कीलाई प्रचण्डले दवाब दिए आखलढुंगाबाटै टिकट हत्याउन सक्ने समेत चर्चा हुने गर्दछ।

के भन्छन् कांग्रेस नेता रामहरि खतिवडा ?

कांग्रेस नेता खतिवडाले ओखलढुंगा कांग्रेसले नछाड्ने् दाबी गर्दछन्। उनले आखलढुंगामा स्थानीय तहको निर्वाचनले कांग्रेसको जनमत बलियो देखिएकाले कांग्रेसबाहेक अरुको संभावना नरहेको बताए।

‘ओखलढुंगामा कहिल्यै नटेकेको राम कार्कीले दाबी गर्नुहुन्छ जस्तो मलाई लाग्दैन। ओखलढुंगा कांग्रेसले छाड्दैन गएको स्थानीय निर्वाचनमा आठ वटा स्थानीय तहमध्ये पाँच वटा प्रमुखमा कांग्रेसले जितेको छ। एउटामा माओवादीसँग गठबन्धन गरेर उपाध्यक्ष जितेका छौं यसर्थ अब गठबन्धनको मर्म अनुरुप संघ र एउटा प्रदेश कांग्रेसले लिने अर्को प्रदेश माओवादीलाई दिनेगरि गृहकार्यमा जुटेका छौं,’ उनले डिसी नेपालसँग भने, ‘ओखलढुंगामा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र बालकृष्ण खाड आउने हो भने छोड्न तयार छु नत्र कांग्रेसबाहेक अरुलाई कुनै हालतमा यहा छोड्ने संभावना छैन।’

ओखलढुंगा कांग्रेसले कुनै पनि शर्तमा नछाड्ने अडान खतिवडाले ब्यक्त गरे। कांग्रेसकै शीर्ष नेता आए आफू छाड्न तयार रहेको तर अन्यको हकमा भने कुनै हालतमा छाड्न नसकिने उनको दाबी छ।

ओखलढुंगामा कांग्रेसको संगठन बलियो रहेको गत स्थानीय तहको निर्वाचनले पुष्टि गरेकाले छाड्न नसकिने उनको जिकिर छ। माओवादी नेता कार्कीलाई जिल्लाले औपचारिकताको लागि सम्मानजनक रुपमा सिफारिस मात्र गरेको खतिवडाको ठहर छ। कार्की आखलढुंगाबाट निर्वाचन नलड्नेमा आफू विश्वस्त रहेको उनले बताए।

कांग्रेसकै आग्रहमा माओवादीबाट राम कार्की सिफारिस

ओखलढुंगाबाट सिफारिस भएका नेकपा(माओवादी केन्द्र)का सचिवलाई कांग्रेसकै आग्रहमा माओवादीबाटे सिफारिस गरिएको बताइएको छ।
माओवादी निकट स्राेतका अनुसार कांग्रेसका आकांक्षी नेता खतिवडा र ओखलढुंगाका अन्य कांग्रेसी नेताहरुको आग्रहमा कार्कीलाई माओवादीबाट सिफारिस गरिएको हो। जिल्लाका स्थानीय नेतालाई सिफारिस गर्दा पछि दाबी विरोध गर्ने आशंकामा कार्कीलाई सिफारिस गरिएको हो।

स्थानीय नेता सिफारिस भएसँगै पछि दाबी आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै माओवादीबाट कार्की सिफारिस भएका हुन्।
माओवादी सचिव राम काकीलाई कांग्रेसकै आग्रहमा माओवादी जिल्ला पार्टीले सिफारिस गरेकोे माओवादी सा्रेतको दाबी छ।

कार्की ओखलढुंगामा नजाने र उनलाई सिफारिस गरे गठबन्धनबाट सर्वसम्मतरुपमा सहजै कांग्रेसले पाउने हुँदा यो औपचारिकता र कांग्रेसकै सहजताका लागि मात्र भएको माओवादीका एक स्थायी समिति सदस्यले बताए।

माओवादी केन्द्रका नेता राम कार्कीलाई उनको पार्टीले सम्मानस्वरुप मात्र कांग्रेसकै सल्लाहमा सिफारिस गरिएर्कोे ओखलढुंगाजिल्लामा माओवादीले एक स्थानीय तहमा मात्रै जित हासिल गरेको छ। जिल्लाका आठ स्थानीय तहमध्ये नगरपालिकासहित ४ वटा कांग्रेस ,१ माओवादी,१ जसपा ,१ स्वतन्त्र र १पालिका एमालेले जित हासिल गरेका छन्।

स्थानीय निर्वाचनमा वडाअध्यक्षले प्राप्त गरेको मतको आधारमा जिल्लाब्यापी कांग्रेसको मत ३२ हजार २८८ रहेको छ । एमालेको २९ हजार ५९१ छ। त्यस्तै माओवादीको ६ हजार ९१६ रहेको छ । जसपाको जम्मा मत २१ सय ४ रहेको छ। ओखलढुंगामा अन्य दलको तुलनामा कांग्रेसको मत अग्रस्थानमा रहेको गएको स्थानीय तहको मतपरिणामको आधारमा देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *