नेपालभर ३३ हजार किमी बढी सडक, १७ हजार किमी मात्रै सडक कालोपत्रे

सुरेश तामाङ
१० असोज २०७९ ११:००

काठमाडौं। सडक विभागले हालसम्म १७ हजार किलोमीटर बढी सडक खण्डको कालोपत्रे गरेको छ। विभागले सार्वजनिक गरेको तथ्यांकमा मुलुकभर कुल १७ हजार २ सय ३२ किमी सडक खण्ड कालो पत्रे गरेको उल्लेख गरिएको छ।

विभागका प्रवक्ता भिमार्जुुन अधिकारीले पछिल्लो पटक मुलुकमा आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैैमासिकसम्म ६१८ किमी थप सडक कालोपत्रे भएसँगै हालसम्म कुल १७ हजार २ सय ३२ किमी सडक कालोपत्रे भएको जानकारी दिए।

प्रवक्ता अधिकारीले मुलुकमा देखिएको विभिन्न चुनौतिकाबीच विभागले लक्ष्य भेट्ने गरी सडक सुधारको कार्य गरेको दाबी गरे। ‘यस वर्ष लक्ष्य अनुसार नै सडकको काम भएको छ। यस बीचमा धेरै चुनौती आइपरे पनि त्यसको बाबजुत हामीले लक्ष्य हासिल गर्न सडक कालो पत्रे, ग्रावेल, कच्ची सडक र नयाँ ट्रयाक खोल्ने कार्य गरेको छ’, उनले भने।

विभागसँग भएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/७५ मा १३ हजार ७ सय ७ किमी, ०७५/७६ मा १४ हजार ६ सय ९५ किमी सडक, आव ०७६/७७ मा १५ हजार ४ सय २४ किमी, आब २०७७/७८ मा १६ हजार ६ सय १४ किमी र अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा १७ हजार २ सय ३२ किमी सडक खण्ड कालो पत्रे भई स्तरोन्नती भएको देखिन्छ।

मुलुकभर अघिल्लो आर्थिक वर्षसम्म ७ हजार ८ सय ८८ किमी सडक खण्ड ग्रावेल, ८ हजार ८ सय ७६ किमी सडक खण्ड कच्ची रहेको तथ्यांकमा उल्लेख छ। त्यस्तै हालसम्म मुलुकभर कालोपत्रे, ग्रावेल र कच्ची सडक गरी ३३ हजार ९ सय ९६ किमी सडक राष्ट्रिय सञ्जालमा जोडिएको विभागले जनाएको छ।

त्यस्तै अघिल्लो वर्षमा २ सय ८० किमी सडकको नयाँ ट्रयाक खोलेको विभागसँग भएको तथ्यांकमा उल्लेख गरीएको छ। नेपालका प्रत्यक भू-भाग राष्ट्रिय सडक सञ्जालमा जोड्ने योजना अनुसार नयाँ ट्रयाक खोल्ने काम समेत जारी राखेको विभागका प्रवक्ता अधिकारीले बताए।

त्यस्तै स्थानीय सडक पुल अन्तर्गत १ सय ६५ वटा र रणनैतिक महत्वका सडकहरु अन्तर्गत १ सय १७ पुलहरु गरी जम्मा २ सय ८२ वटा पुलको निर्माण सम्पन्न भएको विभागले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *