पुटिनको घोषणापछि रुसमा विरोध प्रदर्शन, हजारौं पक्राउ

डिसी नेपाल
६ असोज २०७९ ११:४१

काठमाडौं । रुसी राष्ट्रपति पुटिनको आंशिक सैन्य परिचालनको घोषणाको विरोधमा रुसका जनताले प्रदर्शन गरेका छन् । पुटिनले युक्रेन युद्धका लागि लाखौं रिजर्भ सैनिकलाई ड्युटीमा बोलाइने र हतियारमा लगानी पनि बढाइने बताएका थिए ।

प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ । रुसी मानवअधिकार संगठन ओभिडी-इन्फोका अनुसार पक्राउ पर्नेको संख्या एक हजारभन्दा बढी छ।

मस्को र सेन्ट पिटर्सबर्गमा सबैभन्दा धेरै पक्राउ परेका छन्। यससँगै प्रहरीले साइबेरियन सहर इर्कुत्स्क र याकातेरिनबर्गमा दर्जनौं मानिसलाई पक्राउ गरेको छ ।

पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानको बुकिङमा उल्लेख्य वृद्धि भएको थियो । केही समयपछि एउटै उडानमा पनि ठाउँ बाँकी थिएन ।

मस्कोको अभियोजकको कार्यालयले बुधबार चेतावनी दिएको छ कि इन्टरनेटमा अनाधिकृत विरोध प्रदर्शनको लागि बोलाउँदा वा सहभागी भएमा १५ वर्षसम्म जेल सजाय हुन सक्छ।

युक्रेन युद्धसँग सम्बन्धित “प्रचार” फैलाउने र पुटिन विरोधी कार्यकर्ताहरूलाई प्रहरी यातना र कडा सजायको प्रावधानपछि रसियामा सार्वजनिक विरोधहरू दुर्लभ भएका छन्।

पुटिनले गत बुधबार आंशिक सैन्य परिचालनको घोषणा गरे, जसको अर्थ तीन लाख आरक्षित सेना पठाउने हो।

पुटिनले आफ्नो टेलिभिजन सम्बोधनमा रुसको क्षेत्रीय अखण्डतालाई कायम राख्न आफूले उपलब्ध सबै माध्यम प्रयोग गर्ने बताए।

पश्चिमी विश्वमा पुटिनको यो भनाइलाई आणविक हतियारको प्रयोग भनेर व्याख्या गरिएको छ । युक्रेन र उनका सहयोगीहरूले पुटिनको भनाइको निन्दा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *