नागरिकता विधेयक राष्ट्रहित विपरीत : उपाध्यक्ष पौडेल

डिसी नेपाल
७ असोज २०७९ १८:०४
60
Shares

बुटवल । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संसदले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रहित अनुकूल नभएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेको बताएका छन् ।

सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई प्राथमिकतामा नराखी भोलि बिहे गरेर आउनेहरूका लागि प्राथमिकता दिएर विधेयक ल्याएकाले यो राष्ट्रहित अनुकूल नभएको उनको दाबी छ ।

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले विजयादशमी, दीपावली, नेपाल संवत तथा छठको अवसरमा शुक्रबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान, स्वागत एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । ‘जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्नेमा एमाले दृढ छ, तर गठबन्धन सरकारले यसलाई भन्दा बढी प्राथमिकता बिहे गरेर नेपाल आउनेहरूलाई राख्यो, जसका कारण नागरिकता विधेयक राष्ट्रको हितमा देखिएन,’ उनले भने ।

उपाध्यक्ष पौडेलले पाँच दलीय गठबन्धन मुलुकमा बेथिति सिर्जना गर्ने उद्देश्यले निर्माण गरिएको आरोप समेत लगाए । ‘गठबन्धन मुलुकमा बेथिति ल्याउनका लागि जन्मेको हो, जोसँग मुलुकमा अस्थिरता सिर्जना गर्ने बाहेक अर्को एजेण्डा छैन,’ उनले भने ।

पाँच दलीय गठबन्धन पाँचतिर फर्केको र यससँग साझा नीति, कार्यक्रम र घोषणापत्र नभएको र देश हाँक्ने विश्वासिलो नेतृत्व समेत नभएको दाबी गर्दै उपाध्यक्ष पौडेलले मुलुकलाई यो बेथितिबाट पार लाउन आगामी चुनाव एमालेले जित्नैपर्ने बताए ।

निजामती कर्मचारी संगठनले कर्मचारीको वृत्ति विकासदेखि लिएर अन्य पेसागत मुद्दाहरू सम्बोधन गर्नका लागि पनि एमालेको जित अपरिहार्य रहेको उनले बताए । उनले पेसाकर्मीहरूको मनोबल माथि उठाउनुपर्ने र उनीहरूको स्वाभिमानमा आँच पुग्न दिन नहुने कुरामा एमाले दृढ रहेको पनि बताए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य काशीराम आचार्य, संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज नारायणप्रसाद भण्डारी, आधिकारिक ट्रेड युनियनका पूर्व केन्द्रीय सदस्य मेघदेव पन्त, संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनाल, उपाध्यक्ष ठानेश्वर बस्याल, सचिव जीवन पौडेललगायतले कर्मचारीका पेसागत समस्या तथा संघीय निजामती ऐनका बारेमा आआफ्नो धारणा राखेका थिए ।

त्यस अवसरमा कर्मचारीबाट स्वैच्छिक अवकाश लिएका आधिकारिक ट्रेड युनियनका पूर्व केन्द्रीय सदस्य मेघदेव पन्तलाई सम्मान गरिएको थियो भने संगठनमा नयाँ सदस्यहरूलाई स्वागत गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *