दसैंमा सर्वाधिक बज्ने गीतहरू

डिसी नेपाल
१५ असोज २०७९ १६:५७

काठमाडौं । घटस्थापनाको दिनदेखि नै हिन्दूको महान चाड दसैँँ प्रारम्भ भइसकेको छ । रेडियो नेपालबाट गुञ्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो नाटकले चाडलाई महसुस गराउँछ ।

दसैँँलाई लक्षित गर्दै धेरै गीत तयार भएका छन् । हरेक वर्ष नयाँ गीतहरू सार्वजनिक हुने भए पनि केही ‘सदाबहार’ छन् । परदेशमा रहेका र मुग्लान भासिएकाको भावनाको प्रतिनिधित्व गर्ने गीतसँगै पुराना गीतको दबदबा कायमै छ । कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौँदेखि बजिरहेका छन् । रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दसैँँको रौनक भित्र्याउँछ ।

सर्वाधिक बज्ने गीत हो ‘दसैँँ आयो’ । फिल्म ‘मुग्लान’मा समावेश गीतले घर आँगनमै दसैँँ भित्रिएको अनुभूत गराउँछ । लोकनाथ सापकोटाको तयार पारेको शब्दमा स्वर उदितनारायण झा तथा दीपा झाले दिएका छन् । गीतमा सुरेश अधिकारीले सङ्गीत दिएका छन् । रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूतिसँगै घरपरिवारको खुसियाली समेटिएको गीतको भिडियो दर्शकमाझ प्रिय नै छ ।

स्वरसम्राट नारायणगोपालको स्वर दिएको ‘बिछोडको पीडा’ पनि दसैँँमा बज्ने गीतमध्येको एक हो । नारायण गोपालसँगै दिलमाया खातीले स्वर दिएको गीतले दसैँँमा गाउँ फर्किरहेका युवाको प्रतिनिधित्व गरेको छ । ‘बिछोडको पीडा नसकी खप्न दसैँँका बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ । गीतलाई रत्नशमशेर थापाले लेखेका हुन् ।

दसैँँ, तिहारको उत्साह, उमङ्ग र दुःखलाई प्रतिनिधित्व गर्ने गीतमध्येको एक हो सुगम पोखरेलले तयार गरेको ‘दसैँँ तिहार’ । रवि श्रेष्ठले शब्द लेखेको गीतमा सङ्गीत स्वयं सुगमले नै दिएका छन् ।

परदेशीले घरपरिवारप्रति पोखेको बेदनासहितको गीतमा दसैँँमा छोराको बाटो कुरिरहेका आमाबाबु मात्र होइन, तिहारमा माइतीको पर्खाइमा रहेका चेलीको भावनासमेत समेटिएको छ । महान चाडको अर्को पाटोलाई कमेडी शैलीमा चित्रण गरिएको गीत हो यो ‘दसैँँ नै हो कि’ । योगेश्वर अमात्यले स्वर दिएको गीतमा उत्साह उमङ्गसँगै आर्थिक व्ययभार थपिने यथार्थलाई समेटिएको छ ।

दसैँँमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ उत्तिकै लोकप्रिय छ । दसैँँको उत्साहलाई चित्रण गरिएको गीतलाई सहदेव ढुङ्गानाले रचना गरेका हुन् । यसमा शम्भूजित बाँस्कोटाले संगीत र उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएका छन् । वरिष्ठ सङ्गीतकार शम्भूजित बाँस्कोटा पहिले दसैँँ, तिहार, होली पर्वसँग फिल्ममा आउँदा त्यहीअनुसारको गीत तयार गरिने प्रचलन रहेको बताउँछन् । उनको गीत ‘रातो टीका निधारमा’ अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छ । “मैले सिर्जना गरेको गीतले तात्कालीन समयमा राम्रो प्रभाव छाडेको रहेछ । दसैँँलाई महशुस गराउने भएकाले नै पुस्तान्तरण भइरहेको छ । हिजोदेखि आजसम्म गीतलाई दसैँँमा उत्तिकै सेलिब्रेट गरिन्छ”, सङ्गीतकार बाँस्कोटाले भने ।

सङ्गीतकारसँगै गायकसमेत रहेका अर्जुन पोखरेलले आफूलाई स्रोताको हिसाबले पुरानै दसैँँ गीत प्रिय लाग्ने बताए । उनी भन्छन्, “नयाँ गीतहरू तयार गर्न निर्माता तथा निर्देशक तयार हुनुभएन । दसैँँ, तिहारमा रहेर बनेका गीत त्यससमयमा मात्र बज्छ भन्ने सोचले गर्दा नै नयाँ गीत आएको छैन ।” फिल्म झैँ चर्चा र लगानी एक्लरुपमा आउने गीतले नपाउने हुँदा नोटिस नभएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *