‘प्रदेशसभा सदस्यमा म सबैभन्दा बलियो दाबेदार हुँ’

डिसी नेपाल
१ असोज २०७९ ९:१६

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेता हृदयराम थानीबीच टकराव हुँदा गएको स्थानीय चुनावमा कांग्रेसले अपेक्षित नतिजा ल्याउन सकेन । त्यसैले सुर्खेतका कांग्रेस कार्यकर्ताहरू दुई नेता मिल्नुको विकल्प नरहेको बताउने गर्छन् ।

खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवारका लागि सिफारिस भएका छन् भने थानी २ बाट । संघमा गठबन्धनबाट कांग्रेसले नै पाउने लगभगपक्का छ । र उम्मेदवार पनि खड्का र थानी नै हुने लगभग पक्का छ । त्यसैले अरु नेताहरूले संघ ताकेका छैनन् । तर, प्रदेशमा भने तीव्र प्रतिस्पर्धा छ । सुर्खेतका ४ प्रदेशसभा सिटमध्ये कांग्रेस र माओवादीले २-२ सिट लिने सम्भावना बलियो । क्षेत्र नम्बर १ (ख) र २ को पनि (ख) माओवादीले दाबी गरिरहेको छ । अरु दुईमा कांग्रेसको दाबी छ ।

कांग्रेसले आफूले पाउने सिटमा कांंग्रेस नेताहरू टिकटको लविङमा छन् । २०७४ मा पनि क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बनेर एमालेका यामलाल कँडेलसँग पराजित बनेका कांग्रेस सुर्खेतका पूर्वसभापति कमलराज रेग्मी अहिले पनि प्रदेशको प्रत्यक्षतर्फ सिफारिस भएका छन् । उनी शेखर समूहका नेता हुन् । नेविसंघको केन्द्रीय राजनीतिबाट पार्टी राजनीतिमा लागेका रेग्मी ३ कार्यकाल क्षेत्रीय सभापति र एकपटक जिल्ला सभापति बनेका छन् । त्यसैले पनि उनी प्रदेशसभा सदस्यमा आफ्नो बलियो दाबेदारी रहेको रेग्मी बताउँछन् । उनले भने, ‘प्रदेशसभा सदस्यमा म अरुभन्दा केही बलियो उम्मेदवार हुन सक्छु । यसअघि पनि उम्मेदवार बनेको थिएँ । तर गठबन्धनसँग लड्नुपर्दा पराजित भइयो ।’

वीरेन्द्रनगरसमेत समेटिएको सुर्खेत २ (क) मा कांग्रेसले आफूलाई उम्मेदवार बनाएर न्याय दिनेमा रेग्मी विश्वस्थ छन् । यो क्षेत्रबाट रेग्मीसँगै ९ जना सिफारिस भएका छन् । मुख्यगरी पुराना नेता कालिप्रसाद शाक्य, रेग्मी र पूर्व मेयर देवकुमार सुवेदीको चर्चा बढी छ ।

रेग्मी भन्छन्, ‘एमालेबाट मुख्यमन्त्रीको दाबी गरिरहेका यामलाल कँडेल उम्मेदवार हुने सम्भावना छ । उहाँलाई टक्कर दिन सक्ने उम्मेदवार म हुँ ।’ टिकट वितरणमा पार्टीको समूहअनुसार वितरण हुँदा पनि आफूले पाउनुपर्ने उनको तर्क छ । क्षेत्र नम्बर १ मा उपसभापति खड्का समूहले पाउँदा क्षेत्र नम्बर २ मा कोइराला समूहले पाउनुपर्ने उनको भनाइ छ । उनी थानी निकट नेता हुन् ।

उम्मेदवारका लागि सुर्खेतमा तीव्र प्रतिस्पर्धा रहे पनि खड्का र थानीबीच मेलमिलाप नभए गठबन्धनलाई एमालेले पाखा लगाउन सक्ने चिन्ता कांग्रेसका दुवै समूहका कार्यकर्ताहरू बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *