संयुक्त राष्ट्रसंघमा चीनविरुद्ध ल्याइएको प्रस्तावको विपक्षमा नेपालको मतदान, प्रस्ताव फेल

डिसी नेपाल
२१ असोज २०७९ १०:३६
3.5k
Shares

काठमाडौं । जेनेभामा रहेको संयुक्त राष्ट्र मानव अधिकार परिषदमा उइगर मुस्लिमको हैसियतलाई लिएर चीनविरुद्ध ल्याइएको प्रस्तावको नेपालले विरोधमा मतदान गरेको छ । भारत भने मतदानमै अनुपस्थित रह्यो।

यो मस्यौदा प्रस्ताव बिहीबार क्यानडा, अमेरिका र बेलायतलगायत धेरै देशहरूले चीनको सिनजियाङ क्षेत्रमा मानवअधिकार उल्लङ्घनबारे बहसका लागि प्रस्तुत गरेका थिए। नेपालले यो प्रस्तावको विपक्षमा मतदान गरेको छ । यससँगै यो प्रस्ताव पनि विफल भएको छ ।

संयुक्त राष्ट्र जेनेभाको ट्वीटमा भनिएको छ, “मानव अधिकार परिषद्ले चीनको सिनजियाङ उइगर स्वायत्त क्षेत्रको मानवअधिकार अवस्थाबारे छलफल गर्ने प्रस्तावको मस्यौदा अस्वीकार गरेको छ।”

चीनविरुद्धको प्रस्तावमा ४७ सदस्य राष्ट्रमध्ये १७ राष्ट्रले पक्षमा र चीन, नेपालसहित १९ सदस्य राष्ट्रले विपक्षमा मतदान गरेका थिए । भारत, युक्रेन र मलेसियासहित ११ सदस्य राष्ट्रले मतदानमा भाग लिएका थिएनन् ।

यस प्रस्तावको पक्षमा मतदान गर्नेहरूलाई अमेरिका, फ्रान्स, जर्मनी, जापान र नेदरल्याण्डले समर्थन गरेका छन्। अमेरिका लगायत पश्चिमा देशहरुले उइगर मुस्लिमहरुको मामिलामा चीनले मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

चीनले उइगर मुस्लिमहरूलाई हिरासत शिविरमा राखेको र अमानवीय व्यवहार गरेको आरोप लगाइएको छ। तर, चीनले यी सबै आरोप अस्वीकार गर्दै आएको छ ।

यसबाहेक यूएनएचआरसीमा श्रीलंकाविरुद्ध ल्याइएको प्रस्तावमाथिको मतदानमा पनि भारतले भाग लिएन। श्रीलंकामा मेलमिलाप, जवाफदेहिता र मानवअधिकार प्रवर्द्धन गर्न युएनएचआरसीमा मतदान गर्ने प्रस्ताव पेश गरिएको थियो।

मानवअधिकार परिषद्का ४७ सदस्यमध्ये २० सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए । त्यसैगरी पाकिस्तान र चीनको विपक्षमा जम्मा ७ मत परेको थियो । तर, मतदानबाट टाढा रहँदै भारतले श्रीलंकालाई तमिलहरूका लागि गरेको प्रतिबद्धता पूरा गर्न अपील गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *