व्यंग्य :अक्षमता चुहियो, योजना तुहियो

बलदेव महत
१ असोज २०७९ ७:१९

सामान्य कानुन ब्यबसायीदेखि प्रधान न्यायमूर्ति हुँदासम्म अनगिन्ती झगडियाहरुको बयान लिने र त्यसको आधारमा न्याय दिने भनेर हिँडेका महाभियोगवाला प्रधान न्यायमूर्तिलार्ई अहिलेसम्म आइपुग्दा सबैले राम्ररी चिने।

उनले संसदको महाभियोग सिफारिश समितिमा दिएको बयान हेर्दा उनलाई सोधेको प्रश्नको जवाफमा आफ्नो कुनै कुरै नगरिकन त्यसमा कहाँकहाँका कसकसलाई जोडेर र बयानलाई कताकता मोडेर आफू चोखिने प्रयास गर्दागर्दै कतिपय नाम चलेका वकिल, ठूला मिडियाका मालिक, बार, न्यायाधिशहरु, दलका ठूलाठूला नेताहरु, बिचौलियाहरु आदिका कर्तुतहरु छताछुल्ल भएर पोखिने अनि उनीहरुको औकात राम्ररी जोखिने हो कि जस्तो देखिएको छ।

बयानमा प्रश्न एकातिरको उत्तर अर्कोतिरको सुन्दा पहिलो दोश्रो दिन केही प्रतिकार गर्ने समितिका माननीयहरु पनि तेश्रो दिनबाट चुपचाप लागेर सुन्ने गर्दै अलमलमा परेको देख्दा यिनीहरुलाई समितिमा चुन्ने शिर्षहरुको समेत हैसियत प्रष्ट हुन पुग्यो।

त्यस्तै गरेर उनले पोलेका, आन्द्राभुँडी खोलेका र उनीहरुको कृयाकलापका बारेमा बोलेका बयान सुुन्दा अनि साँढे तीन दर्जन प्रश्न तयार पारेर सोध्न बस्नेहरुलाई हेर्दा यिनीहरु कोहीभन्दा कोही कम नभएको हो कि जस्तो सबैलाई लाग्न सक्छ। निलम्बित प्रधान न्यायमूर्तीलाई निकै खानदानी र पुख्र्यौली सम्पत्ति भएको ब्यक्ति भनिएपनि यिनको दम्पत्ति संलग्न भएका कारोबारहरु सबैका जानकारीमा धेरै पहिले देखि नै चर्चाको बिषय भएकै हुन् ।

यिनले आफ्नो पदिय मर्यादाको ख्याल नराखि जतासुुकै र्याल काढेर नगद भ्याएको र यिनका हरेक फैसलाले बिवाद ल्याएको कुुरा धेरै अघिदेखि हल्लाको रुपमा भएपनि सबैले सुन्दै आएका हुन् । यिनले गरेका फैसलाहरुका बेहोरा र तर्कहरु सुन्दा जिब्रो नटोक्ने र यिनिमाथि शंका नबोक्ने कोही छैन होला ।

बयानका क्रममा यिनले जसजसलाई दोष लगाएर रोष प्रकट गरेका जति सबैले आफ्नो मति ठिक हुुँदाहुुँदै नभएको र नगरेको फतुुरमात्रै लगाएको हो भनेछन् । यसमा कुुनै सत्यता नभएकोले र उनको बयान अरुले चाहे जसरि नगएकोले यो सही हुनै सक्दैन भन्ने कुरा पनि आएछ ।

अब नाम चलेका वकिल,न्यायाधिशहरु,साँसदहरु लगायतका शिर्ष नेताहरु र नाम आएका अन्य ब्यक्तिहरुका कुुरा सुुन्दा उनिहरुले भनेकोपनि ठिकै हो जस्तो लाग्छ । निलम्बित प्रधान न्यायमूुर्तिको बयान,उनको काम गर्ने शैली,अहिलेसम्म उनले जम्मा गरेका नगदि थैली,उनका नजिकका नातेदारहरुको अचानक बढेको हैसियत र रहनसहन आदि हेर्दा महाभियोग सही हो भनेजस्तो लाग्छ।

उनले यस बिषयमा सिफारिश समितिलाई दिएको बयान सुुन्दा अहिलेसम्म भएका र सबैभन्दा माथिल्लो तहमा गएका न्यायमूर्ती अनि न्याय क्षेत्रमा काम गर्ने मध्ये सबैभन्दा चोखा र सज्जन यिनि मात्रै रहेछन् भनेजस्तो लाग्छ। यिनको भनाइ अनुसार आफूले असल नियतले काम गर्न खोज्दा आफूसँग काममा जोडिन आएका सबैसँग नाता तोडिन पुगेको रहेछ। यिनी बाहेक सबैले गल्ती गरेपनि खल्ती चाहिँ यिनको मजाले भरिएको रहेछ।

यिनले नाम लिएका र बदमास हुुन् भन्ने संकेत दिएकाहरुले आफूहरुलाई त्यसै लान्छनामात्रै लगाएको हो भनेकोमा सबै सहमत छन्। निलम्बित प्रधान न्यायमूर्तीले अकूत कमाएको र चारैतिरबाट नगद जम्मा गरेर रमाएको भन्ने यिनीहरुको भनाइ सही होला।

यिनले जतिसुकै सफाइ दिएपनि चोखिने र अब निर्दोषमा जोखिने सम्भावना भएजस्तो लाग्दैन। उनले पोलेका र हामी पुरै चोखा छौँ भनेर मुख खोलेका महानुभावहरु पनि सामान्य भन्दा सामान्य परिवारबाट आएका र धेरै बर्षसम्म डेरामै बसेर निकै दुख गरी खाएका ब्यक्तिहरु नै हुन्।

अहिले यी सबैको करोडौँका महल, कमसेकम पनि करोडौँका कारोबार, करोडौँका गरगहना, करोडौँका सवारी साधनहरु, करोडौँको बैँक ब्यालेन्स, करोडौँका जग्गा जमिन, देश बिदेशका मुख्य मुख्य ब्यक्तिहरुसँग पारिबारिक सम्बन्ध, राजनैतिक रुपमा माथिल्ला तहका ब्यक्तिहरुसित नजिकको सम्बन्ध आदि सबै एकसेएक खालको भएको हुनाले यिनीहरुले आफ्नो कारोबार, ब्यबसाय र सरकारी जिम्मेवारि कति इमान्दारी पूर्बक पूरा गरेछन् अनि पाएको मौकालाई अत्यधिक सदुपयोग गरेर कति मजासित चरेछन् भन्ने सबैले बुझिसकेका छन्।

आफ्नो क्षमता, दक्षता, योग्यताले सही जिम्मेवारी पाउने भन्दा पनि चाकरी, चाप्लुुसी, चढावा आदिबाट बढावा पाउँदै तत्तत् ठाउँमा पुुगेर अहिले शानको जिन्दगी बिताउँदै र मैले ज्यादै इमान्दारीसित यो सबै ब्यबस्था गरेको हुँ भनेर चिताउँदै बसेका महानुुभावहरुलाई पोल लगाएर जिस्काउनु नै निलम्बित प्रधान न्यायमूर्तीको गल्ती जस्तो देखियो।

शुद्ध तलब भत्तामात्रैमा जिन्दगी गुुजार्ने मान्छे देशैभरि खोज्दा दुईचार प्रतिशत पाइयो भने अचम्म हुने हुँदा इमान्दारिकासाथ जागिर खाइयो भनेर कसैले भन्छ भने हाँसेर टार्ने शिवाय अर्को उपाय छैन।

महाभियोगवालाले पोलेकाहरुले सबैलाई भाग मिलाएर र मेहनत अनुसारको खुुराक दिलाएर खाएको हुनाले सबैले मुुख सिलाएर बसे भने यिनले बिचौलिया समेतलाई बिचल्लीमा पारेर अनि सबैतिरबाट नगद जति एकै ठाउँमा झारेर र भाग लगाउन पर्ने जति सबैको पेटमा लात मारेर एक्लै खाएको हुनाले फसेका हुन् भन्नेहरुपनि नभएका होइनन्।

यिनलाई महाभियोग लगाउने र यिनका कर्तुतहरुलाई जगाउने माथि देखि तलसम्मका अधिकांश माननीयहरुको केही बर्ष अगाडिसम्मको कारोबार,आर्थिक हैसियत, औकात, रहनसहन, खानपान, बसोबास, लवाइ खवाइ, सवारीसाधन आदिको बारेमा गाउँ, टोल, छिमेक, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरसम्म सबैलाई राम्ररी थाहा छ।

केही बर्ष अघिसम्म अर्काको डेरामा बास र गाँस मागेर गुजारा चलाउने, साथीभाइका लुुगा मागेर लगाउने, लिएको अलिअलि सरसापट कहिल्यै नतिर्ने, अर्काले नख्वाएको दिन भोकभोकै सुुत्ने, चियाखाजा पनि कसले खुवाउला भन्दै बाटो हेरेर बस्ने, फाटेर प्वाल परेका हवाइ चप्पल पड्काउँदै हिँड्ने आदि जस्ता दृश्यहरु अहिले पनि सबैका मानस पटलमा ताजा छन् होला।

अहिले माननीय, मन्त्री र अझ माथि पुुगेका यिनीहरुका अहिले करोडौँदेखि अरबौँ सम्मका महल, पाँचतारे होटल स्तरका खानपान, गिन्ती गर्न पनि गाह्रो पर्ने संख्यामा गरगहना, चालकसहित परिवारका सदस्यहरुको संख्याभन्दा बढी करोडौँका सवारी साधन, घरैभरि नोकर चाकर, टाढाटाढासम्मका नातेदार र गर्लफ्रेण्ड  मिलेसम्मका उच्च तहमा बिकेका, ब्राण्डेड बाहेक अरु पहिरन लगाउनै नसक्ने शरीर, पाँचतारे होटलका जिम बाहेक अन्यत्र कसरत गर्न नसक्ने आनिबानी आदिले गर्दा पूर्ण रुपमा चोला फेरेका माननीयहरुले निलम्बित प्रधान न्यायमूर्तीले कसरी, कोको सित, केकेमा, अन्दाजी कतिकति हातलागि गरे होलान् भनेर अड्कल गर्न नसक्ने कुरै भएन।

हामीले यति गर्दा यति आउँछ भने उनले यति गर्दा यति आयो होला भनेर यिनीहरुले कसैलाई सोधिराख्न पर्दैन। जनताको मत पाएर वा भाग्यले मौका आएर ठाउँमा पुुगेका यी दुुबैथरिले अवसरको ब्यापक सदुुपयोग गर्दै अरबौँ डकारेका र दशि प्रमाण नभए पनि हाउभाउ र ब्यबहारले सकारेका यिनीहरु सबैलाई सबैको भित्री आन्द्राभुँडी राम्रोसित थाहा छ। त्यही भएर यिनीहरु मध्ये कसैले कसैलाई अलमलाउने र म यस्तो उ उस्तो भनेर चलमलाउने कष्ट गर्नु बेकार छ।

जसले जसलाई पोलेपनि र जसले जसको लगौंटी खोले पनि देखिने चिज एउटै हो भन्ने यिनीहरु सबैथरिलाई राम्ररी थाहा भएको हुनाले जनताको आँखामा छारो हालेर आफ्नो चारो जम्मा गर्ने काम कहिल्यै रोकिने करामा जनताको बिश्वास छैन।

जनताले भोकैनाँगै बसेर र भोकले रन्थनिएको पेटमा पटुका कसेर भएपनि यिनीहरुलाई ठाउँमा पुर्‍याएर तमाशा हेरिरहेका छन्। यस्ता तमाशा, रमिता, नाटक र नौटंकीको रमाइलो हेर्दाहेर्दै तीन पुस्ता जति सकिने अबस्थामा पुगिसकेका छन्।

चारताराको बयान गर्दै प्रत्येक ताराको परिभाषा र अर्थ बताउनुभन्दा प्रत्येक तारालाई भजाउने र त्यस्को आडमा अरबौँ बजाउने सबैभन्दा पुुरानो प्रजातान्त्रिक दलको कुुरा गरेर साध्य नै छैन। आफूलाई सबैभन्दा असल र इमानदार सर्बहारा बर्गको प्रतिनिधि भनेर नथाक्ने सबै बामपन्थीहरु नगददेखि जल, जमिन र जंगललगायत केही पनि बाँकि नराख्ने गरी सर्ब आहारावादी भइसकेका छन्।

त्यही भएर पनि यो महाभियोग र निलम्बित प्रधान न्यायमूर्तीको कारणले न्यायालयको ठूलो बदनामी भयो भन्नेहरुपनि प्रशस्त रहेछन् तर अहिलेको कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिका मध्ये हदैसम्म बदनाम नभएको कुुन चाहिँ अंग बाँकि छ र? भनेर थकित भइसकेका जनताले यिनीहरु सुुध्रिने ठाउँ नदेखेर चकित खाएका छन् रे भनेको सुुन्दा धेरैले पत्याउन सकेका छैनन्।

महाभियोग लगाउनेहरु त्यस्तै, महाभियोग वालालाई बयानको लागि प्रश्न सोध्नेहरु उस्तै, महाभियोग लागेर बयान दिने उस्तै, आफ्नो बयानको लागि सोधिएका प्रश्नहरुको सही जवाफ दिनुुभन्दा अरुलाईमात्रै पोल्ने र अरुको कमजोरीमात्रै खोल्ने उस्तै, महाभियोग वालाले पोलेका सबै नै उस्तै र उनीहरुलाई सबै ठाउँमा सहयोग पुुर्याउने पनि उस्तै भनेपछि खासै नौलो र अचम्म मान्नपर्ने अनि केके न होला भनेर जान्नपर्ने केही छैन।

यिनीहरु सबै एकअर्कासित मिलेका र मिलिजुुली सबैले सबैतिरबाट निलेका हुुनाले छानबिन चरम उचाइमा पुुगेजस्तो भएपछि कुुनै लाज शरम नमानी यसलाई सुुरक्षित तरिकाले सेलाउने र त्यसपछि गफमा त्यसका केश्राकेश्रा केलाउने अनि यसैगरी जनतालाई बेवकुफ बनाएर खेलाउने कार्यको निरन्तरतामा कुुनै कमि आउनेवाला देखिँदैन।

यसभन्दा अघिपनि आफ्नो अधिकारको अत्यन्त सदुपयोग गर्दै लगाइएका महाभियोगहरु बिचैमा तुुहिएका र पर्याप्त सोच बिचार र गृहकार्य नगरि देखाउनको लागि मात्रै लगाउँदा धेरैथोक चुुहिएका देख्दादेख्दै फेरि महाभियोगको नौटंकी गर्नको लागि कसकसका केके कुुहिएका हुुन् भनेर सोच्न जनतालाई फुुर्सद हुुने कुुरै भएन।

अहिलेसम्म लागेका महाभियोगहरु एउटै पनि पास नभएको हुुनाले जस्तो मन लाग्यो त्यस्तै बयान दिएर हिँडेपनि कसैले आफ्नो केही नाश गर्न सक्दैन भन्ने यकिन भएको हुुनाले निलम्बित प्रधान न्यायमूर्तीले आग्राको कुरा सोधेकोमा गाग्राको जवाफ दिएर स्वघोषित बिज्ञ र दक्ष माननीय समूहलाई अलमलमा पार्न र लन्ठ्याङ लुन्ठुङ पारेर टार्न ताल न तुलका जवाफ दिएका हुन् जस्तो छ।

महाभियोग वाला प्रधान न्यायमूर्तीले पोलेका जति सबैलाई संसदीय सिफारिश समितिले छलफलको लागि बोलाउने भनेपछि कोही जाने कोही नजाने होला जस्तो छ। शक्ति पृथकिकरणको सिद्धान्त अनुुसार यस्तो भएको हो रे भन्ने बुझियो।

खाने पिउने र माल पचाएर सँगसँगै जिउने बिषयमा हामी एउटै हौँ अनि एकअर्काको साथमा छौँ भनेर एकअर्काको गुुनगान गाउने र फोकटिया छलफलमा चाहिँ शक्ति पृथकिकरणको सिद्धान्त बीचमा आउने अनि यही बीचमा कहिँकतै केही फेला पर्ला जस्तो भयो भने आँ मुख बाउने प्रचलन त पुरानाे भइहाल्यो।

यो त्यत्तिकै भासभुुस हुुने छानबिन हो भन्ने सबैलाई थाहा भएको हुुनालेपनि फासफुस पारेर महाभियोग वालालाई सुरक्षित अवकाश गराउने बाहेक यसको अर्को नतिजा निस्कने कुनै सम्भावना नभएपछि जति कडा कुरा गरेपनि यिनीहरु परालको खुट्टामा खडा भएर कुर्लिरहेका र औकात न सौकातसित उर्लिरहेका छन् भन्ने जनतालाई राम्ररी थाहा छ।

अब यसलाई अझ बढी तन्काउन र चाहिँदो नचाहिँदो समूहलाई यसमा भन्काउन खासै उपयुक्त हुुँदैन होला भन्नेहरुका कुुरा सुुनेर काम छैन। अभियुक्तको बयान सकिएर फाइल खडा गर्दागर्दै अबधि सकिएर भुपु माननीय भएपछि केको ट्याउँट्याउँ केको म्याउँम्याउँ? महाभियोग लाग्नेपनि असफल, महाभियोग लगाउनेहरुपनि असफल, सिफारिश समितिमा बसेर केके न लछार्छौँ भनेर छानबिन गर्नेहरुपनि असफल भनेर नचाहिँदो हल्ला गर्नेहरुका गफ सुनेर कुनै काम छैन। यस्ता सक्षम, लाइक, दक्ष र सर्वज्ञानीलाई त्यस ठाउँसम्म पुर्‍याउने हामी जनतालाई असफल ठहर्‍याउने मुर्खहरु पनि कतैकतै देखिएका छन्।

यसो हेर्दा अहिलेसम्मको सबैभन्दा ठूलो अभियोगमा बयान वा सोधपुुछ गरेर र कारबाहि हुुन्छ भन्नेमा ढुुक्क परेर बसेकाहरुपनि जिल्ल पर्ने भए। महाभियोग दर्ता गरेर छ छ महिनासम्म चुुपचाप लागेर बसेपछि अहिले अकस्मात जागेर र यसलाई भजाउँदै जनतासित भोट मागेर फेरि रजाईं गरौँला भन्ने मनसुुबा सहित एकअर्का माथि रिस दागेर निकै तडक भडकसहित गरिएको छानबिन फुस्स हुुने भयो।

त्यत्रो तहको ब्यक्तिले त्यत्रो उच्च तहको सिफारिश समितिलाई दिएको बयान हेर्दा पुरै केटाकेटी खेलेजस्तो पो देखियो। त्यत्रो तहका समूहले कति हचुवाको भरमा महाभियोग लगाउने र आफूमाथि भएको जनताको विश्वास जगाउने भन्दा पनि भगाउने काम गर्ने रहेछन् भन्ने यसबाट छर्लंङ हुन्छ।

महाभियोग मात्रै होइन जुुनसुुकै कुुरापनि लगाइसके पछि त्यसलाई पुष्टि गर्न नसकेपछि त्यसमा खर्च भएको समय, श्रम र अन्य चिजको परिपूर्ति कहाँबाट कसले गर्ने होला? महाभियोग जस्तो जघन्य अभियोग लगाउनु भन्दा अघि सामान्य तयारि गरिएको भए आफूलाई जनताको नोकर ठान्ने समूहले यसरी जोकर हुन पर्ने थिएन होला। यसबाट यो कार्य मात्रै होइन देश नै हचुुवाको भरमा चलेको र यसैबाट उहाँहरुको लागि सबैथोक फलेको भनेर जनताले बुझिसकेका छन्।

जे भएपनि अब यो नौटंकी यहीँ आएर पूरा भएको कुुरा कसैले बताइराख्न र यसलाई देखाएर जनतालाई तताइराख्न अनि यसो गर्छौं उसो गर्छौं भन्ने गफले सताइराख्न पर्ने भएन। महाभियोग किन लगाइयो र दर्ता गरियो,किन छ महिनासम्म कुनै कारवाही नगरी थन्काएर राखियो, छानबिन हो कि बयानबाट के निचोड निकालियो आदि भन्ने जस्ता प्रश्नहरुको जवाफ कहिल्यै नआउने र कसैले सुन्न नपाउने निश्चित छ।

यसबाट अहिलेसम्म हामी जस्तो क्षमतावान र जान्नेसुुन्ने कोही छैन भनेर कुुर्लिंँदै र जतासुकै उर्लिंँदै हिंड्ने गरेका माथिदेखि तलसम्मका माननीयको अक्षमता मजासित चुहियो अनि उनीहरुको भित्रि योजनापनि नराम्रोसित तुहियो भन्नेहरुका कुरा सुन्न हुँदैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *