नेटुवा समुदायलाई छैन दशैँको रौनक

डिसी नेपाल
१७ असोज २०७९ ८:०६

कपिलवस्तु। वरिपरि पक्की घर, लटरम्म धान झुलेका फाँट, भित्री सडक भए पनि पक्की बाटो तर यही परिवेशमा रहेका छन् नेटुवा समुदायका एक दर्जन बढी फुसका घर।

यी नेटुवा जाति दशकौँदेखि सरकारी जग्गामा फुसका घर बनाएर बसेका छन्। कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा सो समुदायको बसोबास छ । नेपाली हिन्दूहरुको महान् पर्व वडादशैँको चहलपहल चारैतिर बढिरहँदा सो समुदायमा भने दशैँको उल्लास छैन।

मधेसी समुदायको दलित जातिको रुपमा परिचित नेटुवाले विजयादशमी पर्व सुनेका छन् तर, अझै मनाएका भने छैनन्। सो समुदायमा वडादशैँको टीका नलगाए पनि नवदुर्गाभर हर्षौल्लास छाउने गरेको छ। सो समुदायमा भने चाडपर्वले रौनकले छुन सकेको छैन।

उमेरले चालिस काटेका महेन्द्र नटुवाले बडादशैँ आफूहरुका लागि कुनै रौनकको पर्व नभएको बताउँछन्। सधैँ एक छाक कसरी खाने भन्ने पिरमा रहेका उनी भन्छन्, “एक छाक कसरी खाने चिन्ता यसैमा छ, के को दशैँ आउनु।” दशैँ कसरी मनाउने भन्ने गुनासोभन्दा बढी गुनासो राज्यसामु उनको छ।  “हामीहरु राज्यबाटै सबैभन्दा बढी अपहेलित भएका छौँ।” सरकारसँग अल्पसङ्ख्यक जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो” उनी भन्छन्, “राज्यले अझै सुनेको छैन।”

यही माग लिएर तीन पटक सिंहदरबार धाएको उनले सुनाए। हातमा नागरिकताको प्रमाणपत्र बोकेर गृहमन्त्रालयको दैलो ढकढकाउन अधिकारको लागि पुगेका उनी बताउँछन्। पैतालीस वर्षीय दिलीप नेटुवाले राज्यले आफूहरुलाई अल्पसङ्ख्यक जातिको सूचिमा राखेर केही सहयोग गरे धेरै चाड खुसीमा बित्ने सुनाए। ‘न गाँस, न बाँस, न जग्गा जमिन’ उनले भने, “हामी सबैभन्दा पीडित छौँ, राज्यले हाम्रो माग कहिल्यै सुनेन।”

निरास मुद्रामा उनी भन्छन्, “गरिब भएर जिउनुको पीडा राज्यको अहोदामा बस्नेलाई के थाहा।” थर नेटुवा भएको नागरिकता बनाए पनि आफूहरु पथ्थरकट्टाभन्दा तल्लो जाति भएको उनको दाबी गर्छन्। “हामीभन्दा पथ्थरकट्टा उपल्लो जाति हो। हामीले छोएको पानी पनि खाँदैनन् पथ्थरकट्टा। पथ्थरकट्टालाई राज्यले अल्पसङ्ख्यकको सूचीमा राखेर सरकारी सेवा सुविधा दिएको छ तर हामीलाई दिएन।” उनी भन्छन्, “सरकारी सुविधा माग्न जाँदा किन दिँदैनन् उहाँले प्रश्न गर्नुभयो।” राज्यले भत्ता दिए दशैँ पर्व राम्रो संग मनाउन पाउने उनले बताए।

दसैँमा वरिपरिका अरु समुदायले राम्रो लाउने, मिठो खाने गरिरहँदा यहाँका सो समुदायका मानिस भने दिनभरि भिक्षा मागेर पेट पाल्ने अवस्था छ। पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन् भने महिला तथा बालबालिकाले भिक्षा मागेर ज्यान पाल्दै आएका छन्। जिल्लामा झण्डै तीन सयको हारहारीमा नेटुवा जातिको बसोबास रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *