ओलीको मधेस मिसन : मधेसका प्रभावशाली नेता एमालेमा भित्र्याउँदै

डिसी नेपाल
९ असोज २०७९ ६:३८

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् ।

पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा शक्तिशाली मानिएका नेतालाई एमालेमा भित्र्याउन ओली सफल देखिएका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा ओलीको बाक्लो आउजाउ भएको देखिन्छ । शनिबार नै धनुषाको तीन कौरियामा पुगेर उनले लोसपाका निवर्तमान सांसद एवं सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराए ।

त्यसअघि, उनले लोसपा, जसपाका अन्य प्रभावशाली नेतालाई एमालेमा भित्र्याइसकेका छन् । हृदयेश त्रिपाठीको तत्कालीन ‘स्वतन्त्र राजनीतिक समूह’बाट सांसद भएका वृजेशकुमार गुप्ता, जसपाका सांसदद्वय अमृता अग्रहरी र रुही नाज एमाले प्रवेश गरिसकेको एमाले स्थायी कमिटीका सदस्य प्रभु साहले बताए । ओलीसँगै साहसमेत मधेसवादी दलका नेतालाई एमालेमा भित्र्याउने आन्तरिक रणनीति तय गर्दै अघि बढेको देखिन्छ ।

प्रतिनिधिसभाका निवर्तमान सांसदमध्ये वृजेशकुमार गुप्ता २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर स्वतन्त्रका तर्फबाट कपिलवस्तु– २ बाट निर्वाचित भएका थिए । यसैगरी, जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य रहेकी अग्रहरी र रुही नाज समानुपातिकबाट प्रतिनिधिसभाका सदस्य भएका थिए । उता, लोसपाका केन्द्रीय सदस्य तथा मधेस प्रदेशसभाका निवर्तमान सांसद प्रल्हाद गिरीसमेत एमाले प्रवेश गरेका छन् ।

‘त्रिपाठी समूह’बाटै लुम्बिनी प्रदेश संसद्मा कपिलवस्तु– २ ‘ख’बाट जितेका धर्मबहादुर श्रीवास्तव पनि एमालेमै प्रवेश गरिसकेका छन् । जसपाकी मधेस प्रदेश सांसद डा रिना यादव केही समयअघि एमालेमा प्रवेश गरेकी हुन् । प्रदेश विकास संसदीय समिति सभापति भइसकेकी उनी तत्कालीन राजपाबाट समानुपातिक सांसद भएकी थिइन् ।

यसैगरी, जसपाकै लुम्बिनी प्रदेश सांसद विजयबहादुर यादव पनि एमाले प्रवेश गरेका छन् । प्रभावशाली नेतामा जसपाका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता सबैभन्दा पहिले एमालेमा प्रवेश गरेका थिए । त्यसपछि जसपाबाटै वीरगन्ज महानगरका तत्कालीन प्रमुख विजय सरावगी, जसपाका नेता पशुपति दयाल मिश्र, रामकुमार दीक्षित, पूर्वमन्त्री खोभारी राय, संघीय परिषद् सदस्यद्वय भोला मिश्र र अमरेन्द्रकुमार झा, लोसपाका केन्द्रीय सदस्य डा रामबाबु तिवारी, गौरका पूर्वप्रमुख अजयकुमार गुप्ता, माओवादी केन्द्रका नेता तथा पूर्वराज्यमन्त्री रामसिंह यादव र कांग्रेसका पूर्वजिल्ला उपसभापति दिनानाथ साहसहितका नेता एमालेमा प्रवेश गरिसकेका छन् ।

यसैगरी, जसपाका नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व अध्यक्ष रामबलभ साह, एकीकृत समाजवादीका मुस्लिम इत्तेहाद संघका केन्द्रीय सदस्य सेख मोफिद, युवा संघ गौर नगर कमिटीका अध्यक्ष मोहम्मद इमरान र मोहम्मद जियाउल हक एमालेमा प्रवेश गरेका थिए । यसैगरी, लोसपाबाट संविधानसभा सदस्य भएका चन्दन साहसमेत एमाले प्रवेश गर्ने नेता हुन् ।

यस्तै, लोसपा केन्द्रीय सदस्य अरबिन्द साह, सर्लाही जिल्ला समन्वय समितिका पूर्वप्रमुख मेथुर चौधरी र मलंगवा नगरपालिकाका पूर्वनगरप्रमुख निरशल साह, एकीकृत समाजवादीका धनुषा जिल्ला अध्यक्ष सोमप्रसाद शर्मा, नेपाली कांग्रेसबाट गाउँपालिकाका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि किरणदेवी गुप्ता, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका पूर्व अध्यक्ष निरराज गिरी पनि एमालेमा प्रवेश गरेका थिए ।

यी नेतासँगै सोही पार्टीका सयौं नेतासमेत एमाले पार्टी प्रवेश गरेको एमाले केन्द्रीय सदस्य एवं कार्यालय सचिव डा भीष्म अधिकारीले बताए । एमालेमा प्रवेशको लहर देखेर अध्यक्ष ओली उत्साहित भएका छन् । विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी दलको गठबन्धन निर्माण गरेर सरकार सञ्चालन गर्नेमा अध्यक्ष ओली ढुक्क छन् ।

एमाले पोलिटब्युरो सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको बताए । जिल्लादेखि केन्द्रीय कार्यालयसम्म दिनहँु पार्टी परिवेशको कार्यक्रम भइरहेको उनले बताए ।

एमालेबाट विद्रोह गरी गठन भएको एकीकृत समाजवादीका नेताहरू एमालेमा प्रवेश गर्न थालेपछि अध्यक्ष ओलीले आगामी चुनावसम्ममा एकीकृत समाजवादीमा कार्यकर्ता नै नरहने ठोकुवा गर्दै आएका छन् ।

गत महिना पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले चुनावसम्ममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कार्यकर्ताविहीन हुने दाबी गरेका थिए । ‘तपाईंहरूलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला, नोट गरेर राख्नुस् । चुनावसम्ममा माधव नेपालसँग आपूmबाहेक कार्यकर्ता नै रहँदैनन्’ ओलीले भनेका थिए ।

एमालेको ध्यान गठबन्धनतर्फ

विभिन्न पार्टीबाट नेता कार्यकर्ता एमालेमा भित्र्याउँदै एमालेलाई थप शक्तिशाली बनाउने योजनामा ओली छन् ।
आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनलाई परास्त गर्न एमालेले भित्रभित्रै विपक्षी दलको गठबन्धन निर्माणमा सक्रिय रहेको छ ।

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन रहेको छ । पाँच दलीय गठबन्धन अहिले सिट बाँडफाँटको आन्तरिक छलफलमा व्यस्त छ ।

एमाले अध्यक्ष ओली आफैं गठबन्धन निर्माणका लागि आन्तरिक छलफलमा छन् । एमाले स्रोतका अनुसार अध्यक्ष ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जप्रपा अध्यक्ष हृदयेश त्रिपाठी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेतासँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *