कांग्रेसभित्र खैलाबैला, संस्थापनविरुद्ध इतर पक्ष आन्दोलित

डिसी नेपाल
११ असोज २०७९ ७:१६

काठमाडौं। आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ।

संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको बन्दसूची बुझाएको’ भन्दै कांग्रेसभित्रको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्ष असन्तुष्ट बनेको हो। सो समूहका दोस्रो तहका नेताले ‘सभापतिको एकलौटी निर्णयविरुद्ध विद्रोह गर्नेदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना बस्ने’सम्मको कार्यक्रम तयारी गरेका छन्।

सभापति शेरबहादुर देउवाले गत २ असोजमा समानुपातिकतर्फको उम्मेदवार बन्दसूची आयोगमा पठाएका थिए । सो सूचीमा आफ्ना समूहका नेतालाई कमजोर स्थान दिएको र संख्यामासमेत हेपेको भन्दै इतर पक्ष रुष्ट रहँदै आएको छ । इतर पक्षले ‘आयोगमा बुझाइएको सूची नसच्याइए पार्टीभित्र विद्रोह गर्ने’सम्मको चेतावनी दिँदै आएको छ।

इतर पक्षको दोस्रो तहका नेताको सोमबार ठमेलमा बसेको बैठकले ‘पार्टी नेतृत्वलाई दबाब दिन’ भन्दै केन्द्रीय कार्यालयमा धर्ना बस्नेगरी कार्यक्रम तय गरेको छ।

भेलाले ‘समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलन घोषणा गरेको’ नेता जगदीशनरसिंह केसीले जानकारी दिए। उनका अनुसार समानुपातिक बन्दसूची सच्याएर आफ्नो समूहका नेताका नाम समावेशका लागि दबाब दिन भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना कार्यक्रम तय गरिएको हो।

यसैगरी, बिहीबार दोस्रो तहका नेताले इतर समूहका पहिलो तहका नेतासँग छलफल गर्ने कार्यक्रम तोकिएको छ। संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै इतर समूहका दोस्रो तहका नेताले दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।

उनीहरूले शुक्रबारसम्म पनि माग सुनुवाइ नभए कठोर निर्णय लिनेसमेत चेतावनी दिएका छन्। तर, ‘कठोर निर्णय कस्तो हुने ?’ भन्ने’ खुलाइएको छैन।

इतर पक्षले सभापतिले पार्टी सञ्चालनमा एकलौटी गरेको, निर्वाचन मुखमा इतर पक्षलाई बेवास्ता गरेको र टिकट वितरण प्रक्रिया र छलफलमा पनि मनोमानी गरेको आरोप लगाउँदै आएको छ ।

सो पक्षले गत शनिबार राजधानीमा आफ्ना पक्षका नेतालाई भेला गरेर ‘आगामी निर्वाचनमा विद्रोह हुने’सम्मको चेतावनी दिएको थियो। यसअघिसमेत इतर पक्षले ‘सभापति देउवाले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका नेतृत्वमा एकलौटी गरेको’ भन्दै आपत्ति जनाउँदै आएको थियो। राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *