पूर्वराजा ज्ञानेन्द्रले किन प्रयोग गरे राजा बीरेन्द्र र रानी ऐश्वर्यको तस्वीर, जो विगतमा कहिल्यै गरेका थिएनन्

डिसी नेपाल
१५ असोज २०७९ ९:०४

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा हिजो एउटा भिडियोमार्फत देश विदेशका नेपालीजनलाई शुभकामना दिए । शुभकामनामा उनले देशमा अराजकता उत्पन्न भएको र भ्रष्टाचार बढेको भन्दै चरम असन्तुष्टि व्यक्त गरेका छन् । र, मुलुकलाई एउटा मियो आवश्यक रहेको कुरा भनेका छन् ।

सर्सर्ती हेर्दा गद्दीबाट हटाइएका पूर्वराजाले आफ्नो राजनीतिक कुण्ठा र अहिलेको यथार्थ देशको अवस्था बोले भन्ने सन्देश जनतामा प्रवाहित गरेको देखिन्छ । तर, यो भिडियोमा पूर्वराजाले प्रयोग गरेको व्याकग्राउण्ड दृश्य भने निकै अनौंठो, उनको विगत विपरीतको छ ।

यसपटकको दशैंको शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले आफ्ना दाजु भाउजु स्वर्गीय राजा रानी बीरेन्द्र र ऐश्वर्यका राम्रा तस्वीरहरु प्रयोग गरेका छन् । २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबार भित्रै सपरिवार राजा बीरेन्द्र र उनको सपरिवारको हत्या भएपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र राजगद्दीमा बसेका थिए ।

गद्दीमा बस्नुपूर्व ज्ञानेन्द्र र राजा बीरेन्द्रका बीच कस्तो सम्बन्ध थियो भन्ने बारे दरबार निकटस्थहरुको फरक फरक मत पाइने गरेको छ । आफ्ना दाजु भाउजुको परिवार नै नष्ट भएपछि पूर्वराजा ज्ञानेन्द्र गद्दीमा बसेयता उनले कहिल्यै पनि बीरेन्द्र र ऐश्वर्यका तस्वीरहरु कुनै सार्वजानिक समारोहहरुमा प्रयोग गरेको पाइएको थिएन ।

यसबीचमा पूर्वराजा ज्ञानेन्द्रका सक्रिय र गद्दीच्यूत भएयता धेरैवटा शाही घोषणा, शाही सन्देश र शुभकामना सन्देशका भिडियोहरु प्रकाशित भएका छन् र उनी थुप्रै त्यस्ता सार्वजानिक समारोहहरुमा पनि पुगेका छन् । तर, कुनैमा पनि स्वर्गीय राजा रानी बीरेन्द्र र ऐश्वर्यका तस्वीरहरु प्रयोग गरिएका थिएनन् ।

बरु हालका प्रधानमन्त्री जो आफैंले नियुक्त गरेका थिए, उनलाई पदच्यूत गरी प्रत्यक्ष शासन हातमा लिंदा नेपाल टेलिभिजनबाट सार्वजानिक गरेको शाही घोषणामा ‘आफू दाजु स्वर्गीय राजा बीरेन्द्र जस्तो टुलुटुलु हेरेर बस्ने राजा नभएको’ भन्दै शासकीय सत्ता आफ्नो हातमा लिएका थिए ।

बहुदलीय प्रजातन्त्रलाई मासेर प्रत्यक्ष शासन गर्ने उनको महत्वाकांक्षाले लामो समय टिक्न त पाएन तर दरबार हत्याकाण्डपछि राजा बनेपछि उनले तत्कालीन राजा बीरेन्द्र र ऐश्वर्यको हत्या भएको स्थल नारायणहिटी दरबारको बहुचर्चित त्रिभुवन सदनलाई भत्काएर माटोमै मिलाइदिएका थिए ।

यो कार्यले नेपालको इतिहासको एउटा दुर्लभ तर त्रासदिपूर्ण घटनाको इतिहास नै नष्ट भएको थियो । यो बर्ष आफ्नो ७७ औं जन्मोत्सव मनाइसकेका पूर्बराजाले अहिले आएर भने स्वर्गीय राजा रानी बीरेन्द्र र ऐश्वर्यको तस्वीर प्रयोग गरेर भिडियो सन्देश जारी गर्नुमा नेपाली जनतामा तत्कालनी राजा रानीप्रतिको अगाध प्रेम र स्नेहलाई अहिले आएर पूर्वराजा ज्ञानेन्द्रले बुझ्न खोजेको सन्देश दिएको छ । तर यो बुझाइ आफ्नो पपुलारिटीका लागि मात्र भएको राजावादीहरुकै दावी छ ।

उनी गद्दीआरोहण गर्दा अर्थात आजभन्दा २० बर्षअघि आयोजित गद्दी आरोहण सभामा राजा बीरेन्द्र र रानी ऐश्वर्यको तस्वीर यसरी व्याकग्राउण्डमा राखिएन । त्यो स्वभाविक पनि थिएन । ‘द किङ इज डेड लङ लिभ द किङ’भन्ने राजतन्त्रको परम्परा नै हो जहांजहां राजतन्त्र छ त्यहां त्यहां । त्यसपछि उनले दिएका शाही सन्देशहरुमा कहीं कतैं पनि स्वर्गीय राजा रानीका तस्वीरहरु देखिएका थिएनन् ।

शासनसत्ता लिंदा पहिलोपल्ट २०५९ सालको घोषणा होस् वा देउवालाई अपदस्थ गर्दाको घोषणा होस् सबै सन्देशहरु भिडियोमै थिए तर त्यहां बीरेन्द्र र ऐश्वर्यका तस्वीरको उपस्थिति देखिएको थिएन । २०६५ सालमा गद्दी छाडेर हिड्दा भने उनले लाइभ पत्रकार सम्मेलन नै गरेका थिए । त्यो दुखको बेला झन् दाइ भाउजुको तस्वीर प्रयोग गर्ने कुरा पनि थिएन शायद ।

त्यसयता पनि उनले केही भिडियो सन्देशहरु जारी गरेका छन् । जस्तो गत बर्षको दशैंको शुभकामना सन्देश (हेर्नुहोस् फोटो) । त्यसको व्यकग्राउण्डमा पर्दा मात्र थियो । गतबर्ष नै पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति नै कोरोनाले विरामी परे । निको भइसकेपछि पूर्वरानी कोमललाई समेत छेऊमा राखेर एउटा भिडियो सन्देश जारी गरी स्वास्थ्यलाभको कामना गर्नेहरु सबैलाई धन्यवाद दिएका थिए । (हेर्नुहोस् फोटो) ।

तर यसपल्ट भने कहिल्यै नगरेको स्वर्गीय राजाबीरेन्द्र र स्व.रानी ऐश्वर्यको तस्बीर आफ्नो शिरको दायां बायां पर्ने गरी भिडियोमा प्रष्ट आउने गरी शुभकामना सन्देश रेकर्ड गराए पूर्वराजा ज्ञानेन्द्रले । र, त्यही भिडियो हिजो जारी गरियो ।

असमयमै, रहस्यमय ढंगले आफ्नै दरबारभित्र मारिएका राजा रानीबारे नेपाली जनताका बीचमा ठूलो स्नेह अहिले पनि कायम छ । राजा बीरेन्द्र आफ्नो लामो प्रत्यक्ष शासनकालमा पनि त्यति धेरै विवादित बनेर जनताको मनमा विझाएका राजा थिएनन् । त्यसैले उनीप्रतिको श्रद्धा अहिलेको पुस्ताका नेपालीको पनि छ । उनको हत्याको शोकमा केस मुण्डन गरेर आक्रोश र श्रद्धान्जली व्यक्त गर्ने युवायुवतीको त त्यसबेला लहरै चलेको पनि थियो ।

शायद अहिले यो उमेर र मुलुकको जटिल परिस्थितिमा आइपुगेको बेलामा पनि आफ्नो लोकप्रियता खासै बढ्न नसकेका पूर्वराजाले आफ्ना स्वर्गीय दाजुको लोकप्रियताको फाइदा लिनका लागि यस्तो भिडियो बनाएका हुन् भन्ने दावीमा दम भने अवश्य छ । बांकी दिनहरुमा पूर्वराजा ज्ञानेन्द्रले कस्तो श्रद्धा स्वर्गीय राजा बीरेन्द्रप्रति देखाउने हुन् त्यो अझै हेर्न बांकी नै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *