दुर्गा मूर्ति बनाउनेदेखि पण्डाल सजावटमा व्यस्त मूर्तिकारहरु

डिसी नेपाल
१६ असोज २०७९ २१:०४
12
Shares

लुम्बिनी । दसैँमा दुर्गा पूजाको रौनक जताततै छ । विभिन्न स्थानमा ठूलाठूला पण्डाल सजाइएका छन् । घटस्थापनाको दिनदेखि यहाँ नौ रातसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गरिँदैछ । पण्डालमा भगवती दुर्गाले महिषासुरको बध गर्दै गरेका ठूला मूर्तिसहित विभिन्न देवी देवताका स्वरूपहरु राखिएका छन् ।

केही वर्ष पहिलासम्म सहरबजारमा मात्र देखिने दूर्गामूर्तिका पण्डालहरू अहिले गाउँ÷देहातसम्म छ्यापछ्याप्ती सजाइएका छन् । दसैँको बेला माटो आदिबाट बनाइएका दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन जताततै बढेको छ । मूर्ति बनाउने र पण्डालमा लगेर सजाउनेसम्मको काम मूर्तिकार आफैँले गर्छन् ।

घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा उनको आँखाबाट पट्टी खोल्ने काम हुन्छ । महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ । त्यसपछि दशमीको दिन दुर्गा भवानीको मूर्तिलाई नजिकैको नदीमा लगेर विसर्जन गरिन्छ ।

हिन्दू धर्मावलम्बीले आफ्नो परिवारसँग बसेर भव्यरूपमा मनाइने दसैँका बेला मूर्तिकारहरु पण्डालहरुको शोभा बढाउनेतर्फ जुटेका छन् । अर्डरअनुसारको मूर्ति बनाएर त्यसमा रङ भरेर पण्डालमा लगेर ‘फिटिङ’ गरिदिनेसम्मको काम उनीहरुले गर्छन् । धेरैजसोले ती सबै काम आफ्नै ठाउँमा गरी बिक्री गर्छन्।

मूर्तिहरु खासगरेर जेठ महिना वा त्यस अगावैबाट दुर्गापूजाका लागि बुकिङ सुरू हुन्छ । असार साउनदेखि मूर्ति बनाउनका लागि बिस्तारै कच्चापदार्थ जस्तै माटो, बाँस, पराल, गहना, कपडा, अस्त्रशस्त्र लगायतका सजावटी सामानको किनमेल शुरू हुन्छ । त्यपछि मूर्तिलाई आकार दिने, रङरोगन र सजाउने काम हुन्छ ।

कोटहीमाई गाउँपालिका–३ मर्यादपुर, रुपन्देही बस्ने मूर्तिकार रामकेवल भर भन्छन्, “मलाई यस वर्ष दश थान दूर्गामूर्तिका लागि कन्फर्म अर्डर मिलेको थियो । उहाँहरू ठूला मूर्ति किन्ने, पण्डाल सजाउने र पूजा गर्ने सोख राख्नुहुन्छ । त्यही भएर पहिलै अर्डर गर्नुहुन्छ । बाँकी मूर्तिहरू दसैँका बेला नै बुकिङ र बिक्री हुने गर्दछन् ।”

विगत २५ वर्षदेखि मर्चवारको मर्यादपुरमा माटाका मूर्ति बनाउनु हुने रामकेवल भरले दसैँमा दुर्गा भगवती र तिहारमा लक्ष्मीका मूर्ति बनाउँदै आइरहेका छन् । पहिला केही स्थानमा मात्रै सीमित पूजा अहिले धेरै स्थानमा फैलिएको उनको भनाइ छ । दुर्गामूर्ति मात्रै बिक्री गरेर कम्तीमा रु डेढ लाख कमाउने गरेको उनी बताउँछन् ।

“दसैँका बेला नवरात्रभर दुर्गा भगवतीको नौ रूपमा पूजा हुन्छ । पण्डालमा भने दुर्गाको महिषासुर मर्दिनी स्वरूपको पूजा हुन्छ । हातमा त्रिशूल, शङ्ख, चक्र र गदा समाउँदै गरेकी देवी दुर्गाको चरणमा महिषासुर रहेको हुन्छ । देवीको वाहन सिंहका साथै सरस्वती, लक्ष्मी, गणेश र कार्तिकेयको मूर्ति पनि पण्डालमा लगाइएका हुन्छन्”, उनले भने ।

भारत कोलकातामा चार वर्ष लगाएर मूर्ति बनाउने काम सिकेका रामकेवलले मूर्ति बिक्री गरेर सातजनाको परिवार राम्रैसँग पालेको बताउँछन् । उनको २२ वर्षीय छोरा राजेश्वर राजभरले पनि काम सिकेका छन् भने उनीसँग अन्य छ जना कालिगडले मूर्ति बनाउने काम गर्छन् । उनले भने, “दसैँपछि अब तिहारमा लक्षमीपूजाका लागि मूर्ति बनाउनेछु ।”

रामकेवलले छोरा राजेश्वरलाई मात्र होइन अन्य धेरै कालिगड तयार पारेका छन् । नजिकै कोटहीमाइ–४ तुनिहवामा नवदुर्गा एवं लक्ष्मी मूर्ति कला केन्द्रका सञ्चालक धर्मेन्द्र, राम मोहन, दशरथ, गौतम, बगाहे र अनिल हरजिन पनि उनकै चेला हुन् ।

बीस वर्षसम्म मूर्ति बनाउने काम रामकेवलबाटै मर्यादपुरमा सिक्नुभएका धर्मेन्द्र हरिजन विगत तीन वर्षदेखि नवदुर्गा एवं लक्ष्मी मूर्ति कला केन्द्रका मालिक भएका छन् । यस वर्ष १० हजारदेखि २० हजारसम्म प्रतिसेट मूर्ति बिक्री भएको उनले बताए । उनले भने, “दुर्गापूजामा यो वर्ष २० सेट मूर्ति मात्र बिक्री भयो ।”

पूजाका लागि आवश्यक मूर्तिहरुको मूल्य भने फरकफरक हुन्छ । डिजाइन, तौल र आकार हेरेर १० देखि ५० हजार वा सो भन्दा बढीका मूर्तिहरु बन्ने गरेका छन् । रामकेवल र धर्मेन्द्रका लागि यो मौसमी काम हो । यो पैसाले मात्रै घर खर्च चल्दैन । उनीहरु बाँकी समय सिमेन्टको हात्ती, घोडा, बाघलगायतका मूर्तिहरू बनाउने गरेको बताउँछन्।

राम केवल भन्छन्, “हामीले बिना अर्डरको पनि मूर्ति बनाउने गर्दछौँ किनभने हामीलाई हाम्रो कालिगडलाई पैसा दिनुपर्छ जो हामीसँग वर्षौंदेखि कामगर्दै आइरहनुभएको छ, उहाँहरू हामीमाथिनै पूर्णरूपले निर्भर हुनुहुन्छ ।”

“हातमा हुनर (सिप) छ, त्यसैले मूर्ति बनाउछौँ । मूर्ति बनाउनु हाम्रो मुख्य पेशा भएकाले सजिलै हामी यसबाट टाढा जान सक्दैनौँ”, उनले भने । दसैँको काम सकियो, उनीहरु अब तिहारका लागि लक्ष्मीमाताको मूर्ति बनाउने तयारीमा जुट्ने तरखरमा छन् । त्यसपछि फेरि अन्य मूर्ति बनाउने काममा लाग्ने उनीहरुको भनाइ छ ।

रामकेवल र धर्मेन्द्रलगायत धेरै बेरोजगारहरुका लागि एउटा अवसर बनेको छ, यो मूर्ति बनाउने कला । यसलाई संरक्षण र प्रवद्र्धन गर्नसके राम्रो आम्दानीको स्रोेत हुनसक्ने भन्दै लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुदमन्त्री बसीउद्दीन खाँले दक्षताका लागि तालिमको व्यवस्था हुनुपर्ने बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *