अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

डिसी नेपाल
११ असोज २०७९ १४:५७

काठमाडौँ। काठमाडौँ, वीरेन्द्रनगर, कैलाली र धनुषामा अवैध लागूऔषधसहित नौं जनालाई पक्राउ गरेको छ। काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र नुर्फिन १ हजार एम्पुलसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका-४ बस्ने २६ वर्षीय हिमाल माझी रहेका छन्। नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसका सहचालक हिमालले बसको डिक्कीमा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ पदमपुरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ८० मिलीग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय ललित खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा ललितलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७ सय ५० ग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

धनुषाको सबैला नगरपालिका-१० गेरुवाही नहरस्थित सडकबाट अवैध लागूऔषध भाङ करिब १५ किलोग्राम सहित धनौजी गाउँपालिका-२ बस्ने ४२ वर्षीय राम प्रसाद साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरीले साइकलमा सवार राम प्रसादलाई जाँच गर्ने क्रममा उक्त भाङ सहित फेला पारी पक्राउ गरेको हो।

पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध टिटि ५ हजार १ सय पिस र निटजा केयर ३ हजार ट्याब्लेट सहित भारत घर भई वीरगंज महानगरपालिका-१६ बस्ने २७ वर्षीय ओम प्रकाश महतो लगायत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ई-रिक्सामा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *