‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ अभिनेत्री सम्मानित

डिसी नेपाल
१० असोज २०७९ २१:०२

काठमाडौं । तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ अभिनेत्री सम्मानित भएका छन् । काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नौ अभिनेत्रीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् ।

चलचित्र क्षेत्रमा योगदान पुर्‍याएबापत अभिनेत्रीहरु भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियङ्का कार्की, पूजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापालाई सम्मान प्रदान गरिएको हो ।

सो अवसरमा उपराष्ट्रपति पुनले सम्मानित सम्पूर्णलाई बधाई दिँदै ‘राष्ट्रिय नवदुर्गा सम्मान’ लाई निरन्तरता दिन आग्रह गरे । उनले भने, “यो सम्मानले तपाईंहरुको कलाकारिता अगाडि बढाउन अझै मद्दत गर्ने विश्वास मलाई छ । दसैँको सुरुआतमा नारीलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ ।”

आयोजक रेजिना इन्टरटेन्मेन्टकी अध्यक्ष अभिनेत्री रेजिना उप्रेतीले नेपाली फिल्मलाई प्रतिनिधित्व गर्ने नारीहरुलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरिन् । “उहाँहरुको कलाकारिता र योगदानलाई मूल्याङ्कन गरेर सम्मान प्रदान गरेका हौँ । यहाँ लोकप्रियताले प्रभाव पारेको छैन”, अभिनेत्री उप्रेतीले भनिन् ।

सम्मानित भएकी अभिनेत्री ऋचा शर्माले आफूहरुलाई ऊर्जा मिल्ने बताइन् । उनले भनिन्, “यहाँ अग्रज भारती दिदीदेखि सुहानासम्म सम्मानित हुनुभएको छ । मलाई दायित्व थपिएको समेत महसुस भएको छ । विनाप्रतिस्पर्धा पाइने यस्ता सम्मानहरुले छुट्टै ऊर्जा मिल्छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *