प्रहरी प्रधान कार्यालयको १९ बुँदे निर्देशनः चाडवाड र चुनावी कार्यक्रममा निगरानी गर्नु

डिसी नेपाल
१० असोज २०७९ २१:०८

काठमाडौं । नेपाल प्रहरीले चाडपर्व र चुनाव लक्षित सुरक्षा योजनासँग सँगै लैजाने भएको छ । चाडपर्व सकिएलगत्तै निर्वाचनको माहोल शुरु हुने र दशैँमा घर जानेहरुले पनि निर्वाचनको विषयमा बहस छलफल गर्ने भएकाले दुवै विषयलाई ध्यानमा राखेर सुरक्षा योजना बनाएको हो ।

‘अहिले शहर र गाउँमा फरक फरक अवधारणा छ, दशैमा शहर खाली जस्तै हुन्छ, गाउँ भरिनसक्छ त्यसकारण सुरक्षा योजना पनि फरक फरक हुनसक्छ त्यही अनुसार सुरक्षाकर्मीहरु परिचालन हुनेछन्’, प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले भने ।

यसका लागि प्रहरीले देशभर अपराधजन्य गतिविधि रोक्न छुट्टै सकुर्लर गरेको छ । देशभरका प्रहरी युनिटमा आपराधिक गतिविधि नियन्त्रण तथा निगरानीका लागि १९ बुँदे निर्देशनसहित परिपत्र गरेको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए ।

‘दशैँ तिहार र छठपर्वको समयमा हुने उच्छृंखल क्रियाकलाप, राजमार्ग र सहायक मार्गहरुमा हुन सक्ने अवाञ्छित कार्यहरु लगायत विभिन्न आपराधिक गतिविधि नियन्त्रण, गर्ने चुनावी बहस र छलफलका क्रममा हुने झडपहरु रोक्न र त्यसबाट उत्पन्न परिस्थितिबारे सजग रहन निर्देशन दिइएको छ’, डिआइजी रार्इले भने

उनका अनुसार सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठानहरुको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सबै प्रहरी युनिटहरुलाई प्रहरी प्रधानकार्यालयले निर्देशन दिएको छ । त्यस्तै, अत्यावश्यक उपभोग्य वस्तुहरुको सहज आपूर्ति व्यवस्थाका लागि पनि निगरानी बढाउन पनि निर्देशन दिइएको छ ।

‘उद्योगपति, व्यापारीहरु, राजमार्गमा चल्ने सवारी साधानहरुबाट आर्थिक सहयोगको नाममा जबरजस्ती चन्दा संकलन चिट्ठा उपहार कार्यक्रम जस्ता गतिविधि हुन÷गर्न नदिई त्रुटिरहित ढंगबाट सुरक्षा व्यवस्था मिलाउने तथा त्यस्ता किसिमका गतिविधिहरु गर्ने उपर कानुन बमोजिम कारबाही गर्ने’, सो निर्देशनमा भनिएको छ– ‘सर्वसाधारणहरुले बैंक तथा वित्तिय संस्थाहरुबाट रकम झिक्ने, सरसामान किनमेल गर्ने स्थानहरुमा हुन सक्ने चोरी, लुटपाट, ठगी र डकैती जस्ता घटनाहरु हुन सक्ने स्थानहरुमा निगरानी बढाई सुरक्षा व्यवस्था मिलाउने ।’

त्यसैगरी बैंक तथा वित्तिय संस्थाहरुका सुरक्षागार्डहरुलाई सुरक्षाविधि र अपनाउनु पर्ने सावधानिका बारेमा अनुशिक्षण दिने, काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना बनाई मुख्य मुख्य स्थान, बैंक, व्यापारिक केन्द्र, बसपार्क, मल तथा सुपरमार्केट, मनोरन्जनस्थल लगायत चक्रपथ बाहिर हुनसक्ने चोरी, लुटपाट, ठगी र अन्य आपराधिक गतिविधिलाई प्रभावकारी नियन्त्रणको व्यवस्था मिलाउन निर्दैशन दिइएको छ ।

यसैगरी बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि जस्ता कार्यहरु हुन नदिने, लामो तथा छोटो दूरीका सवारीले यात्रुसँग बढी भाडा लिनसक्ने, क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता गतिविधिमा रोक लगाउन सबै यूनिटलाई निर्दैशन दिएको पनि डिआइजी राईले जानकारी दिए । मदिरा बिक्री वितरण, पटका र अतसबाजी, जुवातासलाई पनि निस्तेज गर्न, सीमा क्षेत्रमा हुने तस्करी, लुटपाट, ठगी र डकैती जस्ता घटनामा सतर्कता बढाउन पनि निर्देशन दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *